पर्वतमा साढे दुई अर्ब खर्चेर खनिएका एक हजार किलोमिटर सडक उपयोग बिहीन

पर्वत/ दलहरूले मतदाता रिझाउन जथाभाबी खनेका सडक अहिले बेकामे बनेका छन् । स्थानीयलाई सुविधाको साटो पहिरोको जोखिम बढाएका ती सडकमा राज्यको करोडौं लगानी खेर गएको छ । यसरी खनिएका प्रायः सडकमा गाडी गुड्दैनन् । कुनैको त अहिले नामोनिसानै देखिँदैन ।
कटुवाचौपारीलाई कुस्मा बजारसँग जोड्न ३ वर्षअघि ३२ लाख खर्चेर खनिएको सडक । यो सडकका कारण अहिले बस्ती पहिरोको जोखिममा छन् । तस्बिर : अगन्धर तिवारी/कान्तिपुर
कटुवाचौपारीलाई छोटो दुरीमा कुस्मा जोड्ने भन्दै ३ वर्षअघि हटियादेखि सडक खन्न थालियो । तत्कालीन जिल्ला विकास समितिले ३२ लाख रुपैयाँ विनियोजन गरेको थियो । तर, ५ सय मिटर खनेपछि बजेट सकिएको भन्दै रोकियो । त्यस्तै कुस्मादेखि बलेवा जोड्न ४ वर्षअघि १२ लाखमा करिब २ किमी खनेपछि रोकिएको सडक अहिले झाडीले छोपिएको छ । फलेबास नगरको मुडिकुवादेखि मोदीवेणीसम्मको एक किमि ट्र्याक पनि ६ वर्षदेखि प्रयोगहीन छ । बिहादी–१ को उपल्लो बाच्छा पुग्न राजनीतिक प्रतिस्पर्धाकै कारण ३ सडक खनिए । तर, एउटामा मात्र मुस्किलले सवारी चल्छन् ।
जिल्लामा ग्रामीण सडक खन्ने क्रम ०६४ देखि नै तीव्र छ । ‘तीनतीनवटा सडक चाहिएकै थिएन,’ उपल्लो बाच्छाका बुद्धिमान गुरुङले भने, ‘उति बेला बूढापाकाले भनेको कसैले सुनेन । अहिले एउटा पनि राम्रो छैन । पहिरोले गाउँ नै बग्ने चिन्ता छ ।’
दलका नेताले आफूअनुकूल र नजिकका कार्यकर्तालाई उपभोक्ता समितिमा राखेर सडकमै बजेट खर्चिने क्रम रोकिएको छैन । स्थानीय तहमा आउने विकास बजेटको ६० प्रतिशतभन्दा धेरै सडकमै सकिने गरेको छ । ‘अहिले पनि धेरैले सडकमै बजेट माग्छन्,’ पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले भने, ‘अरु विकासमा चासो छैन ।’
मोदी–२ कँडेनीका बासिन्दाले ५ वर्षअघि पातीचौरदेखि ७ किमि सडक जोड्न ठूलै संघर्ष गरेका थिए । घरघरै गाडी पुर्याउने गाउँबासीको रहर अहिले ‘कहर’ बनेको छ । ‘सडक आएपछि केके होला भन्दै हौसियौं,’ तुलसीराम पौडेलले भने, ‘अहिले न पुरानो बाटो रह्यो, न गाडी आयो ।’ उनीहरूलाई गाउँमा उत्पादित अन्नपात बजार पुर्याउनै समस्या छ ।
एक्स्काभेटर चालकको भरमा खनिएका सडकले पहिरोको जोखिम बढाएका छन् । प्राविधिकका अनुसार जिल्लामा भएका मध्ये एक हजार किमि सडकमा सवारी गुड्दैनन् । अहिलेको स्टिमेटमा एक किमी सडक खन्दा २५ देखि ३० लाख खर्च हुन्छ । यो हिसाबले हजार किमिमा करिब २ अर्ब ५० करोड लगानी खेर गएको छ । ‘पुराना धेरै सडक अस्तव्यस्त खनेका छन्,’ पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारीले भने ।
जिल्लाका ६१ वटै वडामा सडक सञ्जाल पुगेको ५ वर्षभन्दा भयो । तत्कालीन जिविसको तथ्यांकअनुसार २२ सय किमि ट्र्याक खनिएको थियो । त्यसयता कति खनियो, कुनै पालिकासँग तथ्यांक छैन । कच्ची सडकले बर्सेनि समस्या निम्त्याइरहेका छन् । ‘सडकको समस्या भनिसाध्य छैन,’ बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले एक कार्यक्रममा भने, ‘बर्षेनि सडक सुधारमा बजेट छुट्यायो । एक दिनको पानीले सोहोरेर लैजान्छ । अनि जस्ताको त्यस्तै ।’ चालू वर्ष पनि विकास बजेटको आधाभन्दा बढी सडकमै खर्चनुपरेको उनको भनाइ छ ।
चल्तीमा रहेका सडकलाई पनि राजनीतिक पूर्वाग्रहका आधारमा बेवास्ता गरिएको उपभोक्ता बताउँछन् । ‘पहिला एउटा पार्टीको अगुवाइमा सडक बन्यो,’ फलेबासका लोकनाथ लामगादेले भने, ‘अहिले नगरपालिका अर्कै दलले चलाएको छ । चल्तीकै सडकलाई बजेट दिँदैनन् ।’
पार्टीपिच्छेका सडक
स्थानीय निर्वाचनअघि सदरमुकामआसपास सडक खन्ने होड नै चलेको थियो । उति बेला दर्जनभन्दा बढी दलका संयन्त्रले सञ्चालन गर्ने जिविसको बजेटमा सडकलाई प्राथमिकता दिइएको थियो । त्यसका केही उदाहरण कुस्मा नगरपालिका–१ पाङ र मोदी गाउँपालिका–५ मा प्रस्टै देखिन्छ । पाङ जोड्न तत्कालीन एमाले, कांग्रेस, माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले छुट्टाछुट्टै ५ सडक खनेका थिए । अहिले दुइटा मात्र सञ्चालनमा छन् । त्यस्तै पातीचौरदेखि बाजुङ हुँदै क्याङ जोड्न तीन सडक खनिए । ती कुनैमा अहिले पनि सहजै सवारी चल्दैनन् ।
जनप्रतिनिधिले चल्तीमा रहेका भन्दा पनि आफ्नो पार्टीले खनेका सडकको स्तरवृद्धिलाई प्राथमिकता दिने गरेका छन् । प्रदेश र केन्द्रबाट स्तरवृद्धिका लागि छानिएका सडक नेकपाकै अगुवाइमा खनिएका बढी छन् ।कान्तिपुर दैनिकले समाचार छापेको छ ।