जुगल गाउँपालिकामा कोरोनाभाइरस देखिएको छैन – स्वास्थ्य मन्त्रालय

मौसमी ज्वरो हुन सक्ने अनुमान

काठमाण्डौ/मंगलबार सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले गुम्बा गाउँमा सय बढी मानिसहरू ज्वरो र रुघाखोकीले थलिएपछि कोरोनाभाइरसको लक्षणको आशंका गरेर स्वास्थ्य मन्त्रालयलाई पत्र पठायो।

तर कतिपय अधिकारीहरूले गुम्बाका बिरामीहरूमा देखिएको लक्षण कोरोनाभाइरसको नभएर मौसमी ‘फ्लू’ को हुनेसक्ने बताएका छन्।

एक अधिकारीले सेतोपाटीसँग भने, ‘त्यस ठाउँमा कुनै पनि नागरिक चीनबाट आवतजावत गरेको पाइँदैन। साथै चीनबाट पनि कोही आएको देखिँदैन। त्यसैले कोरोनाभाइरसको लक्षण नभएर मौसमी रुघाखोकी हुनसक्छ।’

गुम्बा गाउँको सीमाना चीनसँग जोडिए पनि त्यहाँबाट मान्छेहरूको चीनमा आवतजावत नहुने गाउँपालिकाकी उपाध्यक्ष सृजना तामाङले सेतोपाटीसँग भनिन्।

‘गुम्बा गाउँ निकै विकट छ। त्यसैले यहाँ चीन जान कुनै बाटो छैन। चीन जानुपर्यो भने तातोपानी नाका भएरै जानुपर्छ,’ उनले भनिन्।

जनस्वास्थ्य वैज्ञानिक समिरमणि दीक्षितले भने यस्तो अवस्थामा सरकारले तत्काल हेलिकप्टरबाट भए पनि केहीको नमूना लिएर तुरुन्त परीक्षण गर्नुपर्ने बताउँछन्।

‘१० जनाको नमूना लिएर परीक्षण गरे दुई दिनमै पत्ता लाग्छ। यस्तो अन्यौल हुँदा स्थानीयमा अनावश्यक त्रास सिर्जना हुन्छ,’ दीक्षितले भने।

गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठले केन्द्रले खटाएको चिकित्सक टोली अहिलेसम्म गुम्बामा आइनपुगेको जानकारी दिए।

‘खोइ केन्द्रले टोली पठाएको छ भन्ने सुनियो तर कहाँ आइपुग्यो भन्ने थाहा छैन,’ अध्यक्ष श्रेष्ठले भने।

बिरामीको चेकजाँचमा खटिएका स्वास्थ्यकर्मीले पनि कोरोनाभाइरसको लक्षण नभएको आशंका गरेका छन्।

‘परीक्षण नभइ हामीले पनि हो कि हैन भनेर किटान गर्न मिल्दैन। तर यसो हेर्दा मौसमी रुघाखोकी जस्तो छ,’ स्वास्थ्यकर्मी अनिल साउदले सेतोपाटीसँग भने।

अहिले गुम्बामा सामुदायिक स्वास्थ्य इकाइ खडा गरेर बिरामीको चेकजाँच भइरहेको छ। त्यसरी बिरामी हुनेको संख्या सय बढी छन्। तीमध्ये तीन जनाको स्वास्थ्य अलिक जटिल छ। जसमा एक जना ६० वर्षीय महिला छिन् भने अन्य दुई बालबालिका छन्।

अहिले स्वास्थ्य इकाइमा ठूलो संख्यामा चेकजाँच गराउन आउने बिरामीको भीड लागेको छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पनि गुम्बामा देखिएको समस्यापछि मंगलबार नै विपद व्यवस्थापनको छलफल भएको र स्वास्थ्य मन्त्रालय मातहतका निकायबाट टोली पनि पठाएको जनाए।

ढकालले आफूले बुझ्दा पनि कोरोनाभाइरसको लक्षण नभएर मौसमी रुघाखोकी हुनसक्ने भएकाले यसले स्थानीयमा अनावश्यक त्रास उत्पन्न हुने भन्दै यसबारे आजै विज्ञप्ति जारी गर्ने बताए।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक शेरबहादुर पुनले पनि गुम्बाका बिमारीको लक्षण कोरोनाभाइरसको नभएर मौसमी ‘फ्लू’ को हुनसक्ने बताएका छन्।

मौसम परिवर्तन हुने समयमा अहिले देशको अन्य भूभामा पनि धेरै मान्छेहरूमा मौसमी रुघाखोकीको लक्षण देखिएको भन्दै स्थानीय आत्तिनु नपर्ने पुन बताउँछन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’