कृषि आधुनिकिकरण : फलेवासका कृषकहरु गोरु बेचेर हलो किन्दै


पर्वत । फलेबास–४ रुग्दीका नेत्रप्रसाद पौडेलको घरमा पुस्तौंदेखि हलगोरु टुटेका थिएनन् । तर उनले गत वर्षदेखि पाल्न छाडिदिए । बरु ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो किन्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको धान ब्लक समितिमा निवेदन दिए । समितिमा यस्ता ४० वटा निवेदन परे । तीमध्ये ३१ किसान छानिए ।
ब्लक सञ्चालक समितिका अध्यक्ष बलराम भुसालका अनुसार जमिनको क्षेत्रफल, उत्पादन क्षमता, जनशक्तिलगायत मूल्यांकनका आधारमा यान्त्रिक हलो वितरणको निर्णय भयो ।
केही वर्षयता किसानहरू गोरु बेचेर हलो किन्न तँछाडमछाड गरिरहेका छन् । भिरालोमा समेत सहजै पुर्याउन सकिने यान्त्रिक हलोले गोरुले ५ दिन लगाउने जमिन एकै दिनमा जोत्न सक्ने भएकाले आकर्षण बढेको हो ।
धानको मूल बिउ बढाउने गरी कार्यक्रम थालिएको फलेबासका ४, ६ र १० वडामा मात्रै ३ वर्षयता सयवटाभन्दा बढी हलो वितरण गरिएको छ । कतिपय किसानले आफैं किनेका छन् । केहीलाई कृषि ज्ञानकेन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मकै जोन तथा कतिपयलाई धान ब्लकमार्फत वितरण गरिएको छ ।
हलोबाहेक धान काट्ने ‘ब्रस कटिङ मेसिन’ तथा धान रोप्न हिले फालीको समेत माग बढेको छ । फलेवास नगरपालिकाका प्रवक्ता एवं मुडिकुवाका वडाध्यक्ष टीकाराम गौंडेलले नगरका ११ वटै वडामा जमिन बाँझो नराख्ने अभियान सञ्चालन गर्न लागिएको बताए । ‘युवा गाउँमा बस्दैनन् । हामीले क्लिन र ग्रिन फलेबासको अवधारणा ल्याएका छौं,’ उनले भने, ‘यसलाई सघाउन पनि यान्त्रिक हलो सहयोगी बन्छ ।’
धान ब्लक सञ्चालक समितिका अध्यक्ष भुसालले फलेबासको ५ सय हेक्टरमा रैथाने धान संरक्षण गर्दै व्यावसायिक उत्पादन थालिने बताए । ‘लमाए खोलाबाट लिफ्टमार्फत पानी तान्ने योजनाको डिपिआर भइसकेको छ,’ उनले भने, ‘१ करोड ३१ लाखको स्टिमेट गरिएको सिँचाइ सम्पन्न भए खानीगाउँ, देवीस्थान, मुडिकुवा र कुर्घाको जमिनमा बाहै महिना सिँचाइ पुग्नेछ ।’
समितिका सचिव थानेश्वर भुसालले मुडिकुवाको गौंडामा १५, कुर्घाफाँटमा २५ र देवीस्थानको हाँडीचौरमा २० हेक्टरमा धानखेती गर्न लागिएको बताए । उनका अनुसार ब्लकमा समेटिएका खेतमा धानको जेठोबुढो प्रजातिको मूल बिउ उत्पादन गर्ने कार्यक्रम चलाइएको छ । चालू वर्ष कृषि ज्ञान केन्द्रले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसैमार्फत किसानलाई मागका आधारमा मिनिटिलर वितरण गरिएको समितिले जानकारी दिएको छ ।आजको कान्तिपुर दैनिकमा खवर छ ।