एउटै बोकाको मुल्य करिब ३ लाख

म्याग्दी/ एउटै बोकाको मुल्य करिब ३ लाख परेको सुन्दा अचम्म लाग्न सक्छ । तर यहाँका एक कृषकले एउटै बोकालाई रु २ लाख ९० हजारमा बिक्री गरेका छन् । बेनी नगरपालिका–९ तोरीपानीमा विगत ६ बर्षदेखि व्यवसायिक रुपमा उन्नत जातको बाख्रापालन गर्दै आएका कृषक आनन्द रिजालले शुद्ध बोयर बोका एउटैलाई सो मुल्यमा बिक्रि गरेको बताए । रिजालले सञ्चालन गरेको धवलागिरी बोयर मोडल फार्मबाट स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका त्रिभुवन पौडेलले ८० किलोको बोयर बोका खरिद गरेका हुन् । पौडेलले शुद्ध बोयर भएकाले आफुले करिब ३ लाख खर्चिएर बोका खरिद गरेको बताए । रिजालको फार्ममा अहिले ७ वटा शुद्ध बोयर र २५ वटा क्रस बोयर जातका बाख्रा रहेका छन् । स्थानीय जातका बाख्रामा नश्ल सुधारको लागि रिजालले अस्ट्रेलियाबाट उत्नत जातको बाख्रा आयात गरि ल्याएका थिए । विगत ५ बर्षदेखि व्यवासायिक बा्रखापालन गर्दै आएका कृषक रिजालले स्थानीय जातका बाख्रामा नश्ल सुधार गरि उन्नत बाख्रा उत्पादन गर्न थालेका हुन् । नश्ल सुधार गरि बोयर बाख्रा उत्पादन गरि प्रतिगोटा १ लाखदेखि २ लाख सम्ममा पाठापाठी र बोका बिक्री गर्दै आएको कृषक रिजालले बताए । उनले अहिले बोयर बोका र पाठीको माग अत्यधिक रहेको र माग पुर्याउन कठिन भएको जानकारी दिए । थोरै समयमा धेरै तौल बढ्ने बोयर जातको बाख्रा पालनमा कृषकहरु आकर्षित भएका छन् । छिटो तौल बढ्ने, मासु लाभदायी हुने र आम्दानी राम्रो हुने भएपछि पछिल्लो समय कृषकहरु बोयर बाख्रापालनतर्फ आकर्षित भएका हुन् । सामान्यतया ६ महिनासम्म पालेको बोयर बाख्रा ३० किलोबढीको हुने गर्छ । कृषकहरुले एउटै बोकालाई ८० किलोभन्दा बढी तौलसम्म बनाएर बिक्री गर्दै आएका छन् । सन १९०० को पहिलो दशकमा दक्षिण अफ्रिकामा विकास भएको बोयर जातको बाख्रा छिटो शारीरीक वृद्धी, तौल उच्च, अन्य जातका बाख्राको तुलनामा रोग प्रतिरोधात्मक क्षमत्ता बढी भएको र स्थानीय हावापानी अनुकुल भएकाले नेपालमा ब्यवसायीक कृषकहरुको बोयर जातका बाख्रा पालनतर्फ आकर्षण बढेको पाईएको छ ।ढोरपाटन दैनिकबाट