मोदी गाउँपालिकाको छैटौ गाउँ सभा सम्पन्न

पर्वत । मोदी गाउँपालिकाको छैटौ गाउँ सभा सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको मोदी गाउँपालिकाको गाउँ सभा सोमबार सम्पन्न भएको हो । गाउँ सभाले महत्वपूर्ण विधेयकहरु पास गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान क्षेत्रीले जानकारी दिए । गाउँ सभाले नगर प्रहरी विधेयक, स्थानीय शुसासन विधेयक र स्थानीय वातावरण तथा प्राकृतिक श्रोत संरक्षण विधेयक बहुमतले पास गरेको क्षेत्रीले जानकारी दिए ।
संविधानले प्रदत्त गरेको अधिकार बमोजीम गाउँपालिकामा आवश्यक पर्ने नगर प्रहरी राख्न मिल्ने ब्यवस्था सहित नगर प्रहरी विधेयक गाउँ सभाले पास गरेको हो । यसैगरी गाउँपालिकाको दैनिक प्रशासनलाई ब्यवस्थित बनाउँदै सेवाग्राही मैत्री प्रशासन संयन्त्र सञ्चालन गर्नका लागि गाउँ सभाले स्थानीय शुसासन विधेयक पास गरेको गाउँपालिकाका प्रवक्ता बिमल लामिछानेले जानकारी दिए ।
लामिछानेका अनुसार गाउँ सभाले स्थानीय वातावरण तथा प्राकृतिक श्रोतहरुको संरक्षणका लागि समेत विधेयक ल्याएको छ । यसले गाउँपालिका भित्रका प्राकृतिक श्रोतहरुको यदोचित ब्यवस्थापनमा थप सहज हुने उनले विश्वास ब्यक्त गरे ।
छैटौ गाउँ सभाले चालु आर्थिक बर्षका लागि संसोधित बजेट समेत पास गरेको छ । केहि निर्माण हुन नसक्ने योजनाहरुको रकमान्तर र केहि योजनामा रकम थपघट गरिएको प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीले जानकारी दिए । गाउँ सभाले आगामी १० बर्षका लागि गाउँ विकासको लागि आवद्यिक योजना समेत निर्माण गर्ने निर्णय गरेको छ । २ दिनसम्म सञ्चालन भएको गाउँ सभामा सभा सञ्चालनको शैलीमा सञ्चालन गरिएको थियो ।