अत्यधिक दोहन र प्रदूषणले कालीगण्डकी नदी जोखिममा -संरक्षण अभियान सुरु


बागलुङस्थित मालढुंगा नजिकैको कालीगण्डकी नदी क्षेत्रमा उत्खनन गरिादै ।
बागलुङ/अत्यधिक दोहन र प्रदूषणले कालीगण्डकी नदी जोखिममा परेको छ । धार्मिक पर्यटनका लागि उत्कृष्ट बन्नसक्ने कालीगण्डकी क्षेत्रमा अहिले अवैध उत्खनन बढेको हो । उच्च अदालत पोखरा बागलुङ इजलासले डेढ वर्षअघि जिल्ला प्रशासन कार्यालयलाई कालीगण्डकी संरक्षण गर्न आदेश दिए पनि हालसम्म नदी दोहन रोकिएको छैन । सरोकारवाला निकायको बेवास्ताले नदी दोहन मौलाएको स्थानीयको आरोप छ ।
इजलासले नदीको अनुगमन र दोहन गर्नेमाथि कारबाही गर्न जिप्रकालाई आदेश दिएको थियो । कालीगण्डकी किनारका सबै नगरपालिका र गाउँपालिकालाई नदी संरक्षणको कानून बनाउनसमेत अदालतले परमादेश जारी गरेको थियो । तर, बहाव नै परिवर्तन हुनेगरी नदी क्षेत्रमा दिनहुँ एक्स्काभेटर लगाएर बालुवा र गिट्टी झिकिए पनि प्रशासन मूकदर्शक बनेको हो । नदी उत्खनन गरी ठेकेदारले करोडौं आम्दानी गरे पनि राज्यलाई कर तिरेका छैनन् ।
अभियन्ता ऋषि प्रपन्नाचार्यले कालीगण्डकी सभ्यता मासिँदै गएकोमा चिन्ता व्यक्त गरे । ‘नदी संरक्षणका लागि उत्खनन मात्र रोकेर पुग्दैन,’ उनले भने, ‘यसमा मिसिने सबै खोलाको संरक्षण हुनुपर्छ ।’ हिन्दू धर्मावलम्बीले श्राद्ध गर्ने मुस्ताङको कागबेनीमा ढल मिसाएकोमा विरोध गर्दा उनले धम्की आएको सुनाए । यो समस्या जोमसोम, बेनी र बागलुङ बजारमा पनि छ । सदरमुकामको फोहोर कालीगण्डकीमा मिसाइएको छ । नदी प्रदूषित बन्दा जलचर पनि मर्न थालेका छन् । ‘कालीगण्डकी ए जलविद्युत् आयोजनामा सयौं माछा मरेको भेटिन्छ,’ आयोजनामा कार्यरत एक सुरक्षाकर्मीले भने ।
हिन्दू परम्पराअनुसार विशेष तिथि तथा पर्वमा कालीगण्डकीमा स्नान गर्ने चलन भएकाले नदीलाई सफा राख्नुपर्ने संरक्षणकर्मी खिमानन्द कँडेलले बताए । नदी किनारमा दर्जनौं घाट छन् । ती घाटमा शव जलाएपछि सबै फोहोर नदीमा बगाउने चलन छ । त्यसले पनि नदी प्रदूषित भइरहेको कँडेलले बताए । ‘व्यवस्थित घाट बनाएर फोहोर गाड्ने चलन बसाल्दा राम्रो हुने थियो,’ उनले भने । यहाँका धार्मिक क्षेत्र, सँस्कृति र कालीगण्डकीमा मात्र पाइने शालीग्रामले पर्यटकलाई आकर्षण गर्न सक्ने शोधार्थी प्रकाश थापाको भनाइ छ । ‘कालीगण्डकी नदी बेसीनलाई मात्र संरक्षण गर्दा गण्डकी प्रदेश समृद्ध बन्नसक्छ,’ उनले भने ।
संरक्षण अभियान सुरु
नदी प्रदूषण र दोहन तथा कला र संस्कृति हराउन थालेपछि संरक्षण अभियान थालिएको छ । यो अभियानमा कालीगण्डकी आसपासका सबै जातजाति, धर्म र संस्कृतिको संरक्षणमा जोड दिइएको छ । राज्य तहको अगुवाइ नभएसम्म जनस्तरबाट गरिने कामले मात्र पूर्णता नपाउने संरक्षणकर्मी कँडेलले बताए । ‘सरकारसँग अधिकारसम्पन्न कालीगण्डकी सभ्यता संरक्षण प्राधिकरण गठन गर्न माग गरेका छौं,’ उनले भने, ‘राज्यले अपनत्व लिएन भने दशकपछि नदी सभ्यता लोप हुनेछ ।’ कालीगण्डकी नदी धार्मिक पर्यटनका लागि नेपालकै उत्कृष्ट गन्तव्य भएको उनले बताए ।
