‘एक वर्षभित्र पर्वत अस्पताललाई उपचार गर्न लायक अस्पतालको रुपमा बिकास गर्छौ’

गोबिन्द पहाडी
अध्यक्ष पर्वत अस्पताल ब्यबस्थापन समिति


साढे दुई दशक अघि पर्वत जिल्ला अस्पतालको रुपमा स्थापना भएको पर्वत अस्पताल अहिले पनि १५ बेडकै क्षमतामा सञ्चालित भएपनि २५ बेड सम्म राखेर उपचार भैरहेको छ । ५० बेडको रुपमा स्तरउन्नती गर्ने निर्णय भएपछि भवन बनाउने काम भैरहेको छ भने दरबन्दी स्विकृत नहुँदा समस्या छ । सामाजिक, राजनैतिक क्षेत्रमा क्रियाशिल भैरहेको बेला पर्वत अस्पतालमा बिरामीको आकर्षण नहुने र निजी क्लिनीनकमा धाउने अबस्था अन्त्य गर्नका लागि अस्पताल ब्यबस्थापन समितिको अध्यक्ष भएपछि गोबिन्द पहाडी निरन्तर लाग्नु भएको छ । बिशेषज्ञको सेवा शुरु गर्ने, ल्याब, उपकरण देखि धेरै बिषयमा सुधार पनि भएका छन । पर्वत अस्पतालमा भैरहेका सुधार र भावी योजनाका बारेमा नेपाल समाचारपत्र दैनिकका पर्वत संबाददाता दुर्गाप्रसाद शर्माले पर्वत अस्पताल बिकास समितिका अध्यक्ष गोबिन्द पहाडी संग गर्नुभएको कुराकानीको सार संक्षेप ।

पर्वत जिल्ला अस्पताल व्यवस्थापन समितिमा तपाई अध्यक्ष भएपछि गरिएका सुधारका प्रयास के के छन ?
हामीले पर्वत जिल्ला अस्पतालमा विगतमा प्रवाह हुदै आएका सेवामा व्यापक सुधार गर्दै गत वर्ष मात्रै धेरै सेवाहरु थप गरेका छौं । गत वर्ष हामीले प्रयोगशाला सेवालाई सुविधा सम्पन्न बनाएका छौं । एक्सरेलाई डिजिटल बनायौं, भिडियो एक्सरेलाई अत्याधुनिक बनायौं । विशेषज्ञ डाक्टरबाट सेवा दिन नसकिरहेको अस्पतालमा यसै वर्ष हामीले एमडिजिपी डाक्टरबाट सेवा दिन शुरु गर्न सक्यौं भने मानसिक रोग, दाँत सेवा तथा छालारोग र हाडजोर्नी समस्याका लागि विशेषज्ञ डाक्टरबाट सेवा प्रदान गर्न थालेका छौं । एमविविएस डाक्टरबाट मात्र सेवा दिईरहेको अस्पतालमा हामीसंग यतिवेला ४ जना विशेषज्ञ डाक्टर समेत हुनुहुन्छ । नवजात शिशुको विशेष उपचारका लागि विशेष उपचार कक्ष स्थापना गरेका छौं । अस्पतालका आम्दानी र खर्चको पारदर्शी र प्रभावकारी व्यवस्थापनका लागि सफटवयर प्रणाली जडान गरेका छौं । न्यून पारिश्रमिकका कार्यरत श्रेणिविहिन कर्मचारीहरुको तलव वृद्धि गरेर श्रम ऐन अनुसारको व्यवस्था गरेका छौं । अस्पताल भित्रै आँखा उपचार तथा चश्मा उपलब्ध हुने व्यवस्था मिलाएकाछौं । घरेलु हिंसामा परेका महिला तथा बालबालिकाहरुको कानूनी, उपचार लगायत सेवाका लागि एकिकृत संकट व्यवस्थापन केन्द्र स्थापना गरेका छौं । कुपोषित बालबालिकाहरुका लागि निःशुल्क पोषण कार्यक्रम सञ्चालन गरेका छौं । अस्पतालका सवै गतिविधिको अनुगमनका लागि सिसिटिभि जडान गरेका छौं । यी सवै काम पर्वत अस्पतालका लागि ऐतिहासिक कदम हुन भन्ने हामीलाई लाग्छ ।

अस्पतालको भौतिक सुधारको काम, बिशेषज्ञ डाक्टरको काम पनि भए तर सेवाप्रवाहमा अझै सुधार आउन नसकेको गुनासो आउने गरेको छ नी?
