‘बन्दीपुर केवलकार पर्यटन प्रबद्र्धनका लागि कोशेढुङ्गा सावित हुनेछ’

तनहुँ / तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण भइरहेको केवलकार पर्यटन प्रबद्र्धनका लागि कोशेढुङ्गा सावित हुनेमा जोड दिइएको छ । केवलकारको निर्माण कम्पनी बन्दीपुर केवलकार प्रालिको शनिबार सम्पन्न पाँचौ साधारणसभाको अवसरमा बोल्ने वक्ताहरुले केवलकार निर्माणले बन्दीपुरको पर्यटनमा सुन्दरता थप्ने काम गरेको बताए ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले पुरानो र ऐतिहासिक नगरीको पर्यटन प्रबद्र्धनका लागि केवलकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । बन्दीपुरको पर्यटन प्रबद्र्धनका लागि गाउँपालिका योजनाबद्ध ढङ्गबाट अगाडी बढिरहेको सन्दर्भमा केवलकार निर्माणको थालनीले सुनमा सुगन्ध थप्ने काम गरेको थापाले बताए ।

पर्यटन, कृषि, पूर्वाधारलाई प्राथमिकतामा राखेर गाउँपालिकाले योजना बनाइरहेको भन्दै थापाले बन्दीपुरको विकासका लागि बीस वर्षे गुरुयोजना निर्माण गरिएको जानकारी दिए । पर्यटन प्रबद्र्धनका लागि बौद्ध गुम्बा र पदमार्ग पर्खाल निर्माणलाई तीव्रता दिइएको र टुँडिखेलमा शिशाको दृश्यावलोकन स्तम्भ बनाउने योजना गाउँपालिकाको रहेको सो अवसरमा थापाले बताए ।
नेपाल भ्रमण वर्ष २०२० का प्रदेश संयोजक जुद्ध गुरुङले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रबाट भएको प्रयास उदाहरणीय रहेको बताउँदै केवलकारको भविष्य उज्ज्वल रहेको बताए । नीति नियम बनाएर औद्योगिक वातावरण सिर्जना गर्ने काम सरकारको भएको चर्चा गर्दै उनले पर्यटन लगानी गर्ने जिम्मेवारी निजी क्षेत्रको भएको उल्लेख गरे ।
कम्पनीका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बन्दीपुर गाउँपालिका–३ का अध्यक्ष हस्तबहादुर जिसी, खड्गमाई पूजा सञ्चालक समितिका अध्यक्ष आनन्दमान जोशी, केज कन्सल्ट्यान्ट प्रालिका प्रबन्ध निर्देशक विष्णु पन्थी, नेपाल बुद्धिजीवि सङ्गठनका केन्द्रीय सदस्य मनहरि तिमिल्सिना, कम्पनीको अन्तर्राष्ट्रिय विभाग अन्तर्गत मध्य पूर्वका प्रमुख कृष्णबहादुर ढकाल लगायतले मन्तव्य राखेका थिए ।

कम्पनीका पब्लिक रिलेशन अफिसर कृष्णराज अधिकारीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन प्रमुख कार्यकारी अधिकृत किरण पोख्रेलले गरेका थिए । सो अवसरमा जग्गादातालाई समेत सम्मान गरिएको थियो
साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष ०७५÷७६ को लेखापरीक्षण प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । साथै सञ्चालक समितिको अनुमोदन, कम्पनीको १५ वर्षीय रणनीतिक योजना प्रस्ताव, कम्पनीको प्रबन्धपत्र एवं नियमावली संशोधन र कम्पनीलाई प्रालिबाट लिमिटेड बनाउने प्रस्ताव पारित भएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।