पर्वतको उच्चभाग हम्पालमा एकै दिन चार सय आन्तरिक पर्यटक

पर्वत/ जलजला र मोदी गाउँपालिकाको संगममा पर्ने पर्वतको सबैभन्दा उच्च भाग जलजलाको हम्पालमा एकैदिन चार सय आन्तरिक पर्यटकले अवलोकन गरेका छन् । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधिसभा सदस्य पदम गिरी, प्रदेशमन्त्री विकास लम्सालसहित एकैदिन झण्डै चार सय आन्तरिक पर्यटक हम्पाल पुगेका हुन ।
धार्मिक र पर्यटकीय महत्व बोकेको हम्पालको लेकको सिमसार क्षेत्रको विकासको योजनालाई सामुहिक छलफल गरी निष्कर्षमा पु¥याउन बिहिबार उच्चस्तरीय भ्रमण भएको हो । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना, प्रतिनिधिसभा सदस्य पदम गिरी , गण्डकी प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री लम्साल रसहितका नेताहरुले जलजला क्षेत्रको समग्र विकासका लागि यस बर्षदेखि काम शुरु गर्ने प्रतिवद्धता जनाए ।

जलजला गाउँपालिका र मोदी गाउँपालिकाको संगमस्थल मानिने जलजलाको सिमसार क्षेत्रको विकास दुवै गाउँपालिका र समग्र पर्वतकै आर्थिक समृद्धिको सूचक भएकोले दुवै गाउँपालिकाको सामुहिक सक्रियता आवस्यक रहेको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले वताए ।
‘म पहिलोपटक यस क्षेत्रमा आएँ यो संसारकै रमणीय र आकर्षक भुगोल रहेछ यसको वृहत्तर विकासका लागि आस्था र विचारभन्दा माथि उठेर काम गरौं, यो पर्वतको गौरव हो’ उनले भने । त्यसैगरि प्रतिनिधिसभा सदस्य गिरीले केन्द्र सरकार र पर्यटन बोर्डबाट रकम विनियोजन गर्न आफू पूर्ण प्रतिवद्धताका साथ लाग्ने वताए ।
सामुन्द्रिक सतहदेखि तीन हजार तीन सय मिटर उचाईमा रहेको यो क्षेत्रमा एक हजार दुई सय मिटरको ताल निर्माण, निलकण्ठेश्वर महादेवको मन्दिरको पुर्ननिर्माण, पदमार्ग, सडक, केवलकार, आकर्षक रिसोर्टहरु सञ्चालन गर्नेगरी यसैबर्ष डिपिआर पुरा गर्ने गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा बाताबरण मन्त्री विकास लम्सालले प्रतिबद्धता जनाए । ‘चालु बर्षमै हम्पालको विकासको लागि डिपिआर तयार हुन्छ’ लम्सालले भने–‘सबैले आ–आफ्नो तर्फबाट योगदान गरौं, जलजला विकासको ‘ड्रिम प्रोजेक्ट’ सफल हुन्छ यो पर्वत जिल्लाको आर्थिक समृद्धको सूचक हो ।’
जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले तीन हजार तीनसय मिटर उचाईमा रहेको यो क्षेत्रमा ताल निर्माण सहित अन्य भौतिक पूर्वाधारहरु निर्माण गर्न सकेमा विश्वका पर्यटकको ध्यान तान्न सकिने दावी गरे । ‘खासगरी यति उच्च भेगमा एक हजार दुई सय मिटर ठुलो ताल बनाउन सकेमा यहाँ बिश्वभरका पर्यटकको ध्यान तानिनेछ, र पर्वत पर्यटनको हव बन्नेछ’ अध्यक्ष मल्लले भने । उनले जलजला गाउँपालिकामा आफु निर्वाचित भएपछि जलजलाको हम्पाल क्षेत्रको विकासमा आफुले पहल गर्दै आएको पनि जानकारी दिए ।

मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले दुई गाउँपालिकाको संगमस्थलमा रहेको जलजला क्षेत्रको विकास सिंगो पर्वतको भाग्य र भविश्यसँग जोडिएकोले आफुहरु पूर्ण प्रतिवद्धताका साथ यसको विकासका लागि लाग्ने दावी गरे । विहादी गाउँपालिकाका अध्यक्ष कमल भुसालले समेत यस आकर्षक ठाउँ आफूले अहिलेसम्म नदेखेको वताए ।
हम्पाल क्षेत्र उच्च लेक भएपनि त्यहाँ बाह्रैमहिना पानी बगिरहन्छ । त्यही पानीलाई उपयोग गरी विशाल ताल बनाउने योजना जलजला गाउँपालिकाले अघि सारेको छ । जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले हम्पाल क्षेत्रको विकासले जलजला मात्रै नभई पर्वत जिल्लाकै भबिष्यसँग जोडिएको बताइन ।

‘जलजला गाउँपालिकाले अगाडी सारेको योजना पुरा गर्न सकेमा संसारभरका पर्यटक हम्पाल पुग्नेछन्’ उनले भनिन् । हम्पाल जानका लागि जलजला गाउँपालिकाको मिलनचोक हुँदै शालिजाको तारेसम्म गाडीमा र त्यसपछि तीन घण्टा पैदल हिँड्नुपर्छ । मोदी गाउँपालिकाको क्याङबाट पनि हम्पाल पुग्न सकिन्छ । जलजलाको हम्पालवाट धौलागिरि, अन्नपूर्ण, निलगिरि, गुर्जा, पुथा, माछापुच्छ्रे, मनास्लु लगायत १६ भन्दा बढी हिमाल अवलोकन गर्न सकिन्छ ।
त्यस्तै पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ, लमजुङ जिल्लाको अवलोकन गर्न सकिन्छ । जलजलाको हम्पाल क्षेत्रमा निरमसी, पाँचऔलो सतुवा लगायत बहुमूल्य जडिवुटीहरु प्रशस्त पाईन्छ । जलजला क्षेत्रको जंगलमा मृग, घोरल, चितुवा, भालु, डाँफे, मुनाल, कालीज लगायत पशुपंक्षी समेत पाइन्छ । नागरिक दैनिकले समाचार छापेको छ ।