हामीले पर्वत जिल्ला अस्पतालको स्थापना भएको ३० वर्षपछि विशेषज्ञ सेवा दिने प्रवन्ध मिलाएको छौं , यो उल्लेखनिय पक्ष हो । भौतिक पूर्वाधारका दृष्टिले अव हामी सुविधासम्पन्न बन्दैछौं । ५० शैयाको अत्याधुनिक अस्पताल भवन निर्माणाधिन अवस्थामा रहेको छ । अवको एक वर्षभित्र हामीले अत्याधुनिक अस्पताल भवनबाट सेवा दिन सक्षम हुनेछौं , जहाँसम्म सेवा प्रवाहमा सुधारको सन्दर्भ छ , यसमा केही समस्याहरु छन्। पहिलो समस्या दरवन्दी अभाव हो । हामी आज २०७६ सालमा छौं तर हामीले वि.सं. २०४६ सालको १५ शैयाको अस्पतालको दरवन्दीबाट अस्पताल सञ्चालन गरिरहेका छौं । आज हामीले अस्पताल व्यवस्थापन समिति तथा केही कार्यक्रममा करारमा कर्मचारी नियुक्त गरेर सेवा सुचारु गरिरहेका छौं, त्यसकारण पर्याप्त जनशक्ति अभावका कारण हामीले समस्या झेलिरहेका छौं । २४ घण्टा सेवा दिनुपर्ने प्रयोगशाला तथा एक्सरे जस्ता अति आवश्यक सेवा सञ्चालनका लागि समेत दरवन्दी अभावले समस्या भैरहको छ ।
अस्पतालको गेटबाट बिरामी बोकेर निजी क्लिनीक र पोखरा जाने अबस्थाको अन्त्य कहिले होला? यसलाई रोक्ने थप योजना के के छन?
हामीले दरवन्दी अभावको समस्या समाधान गर्न प्रदेश सरकार र संघिय सरकारसंग माग गरिरहेका छौं । ५० शैयाको अस्पतालको मान्यता पाएर पनि दरवन्दी नपाएको अवस्थाले गर्दा केहि समस्या भएका हुन् । ५० शैयाको दरवन्दी स्विकृत हुंदा विशेषज्ञ डाक्टरको पनि व्यवस्था हुन्छ भने आवश्यकता अनुसार सवै कर्मचारी प्रवन्ध हुनेछ । अहिले पनि हामीले गत १ वर्षमा थुप्रै सेवा सुविधा र व्यवस्थापनमा सुधार गरेपछि बिरामीहरुको विश्वास बढ्दै गएको महसुस गरिरहेका छौं । हामीलाई प्रदेश सरकारले जानकारी गराए अनुसार अवको एक वर्षभित्र हामीले पर्वत अस्पताललाई एउटा उपचार लायक अस्पतालको रुपमा सवै सेवा दिन सक्ने अस्पतालको रुपमा पुराउन सक्नेछौं , त्यसपछि अन्य जिल्ला जानुपर्ने अवस्थाका अन्त्य हुनेछ ।
अस्पतालमा बिशेषज्ञ डाक्टर नहुनु, भएकाहरुले पनि सेवा सुबिधा बढी माग गरेर काम नगरेका कारण समस्या भएको हो ?
यो पनि एउटा अवस्था छ । सानो जिल्ला, थोरै जनसंख्या भएका कारण अन्य आम्दानीका श्रोत कम हुने भएपछि विशेषज्ञ डाक्टरलाई जिल्लामा टिकाई राख्ने कुरा निकै कठिन हुने रहेछ । तपाई मार्फत सवैलाई जानकारी गराउन चाहन्छौं की कर्मचारी समायोजनको क्रममा गण्डकी प्रदेशमा नवौं तहको विशेषज्ञ डाक्टर एक जना पनि आएनन वा आउन चाहेनन आज गण्डकी प्रदेश भरिका सवै जिल्ला तहका अस्पतालमा नर्वौ तहको डाक्टर रिक्त रहेको अवस्था छ । हाम्रो अस्पतालमा पनि रिक्त छ, हामीले समितिको पहल कदमीमा करार सेवामा विशेषज्ञ डाक्टर प्रवन्ध गरेर सेवा थप गरेका छौं ।
स्वास्थ्य बिमा लागु हुँदैछ, स्वास्थ्य बिमा लागु गर्नका लागि अस्पतालको सेवा र सुबिधा प्रति जनतामा बिश्वास जाग्नुपर्ने होला नी ? अस्पताल प्रतिको जनताको बिश्वास जगाउन के गर्नुपर्छ जस्तो लाग्छ?
