संसद सचिवालयमा ‘दिगो विकास स्रोत केन्द्र’

काठमाडाैं /संघीय संसद सचिवालय राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले संघीय संसद सचिवालयमा ‘दिगो विकास स्रोत केन्द्र’ स्थापना गरेको छ।
दिगो विकास केन्द्रको आइतबार राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उद्घाटन गरेका थिए।
दिगो विकास केन्द्रको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच एकीकृत योजना नबनेसम्म दिगो विकासका लक्ष्य हासिल गर्न कठिन हुने बताएका थिए। स्थानीय तहमा धेरै बजेट गएको अवस्थामा दिगो विकासको लक्ष्य प्राप्तिका लागि सबै स्थानियतहमा युनिट श्रृजना गरी त्यहाँका विकास योजनालाई दिगो विकासको लक्ष्यसँग केन्द्रीत गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए। तिमिल्सिनाले संघीय संसदमा समिति अन्तर्गत रहेको दिगो विकास स्रोत केन्द्रले दिगो विकासका लक्ष्य प्राप्तिका लागि भइरहेका कार्यको जानकारी गराउनुकासाथै स्रोतहरूको एकीकरण तथा आवश्यक परामर्शका लागि उपयोगी हुने विश्वास व्यक्त गरेका थिए।
समिति सभापति तारादेवी भट्टले सरकारले अख्तियार गरेको सन्तुलित दिगो विकास तथा सुशासन प्रबर्धन गर्ने सन्दर्भमा स्रोत केन्द्रले ठुलो योगदान पुर्याउने बताइन्। दिगो विकास लक्ष्य हासिल गर्नका लागि सरकारलाई सहयोग युर्याउने उद्देश्यका साथ स्थापना गरिएको दिगो विकास स्रोत केन्द्र (एसडिजी रिसोर्स कर्नर) मा दिगो विकासका १७ वटा लक्ष्यलाई समेट्ने गरी इन्फोग्राफिक्सको माध्यमबाट तथ्याङ्क राखिएको छ। दिगो विकासमा विश्वभर भइरहेका कम झल्काउने जानकारी पनि केन्द्रमा राखिएको छ। समग्र रूपमा दिगो विकासको बारेमा जान्न, बुझ्न र अध्ययन गर्न चाहनेका लागि पहुँच हुने केन्द्रको रूपमा दिगो विकास स्रोत केन्द्र स्थापना गरिएको समितिले जनाएको छ।