ओली र प्रचण्डबीच सहमति : अग्नि सापकोटा सभामुख

काठमाण्डौ – तीन महिनादेखि रिक्त प्रतिनिधिसभाको सभामुख कसलाई बनाउने भन्ने विवाद टुंगो लागेको छ ।
आइतबार बिहान सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नेता अग्नि सापकोटालाई सभामुख बनाउने सहमति भएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले सुवास नेम्वाङलाई सभामुखका लागि अघि सारेको भए पनि अर्का अध्यक्ष प्रचण्डले सभामुख पूर्वमाओवादीबाटै हुनुपर्ने अडान लिएपछि नेता सापकोटाको नाममा सहमति जुटेको हो ।
सापकोटा अध्यक्ष प्रचण्ड निकट मानिनुहुन्छ ।
दुई नेताबीच भएको सहमति आइतबार ४ बजे बस्ने सचिवालय बैठकले अनुमोदन गरेपछि सार्वजनिक गर्ने तयारी नेकपाले गरेको छ ।
नेकपाका महासचिव विष्णु पौडेलले ४ बजे बस्ने सचिवालय बैठकमा सभामुखबारे छलफल हुने बताउनुभयो । दुई अध्यक्षबीच भएको सहमति आफूहरुलाई जानकारी नभएको भन्दै उहाँले आजै बस्ने सचिवालय बैठकले सभामुखको उम्मेदवार भने टुंगो लगाउने बताउनुभयो ।
नेकपाबाटै उपसभामुख बन्नुभएकी शिवमाया तुम्बाहाङ्फेले पार्टीले सभामुखको उम्मेदवार टुंगो नलगाएसम्म राजीनामा नदिने अडान लिएपछि नेकपाले आज सभामुखको टुंगो लगाउन लागेको हो ।
सभामुखमा तुम्बाहाङ्फेले पनि दाबी गर्दै आउनुभएको छ । तर दुई अध्यक्ष सापकोटालाई सभामुख बनाउन सहमत भएपछि तुम्बाहाङ्फेको दावी व्यर्थ हुने भएको छ ।
नेकपाले सभामुखको उम्मेदवार टुंगो नलाग्दा संसद बैठक एक महिनादेखि लगातार सूचना टाँस गरेर स्थगित हुँदै आएको छ ।
पुस ४ गते सुरु भएको संसदको हिउँदे अधिवेशन त्यसपछि बैठक नै नबसी स्थगित हुँदै आएको हो । संसद बैठक सोमबारका लागि पनि तय गरिएको छ ।
आइतबार ४ बजे नेकपाको सचिवालय बैठकले सभामुखको उम्मेदवार टुंग्याए सोमबारका लागि तय भएको संसद बैठक भने अघि बढ्ने विश्वास लिइएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’