‘त्रिवेणीधामदेखि दामोदरकुण्डसम्मका सयौं धार्मिक मठमन्दिर, ढुंगामाटो र आकृतिले समेत पर्यटक लोभ्याउँछन्,’ जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख भूपेन्द्र केसीले भने, ‘स्थानीय तहले पहल गरे पनि सानो बजेट र एकल अभ्यासले अभियान सफल बन्दैन ।’ मुहानदेखि संरक्षणको अभियान सुरु गरियो भने मात्र सभ्यता बच्ने उनले बताए । कालीगण्डकी नदीको बालुवा बेचेर भन्दा संरक्षण गरेर पर्यटक भित्र्याउँदा १० गुणा आम्दानी हुने उनको अनुमान छ । गत महिना बागलुङमा निर्माण गरिएको शालीग्राम संग्राहलयले सभ्यताको सानो झलक देखाएको छ । नदी कुरुप बन्दै गएकोले रोदन देखाउने गरी अभियान र संग्रहालय व्यवस्थापन समितिले वृत्तचित्र बनाउन थालेको छ ।
त्रिदेश जोड्न कालीगण्डकी करिडोर
कालीगण्डकी करिडोर निर्माणले भारतका हिन्दूलाई मुक्तिनाथ र चीनका बौद्धमार्गीलाई लुम्बिनी लैजान सक्ने बाटो खुलेको छ । ट्र्याक खोलेर विस्तार गरिएको यो सडक कालोपत्रे भए पर्यटक आउन सहज हुने जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले बताए । करिडोरको बागलुङ र गुल्मी खण्डमा नेपाली सेनाले ट्र्याक खोलेको छ । नदी सभ्यता हराएमा छोटो बाटोले मात्र पर्यटक नआउने उनको तर्क छ । कालीगण्डकी नदी डाइभर्सन गरेर बुटवल लैजाने कुरा चलेपछि सभ्यता भत्कने चिन्ता बढेको छ । ‘नदी डाइभर्सनले पानी मात्र सुक्दैन, संसारकै धार्मिक नदीको अस्तित्व लोप हुन्छ,’ देवघाटधामका पीठाधिश्वर ज्ञानानन्द सरस्वतीले भने, ‘कालीगण्डकीले महत्वपूर्ण बनेको देवघाटको अस्तित्व लोप हुँदा वर्षेनि लाखौं पर्यटकको गन्तव्य पनि खोसिन्छ ।’
कालीगण्डकी नदी किनारमा मात्रै १० लाख मानिस बस्ने प्रारम्भिक अध्ययन छ । गुल्मीका संरक्षणकर्मी टीकाराम ढकालका अनुसार यो क्षेत्रमा बाहुन, क्षत्री, मगर, दलित, माझी, गुरुङ लगायत जातजातिको बसोबास छ । वर्षेनि लाखौं मेट्रिक टन कृषि उत्पादन हुने फाँटहरू कालीगण्डकी नदीले बनाएको छ । कालीगण्डकीको सिँचाइ सुविधाले यस क्षेत्रलाई अन्नभण्डार बनाएको ढकालको भनाइ छ । ‘कालीगण्डकी संकटमा परे सबै क्षेत्रमा असर पुग्छ,’ उनले भने ।
बागलुङले थाल्यो संरक्षण अभियान
कालीगण्डकी सभ्यता जोगाउने र बजार क्षेत्र सफा गर्ने भन्दै बागलुङ नगरपालिकाले व्यवस्थित ढल निकासको काम गर्ने भएको छ । नगरपालिकाको अगुवाइमा काठमाडौंको एसडी इन्जिनियरिङ कन्सल्टेन्सीले फोहोर व्यवस्थापनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएको छ । मुख्य बजारको दैनिक उत्पादन हुने फोहोरलाई दुईटा ‘ट्रिटमेन्ट प्लान’ मार्फत जैविक मल बनाउने योजना रहेको नगरप्रमुख जनकराज पौडेलले बताए । यो मल प्याकेटमा विक्री गर्न सकिने गरी डिजाइन गरिएकोले बजेट व्यवस्थापन गरेर निर्माणको काम थालिनेछ । सेफ्टी ट्यांकी सफाइको नाउँमा समेत नदीमा लगेर फोहोर फाल्ने चलन हटाउन यो तयारी थालिएको उनले बताए ।
कुस्मा नगरपालिकाले कुहिने र नकुहिने फोहोर संकलन अभियान थालेको नगरप्रमुख रामचन्द्र जोशीले बताए । कुहिनेबाट कम्पोष्ट मल बनाउने र नकुहिने फोहोरबाट अन्य सामग्री बनाउन सकिने उद्योग सञ्चालनका लागि पहल भइरहेको उनले जानकारी दिए ।कान्तिपुर दैनिकमा प्रकाश बरालले समाचार लेखेका छन ।