चीनबाट विद्यार्थी फर्काउन यस्तो छ सरकारको तयारी

चीनको हुबेई प्रान्तका ६ स्थानबाट १८० नागरिकलाई स्वदेश फिर्ता गरेदेखि दुई साता क्वारेन्टाइनमा राखेर घर फर्काउनेसम्मको कार्ययोजना तयार भएको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
परराष्ट्र, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य, गृह र रक्षा मन्त्रालयको समन्वयमा उनीहरूको उडान, उपचार, सुरक्षा र खाने÷बस्ने बन्दोबस्त हुन लागेको छ ।
पर्यटन मन्त्रालयले हुबेईको वुहानबाट नेपालीलाई विशेष जहाजमार्फत काठमाडौंसम्म ल्याउने जिम्मा लिनेछ । स्वास्थ्य मन्त्रालयले उनीहरूलाई लिन जहाजमा चिकित्सकको टोली पठाउनेदेखि स्वदेश ल्याएर स्वास्थ्योपचारसम्मको जिम्मा लिनेछ । गृह मन्त्रालयले उनीहरूको सुरक्षा र यातायातको जिम्मा लिनेछ । रक्षा मन्त्रालयले क्वारेन्टाइन, आइसोलेसन वार्ड, खानपिन र बन्दोबस्तीको जिम्मा लिनेछ ।
वुहानबाट ल्याइने सबैलाई सकभर एकै स्थानमा राख्ने तयारी छ । सेनाको पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्र र खरिपाटीस्थित विद्युत् प्राधिकरणको कर्मचारी तालिम केन्द्र रोजाइमा छन् । बुधबार थप अध्ययन गरेर एउटा ठाउँ टुंग्याउने सरकारी तयारी छ । त्यसपछि नेपाली नागरिक फिर्ता गर्ने कूटनीतिक प्रक्रिया सुरु हुनेछ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा परराष्ट्र, पर्यटन, स्वास्थ्य, गृह र रक्षा मन्त्रालयका अधिकारी तथा सुरक्षा निकायबीच स्वदेश फिर्ताको कार्ययोजनादेखि सुरक्षित स्थान, उपचारको जिम्मेवारीका विषयमा छलफल भएको थियो । उनीहरूलाई राखिने क्वारेन्टाइनबाहेक सबै विषयमा सरोकारवाला निकायबीच सहमति भएको हो ।