फलेवास नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा न्यौपाने

पर्वत । पर्वतको फलेवास नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत परिवर्तन भएका छन् ।
यस अघि कार्यरत मोतीराम सापकोटा अध्यागमन विभागमा सरुवा भएपछि नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा सुरेश न्यौपाने आउनुभएको हो ।
उहाँ कृषि विकास मन्त्रालयवाट फलेवास नगरपालिकामा सरुवा हुनुभएको हो । यस अघि उहाँले तत्कालीन जिविस, कमलामाई नगरपालिका, जलेश्वर नगरपालिका लगायतमा काम गरेको समेत अनुभव रहेको छ ।
सोमवारदेखि आफ्नो कार्यभार सम्हाल्नुभएका न्यौपानेलाई फलेवास नगरपालिका प्रमुख पदमपाणी शर्मा, उपप्रमुख मञ्जु अधिकारी, सरुवा भएर जान लाग्नुभएका प्रमुख प्रशासकिय अधिकृत मोतीराम सापकोटा र अन्य जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गर्नुभएको हो । सो अवसरमा बोल्दै नगरप्रमुख पदमपाणी शर्माले जुनसुकै निकायलाई प्रभावकारी बनाउन कार्यालय प्रमुखको भूमिका महत्वपुर्ण हुने उहाँले बताउनुभयो । उहाँले जनप्रतिनिधिहरुसँग आवश्यक सहकार्य गरेर काम गर्न निर्देशन दिँदै नगरको विकासनै आफ्नो मुख्य लक्ष्य भएकाले सोहि मर्म अनुसार अघि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख मञ्जु अधिकारीले यस अघिका प्रमुखले नगरपालिकालाई एउटा समृद्धिको दिशामा अघि बढाउन महत्वपुर्ण भूमिका खेलेको बताउँदै समग्र नगरको हितलाई ध्यान राखेर कामकाज गर्न आग्रह गर्नुभयो । स्वागत कार्यक्रममा बोल्दै नवआगन्तुक प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले जनप्रतिनिधि र कर्मचारीहरुले गरेको न्यानो स्वागतले आफुलाई उत्साह जागेको बताउनुभयो । उहाँले समग्र नगरको विकासका लागि आफ्ना अनुभवहरुलाई पुर्ण रुपमा व्यवाहारमा उतार्ने प्रतिवद्धता व्यक्त गर्दै जनप्रतिनिधिहरुसँग समन्वय र सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा सरुवा भएर जान लाग्नुभएका मोतीराम सापकोटाले फलेवास नगरपालिका स्थापना भएदेखि हालसम्म नगरले गरेका कामहरुको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले अन्य स्थानीय तहहरु भन्दा फरक र नगरवासिहरुलाई समृद्धिको दिशातर्फ लैजानेगरी विभिन्न विकास योजनाका साथसाथै ऐन, नियम र कानूनहरु निर्माण गरेको बताउँदै तिनीहरुको सफल कार्यान्वयमा ध्यान दिन आग्रह गर्नुभएको छ । सापकोटा आफ्नो साढे दुई वर्षको कार्यकाल पुरा गरी गृह अन्तर्गतको अध्यागमन विभागमा सरुवा हुनुभएको हो ।