यो असाध्यै महत्वपूर्ण सवाल हो । स्वास्थ्य बीमा कार्यक्रम लागु भएपछि स्थानीय अस्पताल हुनुका कारण हामीले चुस्त सेवा दिनुपर्ने बाध्यता छ । हा सो अनुसार तयारी अवस्थामा रहनुपर्ने हुन्छ । २४ घण्टा नै सेवाकाको व्यवस्थापन गर्नुपर्ने हुन्छ । सो का लागि हामीले फार्मेसी सेवा, प्रयोगशाला सेवा र एक्सरे सेवालाई २४ घण्टा बनाउने गरि कार्ययोजना बनाएका छौं । बिमा गरेको व्यक्ति उपचार सेवा लिन आउंदा अपेक्षा गरे अनुसार सेवा पाउन नसकेकोमा अर्को वर्ष बीमा नविकरण नहुने समस्या आउंछ भन्ने कुरामा हामी सचेत छौं । सरकारले नागरिकलाई दिन खोजेको सर्वसुलभ स्वास्थ्य सेवा अस्पतालका कारण समस्यामा पर्नु हुंदैन् । यसका लागि हामीले प्रदेश सरकारलाई सो अनुसार व्यवस्थापन र अन्य प्रवन्धका लागि सहयोग गर्न अनुरोध गरिरहेका छौं र हाम्रो ठाउंबाट हामी लागिरहेका छौं ।
पर्वत अस्पतालमा भबिश्यमा के के सुधारका योजनाहरु बनाउनु भएको छ ?
हामीले निकट भविष्यमा नै मृगौलाको निःशुल्क डायलासिस सेवा शुरु गर्न गईरहेका छौं । यो पर्वत अस्पतालको महत्वाकांक्षी योजना हो । यो अन्तिम चरणमा पुगेको छ । हामीले अव अक्सिजनका लागि सिलिण्डर बोकेर हिड्नुपर्ने अवस्थाको अन्त्य गरि अस्पताल परिसरमा नै अक्सिजन प्लाण्ट जडान गर्न लागिरहेका छौं । पोष्टमार्टम गृहलाई सवको लामो समयसम्म व्यवस्थापन गर्नका लागि चिसो च्याम्वर राख्ने व्यवस्था मिलाउंदैछौं । अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि प्रविधियुक्त प्रणाली जडान गर्ने कार्यक्रम रहेको छ । अस्पतालका लागि छुट्टै खानेपानी योजना निर्माण गरेका छौ, अस्पतालका लागि मात्र भिन्दै विद्युत ट्रान्सफर्मर राख्ने गरि योजना बनाएका छौं । विभिन्न विभागहरुमा वातानुकुलित प्रणाली जडान गर्ने गरि कार्यक्रम बनेको छ । यी लगायत अस्पताललाई एउटा उपचार लायक, प्रविधियुक्त र विश्वसनीय बनाउने गरि हामीले थुप्रै कामहरु अगाडी बढाउंदैछौं ।
अस्पतालको सेवा प्रवाह र भौतिक सुधारका लागि संघ, प्रदेश र स्थानिय सरकारको कस्तो सहयोग पाउनु भएको छ ? के गरिदिए हुन्छ भन्ने लाग्छ?
गत वर्ष हामी निकै अलमलमा पर्यौं । अस्पताल संघ, प्रदेश वा स्थानीय कुन सरकारको मातहत रहने हो भन्ने अन्यौल रह्यो । अन्तिममा आएर प्रदेश मातहत नै रहने व्यवस्था भयो । हामी प्रदेश सरकारकै नियुक्तीमा व्यवस्थापन समितिमा आयौं तर अहिले पनि केहि अलमलहरु छन् । केहि डाक्टरहरु संघिय सरकारले खटाउछ, जुन कुरा प्रदेशलाई जानकारी नै हुंदैन् । केही बजेट र कार्यक्रम संघले पठाईरहेका छ भने बांकी सवै प्रदेश सरकारले पठाउने गरेको छ । अव हामी प्रदेश सरकार मातहत भैसकेपछि सवै बजेट कार्यक्रम र व्यवस्थापन प्रदेश सरकार मार्फत नै हुंदा एकद्धार प्रणाली हुने थियो । एउटै तहको मात्र जिम्मेवारीमा परेपछि त्यसका समस्याका वारेमा जानकारी हुने र सो अनुसार सहयोग मिल्ने वातावरण बन्ने थियो भन्ने लाग्छ । दरवन्दी अभावको समस्या समाधान गर्न छिटो भन्दा छिटो संगठनको तालिका लेखाजोखा गरि नयां व्यवस्था गर्नुपर्ने हुन्छ । यो प्रदेश सरकारको दायित्व हो । हामी भौतिक पूर्वाधारले सम्पन्न हुंदैछ , अव हामीलाई डाक्टर क्वाटर आवश्यक छ अन्य पूर्वाधार बन्ने क्रममा छन् ।
