प्रधानमन्त्री ओलीकाे स्वास्थ्यमा क्रमिक सुधार, ‘तरल चीज खान थाल्नुभयाे’

काठमाण्डाै /त्रिवि शिक्षण अस्पतालमा बुधबार दोस्रो पटक मृगौला प्रत्यारोपण गराउनुभएका ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको चिकित्सकहरुले बताएका छन् ।
त्रिवि शिक्षण अस्पताल पुग्नुभएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले ओलीको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको बताउनुभएकाे छ । चिकित्सकहरुको भनाइ उद्धृत गर्दै पोखरेलले भन्नुभयो, ‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ । बिहान कालो चिया खुवाइएको छ ।’
उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन रक्षा मन्त्रीसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रधानसेनापति पूर्णचन्द्र थापा लगायतका उच्च पदस्थ व्यक्तित्वहरु शिक्षण अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओलीसँग भेट गर्न भने कसैलाई पनि दिइएको छैन ।
प्रधानमन्त्री ओलीले तरल चीजहरु खान थाल्नुभएको र अन्य सूचकहरु राम्रो रहेको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । अहिले उहाँलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइएको छ । उहाँको पछिल्लो स्वास्थ्य स्थितिबारे अस्पतालले हरेक दिन ४ बजे औपचारिक जानकारी दिनेछ ।
प्रधानमन्त्री ओलीलाई अझै कम्तीमा एक हप्ता अस्पतालमै राखिने भएको छ । उहाँको स्वास्थ्यका सबै सूचक राम्रा रहेको तर केही दिन डाक्टरकै निगरानीमा राख्नुपर्ने मिर्गौला प्रत्यारोपणको नेतृत्व गर्नुभएका प्राध्यापक डाक्टर प्रेम ज्ञवालीले बताउनुभएको छ ।
यस्तै प्रधानमन्त्री ओलीलाई मिर्गाैला दान दिनुभएकी समीक्षा सङ्ग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको प्रत्यारोपणमा संलग्न डाक्टर ज्ञवालीले बताउनुभयो ।
प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना हुनुभएको थियो । १२ वर्षअघि भारतकाे एपाेलाे अस्पतालमा प्रधानमन्त्री ओलीमाे पहिलाे पटक मिर्गाैला प्रत्याराेपण गरिएकाे थियाे ।