नेकपा जिल्ला कमिटि पर्वतमा ४ सदस्य मनोनित

पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि पर्वतमा ४ जना सदस्य मनोनित भएका छन । नेकपाको प्रदेश कमिटिले जिल्ला कमिटि पर्वतमा ४ जना सदस्यलाई मनोनित गरेको हो । कुल १ सय ३५ जनाको जिल्ला कमिटिमा गण्डकी प्रदेश कमिटिले ४ जनाको नाम अनुमोदन सहित मनोनित गरेको हो ।
मनोनित हुनेमा जलजलाका बाबुराम कार्की, विहादीका सन्तबहादुर तमु, फलेवासका प्रेमबहादुर राना र पैयूका उमाकान्त भुर्तेल रहेका छन । मनोनित मध्ये तमु विहादी गाउँकमिटिका अध्यक्ष हुन । जिल्ला कमिटि पर्वतको सिफारिसमा प्रदेश कमिटिले उनीहरुलाई जिल्ला कमिटिमा मनोनित गरेको हो ।
मनोनित ४ जना नै साविक माओवादी केन्द्रका नेताहरु हुन । साविक नेकपा एमाले र माओवादी केन्द्र वीच भएको पार्टी एकतामा साविक माओवादी केन्द्रको तर्फबाट मनोनित गर्न बाँकी जिल्ला सदस्यहरुमा उनीहरुलाई मनोनित गरिएको पार्टी श्रोत बताउँछ । नेकपा पर्वतको जिल्ला सचिवालय सदस्य संख्या भने ४५ जनाको रहेको छ । यसैगरी पार्टीमा थप ३ जना सदस्य मनोनित हुन बाँकी रहेका छन । साविक नेकपा एमालेको तर्फबाट जिल्ला कमिटिमा कम्तिमा १ जना महिला सहित ३ जना मनोनित हुन बाँकी रहेको पार्टी श्रोतले बताएको छ ।
३ जना सदस्य मनोनितका लागि भने झण्डै १ दर्जनको संख्यामा आकाक्षीहरु रहेका छन । पार्टीको जिल्ला कमिटिसंगै नगर कमिटिहरुले पनि पूर्णता पाएका छन । प्रदेश कमिटिले कुश्मा नगरकमिटिको सचिव पदमा मिनप्रसाद श्रेष्ठलाई मनोनित गरेको छ । यस अघि नगरकमिटि कमिटि सचिव ढाकाराम सुवेदीको मृत्यु भएपछि सचिव पद रिक्त रहेको थियो ।
दुई कम्युनिष्ट पार्टीको एकिकरण पछि गठन भएको नेपाल कम्युनिष्ट पार्टीका ६१ वटै वडामा कमिटि समेत गठन भएका छन । ति कमिटिहरुको सपथग्रहण समेत सम्पन्न भएको नेकपा जिल्ला कमिटिका सचिव सुदीप कुवँरले जानकारी दिए । वडा कमिटिले नियमित वैठक र संगठनात्मक गतिविधिहरु सञ्चालन शुरु गरीसकेका छन । यसैगरी नगर कमितिले समेत पूर्णता पाएको छ । ति कमिटिहरुका संगठनात्मक गतिवधिहरु समेत भईरहेको सचिव कुँवरले बताए ।
पार्टी एकतासंगै एकताको प्रक्रियामा रहेका जनवर्गिय संगठनहरुको एकता पनि भईरहेको छ । हालसम्म राष्ट्रिय युवासंघ र अनेरास्ववियूको जिल्ला संयोजक र सह–संयोजकको टुंगो लागेको छ । ति संगठनहरुको जिल्ला कमिटि गठनको प्रक्रिया शुरु भईसकेको पार्टी सचिवालय सदस्य तथा राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य बिमल लामिछानले बताए ।
जनवर्गिय संगठन मध्ये प्रेस संगठन नेपाल जिल्ला कमिटिको गठन भईसकेको छ । उक्त कमिटिको सपथ ग्रहण कार्यक्रम आगामी फागुन १७ गते तय भएको संगठनका जिल्ला संयोजक गणेश गिरीले जानकारी दिए । किसान मोर्चा, अखिल नेपाल महिला संघ र अरु जनवर्गिय संगठनहरुको पनि एकता प्रक्रिया भईरहेको नेकपा पर्वतले जनाएको छ ।