सेनाको जागिर छोडेर हाँस्य कलाकार,जागिरको तलबभन्दा दर्शकको तालीमा सन्तुष्टि

पर्वत /सरकारी जागिर पाएसम्म निजी क्षेत्रको जागिर गर्ने वा अन्य पेसा अँगाल्ने कमै हुन्छन्।

तर, गण्डकी प्रदेशका एक सफल हास्य कलाकार प्रदीप गाउँले त्यस्ता व्यक्ति हुन जसले साढे ३ वर्षसम्म नेपाली सेनामा रहेर काम गरेपछि कलाकार बन्नकै लागि सेनाको जागिर त्यागे।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-५, आरुचौरमा जन्मिएका गाउँलेले गण्डकी प्रदेशका बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ, गोरखा, पर्वत, कास्की लगायतका जिल्लाहरूमा हुने धेरै मेला, महोत्सवदेखि साना कार्यक्रमहरूमा पनि ठाउँ पाएका छन्। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि कलाकार र पत्रकारहरूको जस्तै आवाज र लवज निकाल्न सिपालु मानिने प्रदीपले स्टेजहरू राम्रै पाएका छन्।

२०७२ सालमा नेपाली सेनाको सिपाहीमा भर्ती भएका उनलाई जागिरभन्दा कलाकारिता नै प्यारो लाग्यो। यही कारण साढे २ वर्षसम्म नेपाली सेनामा काम गरेपछि उनले जागिरबाट राजीनामा गरेर स्टेजको खोजीमा हिँड्न थाले। ‘मलाई त सेनामा जागिर गर्न मन नै थिएन, तर परिवार र गाउँकाले सरकारी जागिरको महत्वको बारेमा पटकपटक गरेपछि भर्ती भएँ’ गाउँले भन्छन्, ‘बच्चैदेखि कमेडी मन पराउने मलाई सेनाको टाइम टेबलमा रहेर ड्युटी गर्न भन्दा पैसा नै नकमाए पनि कलाकार बन्न मन लाग्यो।’ सानैदेखि कलाकार बन्न मन लागेका कारण जागिरबाट कमाएको पैसामा भन्दा स्टेजमा हँसाउँदा दर्शकले दिएको ताली आफूलाई प्यारो लाग्ने गरेका कारण सेनाको जागिर भन्दा हास्य कलाकारिताको बाटो उत्तम मानेको उनी बताउँछन्। ‘सेनाकै जागिरमा रहेको भएमा महिना महिनामा तलब त आउने थियो’ प्रदीप भन्छन्, ‘जागिरबाट आएको तलब भन्दा स्टेजमा हेरिरहेका दर्शकबाट आउने तालीमा मज्जा लाग्छ।’ पैसा कमाएको वा जागिरे मान्छेलाई भन्दा कलाकारलाई सबैले चिन्ने भएका कारण सेलीब्रेटी बन्नमा आनन्द लाग्ने गरेको उनले बताए।

सानैबाट नै नेपाली हास्य विधाका कलाकारहरूको जस्तै चाल चलन अपनाउन खोज्ने उनले विद्यालय तहमा अध्ययनरत हुँदाबाट नै गाउँ घरमा हुने गरेका कार्यक्रमहरूमा आफ्ना कला देखाउँथे र हँसाउँथे। कक्षा १२ सम्मको अध्ययनमा आइपुग्दा उनलाई कलाकारिता क्षेत्रकै लगाव बढी भयो यही कारण औपचारिक विद्यालय शिक्षालाई पनि यत्तिकै छाडिदिए। स्टेजमा आफ्नो कला देखाउन पाए पैसा बरु चाहिँदैन भन्ने सोच उनमा थियो। तर आजभोलि स्टेज राम्रै पाएका कारण आर्थिक उपार्जनको बाटो पनि राम्रो बनेको उनले बताए।

सेनाको जागिर छाडेपछि घरपरिवारका मान्छेले कराएर हैरान पार्ने गरेको भए पनि अहिले भने परिवारका सबै जना सन्तुष्ट रहेको उनको भनाइ छ। ‘जागिर छाडेर पागलको जस्तो बुद्धि हाल्यो यसले भनेर मलाई धेरैले गाली गर्नुभयो। घरमा बुबा आमा र दाइले पनि निकै कराउनुभएको थियो।’ उनले भने, ‘अहिले बुबा-आमा, दाइ सबै कन्भिन्स हुनुभएको छ। कलाकारिताको बारेमा उहाँहरूले पनि बुझ्नुभएको छ।’ विभिन्न व्यक्तिहरूको ‘क्यारीकेचर’ गर्नमा मात्र नभई गीतहरूमा ‘कमेडी डान्स’ मा पनि सिपालु रहेका कारण पनि गाउँलेले स्टेजमा राम्रो ठाउँ पाउँदै आएका छन्। त्योबाहेक हास्य टेलीश्रृंखला ‘थुक्क बदमास’ को लेखन तथा निर्देशन पनि गर्दै आएका छन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’