बजार व्यवस्थापनका लागि ‘अदली-बदली’ पार्किङ सुरू

All-focus

पर्वत /सवारी साधन पार्किङ गर्दा बजारभित्रको बाटो साँघुरो बन्दा गुड्ने सवारी र पैदलयात्रीलाई समस्या भएपछि पर्वत ट्राफिकले जिल्लामा नै पहिलो पटक अदली-बदली पार्किङको नियम लागू गरेको छ।

कुस्मा बजारको सडक यसै पनि साँघुरो रहेकोमा सडकको दायाँ र बायाँ दुवैतर्फ पार्किङ गर्दा सवारी आवागमनमा नै समस्या परेको गुनासोपछि अदली-बदलीको नियम लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख, प्रहरी नायव निरीक्षक रामबहादुर भट्ट क्षेत्रीले जानकारी दिए।

‘बजारका साँघुरा सडकमा पनि दायाँ र बायाँ दुवैतर्फ गरिने पार्किङका कारण बाटोमा गुड्दै गरेका सवारी र पैदलयात्री पनि समस्या परेको हामीले महशुस गरेका थियौँ’ उनले भने, ‘अहिले यो कामको सुरुवाती चरणमा बजारका मुख्य दुई बाटोमा नियम लागू भएको छ। पछि बजारभरि नै यो नियम चल्नेछ।’ उनका अनुसार सवारी पार्किङका लागि ७ दिनमा पार्किङ परिवर्तन हुने छ।

एक हप्ता सडकको दायाँतर्फ मात्रै सबै प्रकारका सवारी पार्किङ गर्न पाइने छ भने अर्को हप्तामा पार्किङ गर्दै आएको दायाँतर्फको भागलाई खाली गरेर वायाँतर्फ मात्र पार्किङ गर्नु पर्नेछ। कुस्मा बजारका सडकहरूलाई चक्लाबन्दी गरेर नयाँ नाली निर्माण गर्ने काम चलिरहेका कारण बजारका सबै सडकमा अदली-बदलीको नियम सुरु नभएको तर काम सकिएका सडक आचार्य चोकदेखि मैत्रीचोक र शिवालय चोकदेखि प्रगति चोकमा भने नियम लागू भएको ट्राफिक प्रहरी सहायक निरीक्षक राजेन्द्र पौडेलले बताए।

ट्राफिक प्रहरीलाई यो कामका लागि ‘नो पार्किङ’ को संकेत राखिएका बोर्ड आवश्यक पर्ने तर त्यसका लागि आफ्नो निकायबाट बजेट नआउने भएका कारण वडा र अन्य दातासँगको सहकार्यमा ‘नो पार्किङ’ का संकेत राखिएको पौडेलको भनाई छ।

‘हाम्रो डिपार्टबाट यो कामका लागि बजेट आउँदैन’ उनले भने, ‘अहिले राखिएका बोर्ड कुस्मा नगरपालिका ४ र ६ ले निर्माण गरिदिएको छ। अन्य ठाउँमा राख्नको लागि सहयोगदाताको खोजी गरिरहेका छौँ।’ प्रत्येक हप्तामा पार्किङको साइड परिवर्तन हुने नियम पर्वत जिल्लाका लागि नयाँ भएका कारण सुरुमा नियम कार्यान्वयन गर्न केही असजिलो भएको ट्राफिक प्रहरी प्रमुख क्षेत्रीले बताए।

पुरानो नियममा जुन साइडमा पनि पार्किङ गर्ने बानी परेकाले ‘नो पार्किङ’ को संकेत देख्दादेख्दै पनि पार्किङमा राख्दा कतिपयलाई नियम बुझाउन कठिन भएको उनको भनाई छ। सडकमा ‘नो पार्किङ’ का बोर्ड राखिएको भए पनि सवारीचालले त्यसलाई बेवास्ता गर्दै मनलाग्दी पार्किङ गर्ने गरेको भने देख्न पाइन्छ।

निजीदेखि सरकारी सवारीले समेत नियमको उल्लघंन गरिरहेको बजारवासी बताउँछन्। ट्राफिक प्रहरीले भने नयाँ नियम भएकाले बानी नपर्दासम्म झुक्किएर पनि पार्किङ हुने तर नियमबारे बुझाएर समस्या समाधान गर्ने बताएको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’