कांग्रेसबाट भूमिसुधारमन्त्री बनेका आचार्यले १७ रोपनी खोलाको जग्गा आफ्नो नाममा बनाएर बेचेको खुलासा


तत्कालीन भूमिसुधारमन्त्रीले खोला नै आफ्नो नाममा बनाएर बेचेको खुलासा भएको छ ।
०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका भूमिसुधार तथा व्यवस्थामन्त्री जगन्नाथ आचार्यले खोलाको १७ रोपनी १४ आना जग्गा आफ्नो नाममा बनाएर बेचेको खुलेको छ ।
आचार्यले भक्तपुरको हनुमन्ते खोलाको जग्गा ०३१ मै जिल्ला भूमि प्रशासन कार्यालयबाट निर्णय गराई आफ्नो नाममा गराएका हुन् । ०२१ को नापीले मध्यपुर थिमि नगरपालिका–३ सागबारीस्थित २८ रोपनी तीन आना दुई पैसा जग्गा कित्ता नम्बर १०१२ मा हनुमन्ते खोलाको नाममा दर्ता गरेको थियो । तर, खोलाले धार परिवर्तन गरेको मौका छोपी ३१ वैशाख ०३१ मा आचार्यले खोलाको १७ रोपनी १४ आना आफ्नो नाममा दर्ता गरे । जिल्ला मालपोत कार्यालय भक्तपुरको जग्गाधनी पुर्जा स्रेस्ताअनुसार खोलाको कित्ता १०१२ लाई ११२० र ११२१ मा टुक्र्याएर ११२० को १७ रोपनी १४ आना उनले आफ्नो नाममा दर्ता गरेका थिए ।
भूमि प्रशासनको निर्णयबमोजिम खोलाको जग्गा आचार्यले आफ्नो नाममा दर्ता गरेको भन्ने मालपोतको लिखतमा उल्लेख छ । जग्गा दर्ता गराउने अधिकृत र सर्वेक्षकको नाम प्रस्ट नबुझ्ने गरी किर्ते गरिएको छ । कित्ता नम्बर ११२१ को जग्गा भने सरकार वा व्यक्ति कसको नाममा गरिएको भन्ने कार्यालयको ढड्डाबाट स्पष्ट खुल्दैन । नापी कार्यालय भक्तपुरले कित्ता नम्बर ११२१ को नक्सा भए पनि सो जग्गा खोला वा व्यक्तिको नाममा रहे–नरहेकोबारे स्पष्ट नभएको जनायो । खोलाको जग्गा आफ्नो नाममा ल्याएपछि उनले कित्ताकाट गरेर परिवारका सदस्यको नाममा समेत सारे । त्यसपछि पटक–पटक कित्ताकाट गर्दै अहिलेसम्म आइपुग्दा आचार्यले सबै जग्गा बेचिसकेका छन् ।नयाँ पत्रिका दैनिक