जिल्ला अस्पताल पर्वतले निःशुल्क मुटु शिविर सञ्चालन गर्दै
- सुवास लामिछाने, पर्वत । जिल्लामा रहेका मुटुका बिरामीहरुलाई सहयोग गर्ने उद्देश्य राखेर पर्वत जिल्ला अस्पतालले निःशुल्क मुटु परीक्षण शिविर सञ्चालन गर्ने भएको छ । धौलागिरी अञ्चल भित्रका मुटुका बिरामीहरुको उपचारलाई सहज बनाउनका लागि छैठौं पर्वत महोत्सवको दोस्रो दिन यहि माघ १० गते शिविर सञ्चालन गरिने अस्पतालले जनाएको छ ।

पर्वत अस्पतालको ३० औं स्थापना दिवस तथा छैठौं पर्वत महोत्सवको सन्दर्भ पारेर आयोजना गरिएको मुटु परीक्षण शिविरमा परीक्षणका आधारमा निःशुल्क औषधि समेत वितरण गरिने अस्पताल विकास समितिका अध्यक्ष गोबिन्द पहाडीले जानकारी दिनुभयो ।

शिविरमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराईद्धारा निःशुल्क मुटु परीक्षण गरिनेछ । मुटु रोगीहरुले स्वास्थ्य परीक्षण गराउन काठमाडौं, पोखरा धाउने र अनावश्यक धेरै आर्थिक खर्च हुने भएकाले त्यसको मध्यनजर गर्दै अस्पतालको ३० औं स्थापना दिवस तथा छैठौं पर्वत महोत्सवको सन्दर्भमा शिविर सञ्चालन गरिएको पडाडीले बताउनुभयो ।

मुटुको मात्रै परीक्षण हुने गरी आयोजना हुन लागेको शिविरमा झण्डै ५ सय भन्दा बढी बिरामीको मुटु परीक्षण गरिने अपेक्षा लिएको अध्यक्ष पहाडीको भनाइ छ। ‘वरिष्ठ मुटु रोग विशेषज्ञ डा.अनिल भट्टराईद्धारा निःशुल्क मुटु परीक्षण हुन्छ’ पहाडीले भन्नुभयो ‘ काठमाण्डौ जानुपर्ने बिरामी भेटिएमा सबै खर्च अस्पतालले स्रोत खोजी व्यवस्थापन गर्ने गरी निशुल्क उपचारको व्यवस्था मिलाइने छ ।’
शिविरमा मुटुको परीक्षण, ईसिजी, भिडियो एक्स–रे, सुगर जाँच लगायत सबै सुविधा सम्बन्धी जानकारी समेत गराइने छ । मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराई लगायत पर्वत जिल्ला अस्पतालका विशेषज्ञ डाक्टरहरुको संयोजनमा मुटुको परीक्षण गरिनेछ । जसका लागि मुटु रोगी बिरामीहरुले विस्तृत जानकारीका लागि पर्वत जिल्ला अस्पताल तथा छैठौं पर्वत महोत्सवको सचिवालयमा सम्पर्क गर्न सकिने अस्पतालले बताएको छ ।