पर्वतको फलेबास मुडिकुवामा नहर भासिँदा गाउँ जोखिममा

पर्वत/ सिँचाइ नहर भासिँदा फलेबासको एउटा गाउँ जोखिममा परेको छ । गाउँमा सिँचाइ सुविधा पुर्याउन ४ वर्षअघि निर्माण भएको मुडिकुवा सिँचाइ आयोजनाको नहर भासिएपछि फलेबास–४ मुडिकुवाको घिमिरे र गौंडेलटोलको बस्ती जोखिममा पर्नुका साथै खेतीयोग्य जमिनसमेत क्षती भएको हो ।
तत्कालीन सिँचाइ विकास सव–डिभिजन कार्यालयले उपभोक्ता समिति र बिभिन्न निर्माण व्यवसायीमार्फत निर्माण गरेको मल्याङ्दीखोला सिँचाइ नहर घना बस्तीको बीचमा भासिएको हो । गत साउनमा नहरको केही भाग भासिएपछि स्थानीय भीम घिमिरे, देवीप्रसाद घिमिरे, हेम शर्मा घिमिरे, अरुण तिवारी, रामचन्द्र घिमिरेलगायतका करिव दुई दर्जन घर जोखिममा परेका हुन् । आरसिसी ढलान गरिएको नहरको पानी चुहिन थालेको र बिस्तारै भासिने क्रम सुरु भएको स्थानीयले बताएका छन् ।
‘सुरुमा तलपट्टि पानी चुहिएको देखियो,’ भीम घिमिरेले भने, ‘पछि बिस्तारै जमिन भासिन थाल्यो । अहिले त घरसम्मै चर्किएको छ ।’ आफ्नो घर अगाडिको शौचालय, करेसाबारी, आँगनको डिल हुँदै पिंढीसम्मको भाग धसिएपछि घरमा बस्नसमेत जोखिम भएको उनले बताए । भासिने क्रम बढ्दै गए छिमेकीका अरू घरमा समेत क्षति पुग्ने उनले बताए । जमिन भासिएपछि शौचालय र घरमा केही क्षतिसमेत पुगेको घिमिरेले बताए । उनको करिब एक रोपनी करेसाबारी र अरू खेतीयोग्य जमिनसमेतमा क्षति पुगेको छ । त्यसबाहेक आसपासको अरू खेतमा समेत क्षति पुगेको स्थानीयले बताए ।
नहरमा दुई सातायता पानी सञ्चालन गरिएको छैन । धान काट्ने सिजन भएकाले पानी रोकिएपछि भासिने क्रम अरू बढ्न नपाएको स्थानीयले बताएका छन् । ‘अब धान काटिसकेपछि हिउँदे खेतीको सिजनमा पानी चलाउनुपर्छ,’ देवीप्रसाद घिमिरेले भने, ‘पानी चल्यो कि भासिन थालिहाल्छ । कसरी जोगाउने ? उपाय हामीसँग छैन ।’
जमिन भासिएकोबारे नहर उपभोक्ता समितिका तत्कालीन अध्यक्ष कृष्ण गौंडेल, वर्तमान अध्यक्ष पुनाखर गौंडेल, वडाध्यक्ष, नगरपालिका लगायतमा जानकारी गराए पनि संरक्षणको पहल नभएको पीडितको गुनासो छ । ‘उतिबेलै हामीले गुणस्तरीय काम नभएको गुनासो गरेका थियौं,’ रामचन्द्र घिमिरेले भने ।
नहरसहित भासिएको जमिन संरक्षण र नहरको मर्मतका लागि पहल भइरहेको उपभोक्ता समितिका अध्यक्ष पुनाखर गौंडेलले बताए । ‘केही भाग भासिएको हो,’ उनले भने, ‘अब पुरेर नहर मर्मत गर्ने हो ।’
नहरको पानी चुहिएका कारण आसपासको केही जमिन भासिएको उनले बताए ।कान्तिपुर दैनिकले समाचार छापेको छ ।