पर्वतमा ‘जान्ने बुझ्नेले नै औषधी नखाँदा हात्तिपाइलेको जोखिम बढ्यो’

पर्वत – हात्तिपाइलेको औषधी सेवन गर्दा स्वास्थ्यमा गम्भीर खतरा आउँदैन बरु सधैभर हात्तिपाइलेको जोखिमबाट मुक्त हुन सकिन्छ ।
ग्याष्ट्रिकका बिरामी वा हात्तीपाइलेका जीवाणु शरीरमा भएका ब्यक्तिमा सामान्य समस्या देखिए पनि त्यसले कुनै ठुलो असर पार्दैन तर यस्तो अबस्थामा पनि समाजमा जान्ने बुझ्ने र कतिपय अबस्थामा स्वास्थ्यकर्मीले समेत औषधी सेवन नगरि दिएका कारण आम मानिसमा हात्तिपाइलेका बिरुद्ध औषधी खुवाउने कार्यक्रम असफल भएको पाइएको छ ।
मुलुकका धेरै जिल्लामा हात्तिपाइले रोग बिरुद्धको अभियान सफल भैसकेपनि पर्वत जिल्ला भने अझैपनि हात्तिपाईले रोगको उच्च जोखिममा रहेको पाइएको कुस्मा नगरपालिका स्वास्थ्य इकाइले बिहीबार पर्वत अस्पतालमा गरेको अन्तरकृया कार्यक्रममा बताइएको छ ।
पर्वतमा सन २०१० देखि नियमित रुपमा १० पटक आमरुपमा औषधी खुवाउने कार्यक्रम सकिएपनि जिम्बेवार ब्यक्तिले हेलचक्रयाई गर्दा सर्वसाधरणले ११ औ पटक औषधी खानुपर्ने अबस्था आएको हो । हात्तीपाईलेका बिरुद्ध खाने औषधी सबै मानिसले नखाईदिएका कारण पर्वत र खासगरी कुस्मा नगरपालिका अझै बढी जोखिममा परेको स्वास्थ्यकर्मी बताउँछन । ‘सबै मानिसले औषधी नखाएका कारण ११ औं पटक सम्म आम मानिसलाई औषधी खुवाउनुपर्ने अबस्था छ’ कुस्मा नगरपालिकाका स्वास्थ्य इकाईका प्रमुख उमाकान्त सापकोटाले भन्नुभयो ‘ जान्ने बुझ्नेहरुले नै औषधी नखाँदा अझै समस्या भएको छ ।’

औषधी नखानेमा स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी र सुरक्षाकर्मी बढी भेटिएका छन । सर्बसाधरणले औषधी सेवन गर्छन तर उनीहरुलाई प्रत्यक्ष भेटेर सम्झाउने हो भने यसको समस्या नभएको बारेमा बुझाउनका लागि स्वास्थ्यकर्मी र सचेत बर्ग चुकिरहेका छन । पर्वत अस्पतालका निमिक्त मेडिकल सुपरिटेन्डेण्ट डा. शिशीर देबकोटा औषधीले असर गर्छ भनेर अनावश्यक हल्ला फैलाएका भरमा औषधीन नखानेहरु बढी भएको गुनासो गर्नुहुन्छ । ‘लामो समय सम्म बिज्ञहरुले अनुसन्धान गरेर बनाएको औषधीमा कुनै समस्या छैन’ उहाँले भन्नुभयो ‘भ्रमलाई तोड्न जरुरी छ, औषधीले कुनै पनि गम्भीर प्रकृतिको असर गदैन ।’ ‘खोप जस्तो एक पटक लगाएपछि लगाई रहन नपर्ने नभएका कारण पनि १० पटक औषधी खाने र एक पटक पनि औषधी नखाने मानिस एकै भएकाले सबैले आम औषधी सेवन गर्नुपर्ने सुझाब उहाँको छ । पर्वतका निमिक्त प्रमुख जिल्ला अधिकारी छबिलाल सुबेदीले सबै कर्मचारी र सेवाग्राहीलाई समेत औषधी सेवनका लागि आग्रह र प्रोत्साहित गर्ने आश्वासन दिनुभयो ।
पर्वत जिल्ला र खासगरी कुस्मा नगरपालिकामा हात्तिपाइलेको जोखिम कायमै रहेको पाइएकाले आगामी माघ २५ गते ११ औ चरणको कार्यक्रम पर्वतमा संचालन हुने भएको छ । दशौं चरण सम्म अभियान संचालन गर्दा पनि हात्तिपाईले संक्रमितको संख्या १ प्रतिशत भन्दा तल नझरेपछि पुनः ११ औ पटक अभियान संचालन गर्न लागिएको हो । पर्वत सहित देशका १३ जिल्लामा माघ २५ गते सामुहिक रुपमा औषधी खुवाउने कार्यक्रम रहेको छ । पर्वतमा २ बर्ष भन्दा कम उमेरका तथा गर्भवती महिला छाडेर जिल्लाको कुल जनसंख्या मध्ये १ लाख ५ हजार ५ सय १६ जनालाई औषधी सेवन गराउने अभियानको लक्ष्य रहेको कुस्मा नगरपालिकाका सिनियर अहेब अधिकृत यामप्रसाद शर्माले बताउनुभयो । कुस्मा नगरपालिकामा मात्रै ४१ हजार ६ सय १३ जनसंख्या रहेको छ । यस मध्ये २ बर्ष मुनिका बालबालिका, गर्भवती, असक्तहरु कटाउँने र कुस्मामा ब्यापारी, कर्मचारी, सुरक्षाकर्मी तथा उनका परिवार र बिद्यार्थी समेत भएकाले धेरै जनाका बिचमा औषधी खुवाउने कार्यक्रम चलाउनु परेको कार्यालयले जनाएको छ ।
अभियानका लागि जिल्लाका सबै स्वास्थ्यकर्मी र स्वयंसेविकालाई परिचालन गर्ने तयारी भएको छ । स्वास्थ्यकर्मीले घरमै पुगेर आँखा अगाडी औषधी खुवाउने र स्वयसेविकाले सहयोग गर्ने कार्यक्रम छ । घरमा लैजादा औषधी नखाने, जाने बुझेकाले समेत औषधी खान नमान्दा सबैले पटकपटक औषधी खानुपर्ने बाध्यता छ । यस पटक सबैजनाले औषधी खाने कार्यक्रम सफल बनाउन सकेमा आगामी बर्ष देखि औषधी सेवन गर्नु नपर्ने भएका कारणपनि सबैले औषधी खान र त्यसले कुनै हानी तथा असर नपु¥याउने हुँदा ढुक्क हुन स्वास्थ्यकर्मीले आग्रह गरेका छन ।