कोरोनाको संत्रास -बहराइन हिँडेका ३० नेपाली दुबईबाट फिर्ता ,आजदेखि श्रम स्वीकृति रोकियो

काठमाडौ / नेपाल कोभिड–१९ अर्थात् कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले यूएई पुगेका ३० जना नेपालीलाई फिर्ता पठाएको छ।
वैदेशिक रोजगारीका लागि यूएई हुँदै बहराइन जान लागेका नेपालीलाई नेपाल कोरोनाको उच्च जोखिममा रहेको देश भन्दै स्वदेश फिर्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले अत्यावश्यक कामबाहेक नेपालीलाई विदेश नजान सरकारले आग्रह गरेको छ। विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेको छ। भीडभाडमा लामो समयसम्म नजान, बाहिर निस्कँदा मास्क लगाउन र भोजभतेर लगायतका काम नगर्न सरकारको अनुरोध छ।
यसैबीच सरकारले अत्यावश्यक काम बाहेक विदेश नजान नेपालीलाई आग्रह गरेको छ। कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले अत्यावश्यक काम भएका बाहेकलाई विदेश नजान सरकारले आग्रह गरेको हो। उनले चीन, जापान, दक्षिण कोरिया, इरानलगायत कोरोना प्रभावित देशमा ट्राभल एड्भाइजरी नै जारी गरिएको र अरू देशमा जाने नागरिकलाई पनि सकेसम्म नजान आग्रह गरिएको छ। सरकारले देशभित्र पनि भोजभतेर तथा सभा, सम्मेलन नगर्न पनि अनुरोध गरेको छ।
गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको भाइरसको सङ्क्रमण हाल ६५ भन्दा बढी देशमा फैलिइसकेको छ। चीनबाहेक विश्वका अन्य १० देशका नागरिकको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । इरानमा हालसम्म ५४ जनाको मृत्यु भएको पुष्टि भएको छ।
कोरोना भाइरस प्रभावित देशमा जाने नेपालीलाई मङ्गलबारदेखि श्रम स्वीकृति दिन पनि बन्द गरिने भएको छ। सर्वोच्च अदालतले सोमबार संयुक्त अरब इमिरेट्स (यूएई) कुवेत, जापान, दक्षिण कोरिया, इटली, चीनमा जान रोक लगाउन आदेश दिएसँगै ती देश जाने श्रमिकलाई श्रम स्वीकृति दिन स्वतः रोकिने वैदेशिक रोजगार विभागले जनाएको छ। विभागका महानिर्देशक कुमारप्रसाद दाहालले सर्वोच्चले नेपाली पठाउन रोक लगाएका ती देशमा श्रम स्वीकृतिको काम आजबाटै रोकिने जानकारी दिए। उनल भने, ‘सर्वोच्चले नपठाउने भनेर रोक लगाएका देशको श्रम स्वीकृति आजदेखि नै रोकिन्छ तर कोरोना भाइरसकको सङ्क्रमणको जोखिम अन्य देशमा पनि यसरी नै बढ्दै गएको खण्डमा श्रम स्वीकृति दिने कार्य केही दिनमै बन्द गर्न सकिन्छ।’