कालोबजारी नियन्त्रणको प्रयासमा सरकार -दुईभन्दा बढी सिलिन्डर लिनेको रेकर्ड राखिने

काठमाडौं /कोरोना भाइरस प्रकोपको बहानामा व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्दै दैनिक उपभोग्य वस्तुको भाउ बढाउन थालेपछि सरकाले नियन्त्रण प्रयास थालेको जनाएको छ । दैनिक उपभोग्य वस्तुको बजारभाउ नियन्त्रणका लागि आक्रामक रूपमा प्रस्तुत भएको सरकारले अब एउटा परिवारका लागि बढीमा दुईवटा बढी ग्याँस सिलिन्डर घरमा राख्नसमेत नदिने भएको छ । जसका लागि दुईभन्दा बढी सिलिन्डर लिनेहरूको रेकर्ड राख्न थालिएको छ ।

शुक्रबारदेखि हरेक ग्याँस विक्रेता र डिलरमा पुगेर दुईभन्दा बढी सिलिन्डर लिने उपभोक्ताहरूको रेकर्ड राख्न थालिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । कोरोना भाइरस प्रभावकै कारण पछि नपाइने हल्लासँगै अहिले राजधानीलगायत मुलुकभरका विभिन्न सहरमा खाना पकाउने एलपी ग्याँस, दाल, चामल, चिनी, नुनलगायत वस्तुको अभाव छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आवश्यकभन्दा बढी खरिद गरी मौज्दात राख्न थालेपछि कालोबजारी नियन्त्रणका लागि सरकारले यस्तो नयाँ व्यवस्था गरेको बताएका हुन् । अहिले आवश्यकता भन्दा बढी ग्याँस सिलिन्डर लैजाने उपभोक्ताको रेकर्ड राख्न थालिएको जानकारी गराउँदै उनले ग्याँस अभाव नहुने भन्दै लाइन नबस्न आह्वान गरे । ‘अब सरकारले धेरै ग्याँस राख्नेबाट जफत गरेर नपाउनेलाई दिनेछ,’ उनले भने । आवश्यक भन्दा बढी सिलिन्डर राख्दा आगलागी हुने सम्भावना भएकाले अनावश्यक नराख्नसमेत आह्वान गरे ।

अहिले दैनिक ३० हजार ग्याँस सिलिन्डर उद्योगबाट गइरहेको जानकारी गराउँदै उनले शनिबारदेखि दैनिक ४४ हजार ग्याँस सिलिन्डर बजारमा पठाइने बताए । शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले फोन गर्नेबित्तिकै ग्याँस पाउनेगरी हटलाइन टेलिफोनको व्यवस्था गर्ने बताए ।

उनले आपूर्ति मन्त्रालय र नेपाल आयल निगममा छिटै हटलाइन टेलिफोन व्यवस्था गर्ने मन्त्री भट्टले बताए । उनले अब कसैले पनि घरमा थप सिलिन्डर राख्नुनपर्ने दाबी गरे । मुलुकमा अहिले सबै उपभोग्य वस्तुको आपूर्ति सामान्य रहेको बताउँदै उनले अहिले बजारमा देखिएको कृत्रिम अभावको पछि नलाग्न आग्रह गरे ।

अहिले आतंकित भन्दा सर्तकता अपनाउने बेला भएकाले त्यसप्रति ध्यान दिन सबैलाई आग्रह गरे । उनले बजार मागलाई आवश्यक ग्याँस, खाद्यान्न र पेट्रोलियम पदार्थ पर्याप्त मात्रामा रहेकाले ढुक्क हुन सबैलाई आग्रह गरे । उनले अझै मुलुकलाई आगामी ६ महिनासम्म पुग्ने खाद्यान्न मौज्दात रहेको बताए । बजार हल्ला हुँदा उपभोक्ताले आवश्यकभन्दा बढी मौज्दात बढाउने गरेकाले समस्या भएको बताउँदै मन्त्री भट्टले भने, ‘बजार हल्ला हुँदा उपभोक्ताले आवश्यकभन्दा बढी लिन थाले ।’ उनले अहिले मुलुकमा आगामी ६ महिना पुग्ने खाद्यान्न, १० महिना लागि नुन र एक महिनाभन्दा बढीलाई पुग्ने ग्याँस मौज्दात रहेको दाबी गरे ।

हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग २५ हजार ६ सय ६९ मेट्रिकटन चामल मौज्दात रहेको जानकारी गराउँदै उनले मन्त्रालयले पेट्रोलियम पदार्थ, नुन, चिनी चामललगायत खाद्यन्न आपूर्तिमा समस्या नरहेको बताए । मागअनुरूप प्रशस्त भएकाले उपभोक्तालाई नआत्तिन आग्रह गर्दै उनले अहिले कोरोना भाइरसको त्रासपछि चिनियाँ स्याउ र लसुनमा बाहेक कुनैमा बजार मूल्य नबढेको प्रस्ट पारे

मन्त्री भट्टले अनुचित नाफा कमाउने उद्देश्यले उपभोग्य वस्तुको बिक्री वितरण एवं कृतिम अभाव नगर्न पनि व्यवसायीलाई सचेत गराए । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, औषधि व्यवस्था विभागलगायत सम्बद्ध निकायबाट बजार अनुगमनलाई प्रभावकारी बनाउने जानकारी गराउँदै उनले बजारमा विभिन्न वस्तुको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे । यसैगरी, उनले सरकारले कृतिम अभाव सिर्जना गरिएकाले प्रभावकारी बजार अनुगमनको थालनी हुने जानकारी दिए ।

कोरोना भाइरसको त्राससँगै अहिले बजारमा ग्याँसलगायत विभिन्न अत्यावश्यक वस्तुको अभाव देखिएको छ । हाल बजारमा मास्क, स्यानिटाइजरदेखि खाद्यान्नसम्मको अभाव देखिएको छ । विभिन्न प्रकोपमा मौका छोप्ने व्यापारीले यसपटक पनि कोरोनाको नाममा अत्यावश्यक वस्तुको कृत्रिम अभाव बढाएको निष्कर्षसहित मन्त्रालयले बजार भाउ नियन्त्रणका लागि यस्तो कदम थालेको उनको दाबी छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले शनिबारबाट दैनिक ४४ हजार सिलिन्डर ग्याँस बजारमा पठाउने जानकारी दिए । अहिले दैनिक ३० हजार सिलिन्डर बजारमा पठाइरहेको बताउँदै उनले थप मागलाई सम्बोधन गर्न उत्पादन वृद्धि गरी दैनिक ४४ हजार वटा पठाउन लागिएको बताए । उनले ग्याँस उद्योगीसँगको छलफलमा शनिबारबाटै उत्पादन बढाएर बजारमा थप सिलिन्डर पठाउने सहमति भएको जानकारी दिए ।राजधानी दैनिकमा समाचार प्रकाशित भएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’