आठ मन्त्री बाहिरीने, आठैजना नयाँ थपिने ( सुची सहित)

मन्त्रीपरिषद हेरफेर एक दिन लम्बिएसँगै विदा हुने मन्त्री पनि थपिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले तयार गरेको पछिल्लो सूची अनुसार भौतिक योजनामन्त्री रघुवीर महासेठ पनि बाहिरने भएका छन्।
बुधबार नेकपाको सचिवालयले अनुमोदन गरेको मन्त्रीपरिषद हेरफेरको अन्तिम सूची अनुसार पूर्व एमालेतर्फका मन्त्रीहरू रघुवीर महासेठ, थममाया थापा, लालबाबु पण्डित, गोकर्ण विष्ट र राज्यमन्त्री धनबहादुर बुढा बाहिरिने छन्। त्यस्तै पूर्व माओवादी तर्फका मातृका यादव र चक्रपाणि खनाल तथा राज्यमन्त्री रामकुमारी चौधरी बाहिरिने छन्।
यसरी जम्मा ६ जना मन्त्री र दुई जना राज्यमन्त्री बिदा हुने अन्तिम सूचीमा छन्।
उनीहरूको ठाउँमा प्रधानमन्त्री ओलीले पूर्व एमालेबाट घनश्याम भुसाल, हृदयश त्रिपाठी, बसन्त नेम्वाङ, महेश बस्नेत, मोती दुगड र बिमला राई पौडेललाई मन्त्री नियुक्त गर्दैछन्। त्यस्तै पूर्व माओवादीबाट मन्त्री बन्नेमा लेखराज भट्ट र रामेश्वर रायको नाम टुंगो लागेको नेकपाको उच्च स्रोतले पुष्टी गरेको छ।
प्रधानमन्त्री ओलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत मन्त्रीपरिषद फेरबदलको यो सूचीबारे जानकारी गराएका छन्।
पूर्व एमालेबाट सुरेन्द्र पाण्डे र माओवादीबाट पम्फा भुसाल पनि मन्त्री बन्ने संभावना भने यथावत रहेको स्रोतले जनाएको छ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नयाँ मन्त्रीहरूको सपथ भोली बिहीबार हुनेछ।