प्रदेश सरकारको तर्फबाट स्थायी रुपमा नभए पनि करार तथा स्वयमसेवकको रुपमा भएपनि कर्मचारी व्यवस्थापन गरेर हाम्रो मर्का बुझेको छ । संघिय ढाँचाको प्रारम्भिक चरण भएर पनि केहि समस्या भैरहेको छ । आवश्यक कानून कार्यविधि बन्न बांकी रहनु र संरचना निर्माण गर्नुपर्ने भएका कारण पनि समस्याहरु आएका हुन् । तर हामी कुन कुरामा खुसी छौं भने गण्डकी प्रदेश सरकारले अस्पतालको सेवा सुधारको सवासलाई पहिलो प्राथमिकता राखेर हामीलाई सहयोग गरिरहेको छ । सामाजिक विकास मन्त्रालयले अस्पताल हेर्ने गरि भिन्दै शाखा नै स्थापना गरेर सो अनुसार कर्मचारी व्यवस्थापन गरेको छ । जसका कारण हामीलाई नियमित रुपमा सल्लाह दिने, स्थलगत अवलोकन गर्ने, नियमित अन्तरक्रिया गर्ने काम भैरहेकोछ । यसले गण्डकी प्रदेश भरिका अस्पतालहरुमा व्यापक सुधार आईरहेको छ । हामीलाई जानकारी भएसम्म अरु प्रदेशको तुलनामा अस्पताल सुधारमा गण्डकी प्रदेश संवेदनशिल रहेको छ । स्थानीय तहहरुले पनि हामीलाई सहयोग गरिरहेका छन् । कुश्मा नगरपालीकाले विशेष सहयोग गरिरहेको छ । आफनो वार्षिक बजेट अस्पतालका लागि समेत ध्यान दिने गरेको छ भने अस्पतालको कर्मचारी अभावको कुरालाई महसुस गरेर केहि कर्मचारीहरुलाई कामकाजका लागि खटाएर सहयोग गरिरहेको छ त्यस्तै अन्य नगरपालीका तथा गाउँपालीकाहरुले पनि कर्मचारी कामकाजमा खटाएर सहयोग गरिरहेका छन् ।
गाउँमा रहेका स्वास्थ्य संस्थाहरुले बिरामी रेफर नगर्दा पनि समस्या भएको हो ?
हाल त्यस्तो अवस्था छैन् । गाउंमा रहेका स्वास्थ्य चौकीहरुले समेत जिल्ला अस्पतालमा विरामी पठाउंछन ्। विगतमा त्यस्तो थियो होला तर यो वर्ष अस्पतालका सेवामा सुधार आएपछि गाउंबाट बिरामी स्वयम पनि जिल्ला अस्पतालमा आउने र थप उपचारका लागि बाहिर जानु परेमा मात्र जिल्ला बाहिर जाने परिपाटी शुरु भएको छ । हामीले अस्पतालमा थप भएका सेवाहरु वारे विभिन्न सञ्चार माध्यम मार्फत प्रचार प्रसार गरिरहेका छौं ।
अरु केही भन्नु छ ?
संघियताको नयाँ व्यवस्था संगै हामी गाउं गाउमा सरकार भन्ने अभियानमा छौं , राजनीतिक तथा प्रशासनिक दृष्टिले गाउँ गाउँमा सेवा स्थापना भएका छन् तर स्वास्थ्य क्षेत्र र विशेष गरेर सुविधासम्पन्न अस्पतालको सेवा लिन ठुला शहर जानुपर्ने बाध्यताले संघियताको मोडलमा नै प्रश्न चिन्ह खडा गर्दछ । त्यसकारण प्रशासनिक र राजनीतिक रुपमा तल्लो तहमा सेवा आईरहंदा उपचारका लागि भने माथि माथि जानुपर्ने, ठुला शहरमुखी हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्दछ । हामी यहि अभिप्रायका साथ स्थानीय अस्पतालका सेवाहरु थप गर्ने, विशेषज्ञ सेवा दिने योजनाका साथ लागिरहेका छौ । हामी पर्वत जिल्ला र बाग्लुङको दक्षिण भेकमा जनताको सेवामा निरन्तर लागिरहेका छौं । यस क्षेत्रका आम सर्वसाधारणसंग अपेक्षा यो छ की पर्वत अस्पताल आएर यहाँको सेवा लिनुस र केहि सुझाव भए दिनुहोला । हामी यहाँहरुको सुझावलाई हृदयदेखि नै आत्मसाथ गर्नेछौं । नेपाल समाचारपत्र दैनिकमा प्रकाशित अन्र्तवर्ता साभार गरिएको हो छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’