पर्वतको जलजला क्षेत्रलाई प्रमुख पर्यटकीय स्थल बनाउँछौ – अध्यक्ष तिमिल्सिना

पर्वत / समुन्द्री सतहवाट ३ हजार ३ सय मिटरको उचाईमा रहेको शुन्दर र मनोरम स्थल जलजलालाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
पर्वतको जलजला र मोदी गाउँपालिकामा अवस्थित हम्पाल लेकमा रहेको जलजला क्षेत्रको विकासका लागि हालै भएको उच्चस्तरीय भ्रमण टोलीलाई पर्वतको मोदी गाउँपालिका वडा नं. ४ लेस्पारमा आयोजित सम्मान कार्यक्रममा बोल्दै तिमिल्सिनाले जलजला नेपालकै उत्कृष्ट गन्तव्य स्थल बन्न सक्ने सम्भावना बोकेको ठाउँ भएकाले यसै वर्षदेखि यसको काम अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले तीनै तहका सरकारको पहलमा जलजलामा पूर्वाधार निर्माणको काम शुरु हुने आश्वासन पनि दिनुभयो ।

यस वर्ष बिस्तृत परियोजना सर्भेक्षण (डिपीआर)को काम पुरा गरिने बताउँदै आगामी पाँच वर्ष भित्रमा अन्य संरचनाहरु समेत निर्माण हुने बताउनुभयो ।


अध्यक्ष तिमिल्सिनाले जलजलामा जल, जडिवुटी, जंगली जनावर, पशुपंक्षी लगायत थुप्रै आकर्षणहरु रहेको बताउँदै यहाँ भौतिक पूर्वाधारको विकास र उचित प्रचार प्रसार गर्न सके हजारौ पर्यटकको आवागमन हुने बताउनुभयो । तिमल्सिनाले हम्पालको लेख आसपासका बस्तीहरुलाई आफु तत्कालीन जिल्ला विकास समितिको सभापति हुने बेलादेखिनै मुख्य प्राथमिकतामा राखेर विकास निर्माणका कामहरु गर्दै आएको बताउनुभयो ।


सो अवसरमा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्यटनको लागि जलजला क्षेत्रमा प्रचुर सम्भावना भएकोले तत्काल त्यहाँको विकासका लागि काम शुरु गर्ने बताउनुभयो । उहाँले शुरुवातमा उक्त क्षेत्रको डिपीआर तयार गर्ने बताउँदै त्यस क्षेत्रको लागि बजेट अभाव नहुने बताउनुभयो । जलजलामा आन्तरिक सँगै बाह्य पर्यटकको आवागमन बढ्दै गएकाले आसपासका क्षेत्रमा रहेका होम स्टेहरुलाई प्रभावकारी बनाउन उहाँले सुझाव समेत दिनुभयो । गण्डकी प्रदेशमा २ सय ७४ वटा होम–स्टे संचालनमा रहेको बताउँदै अब पर्यटकहरुलाई जुनसुकै क्षेत्रमा जाँदा पनि खान, बस्नको असुविधा नहुने बताउनुभयो ।
मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले पूर्वाधार सँगसँगै गाउँपालिकाले पर्यटन क्षेत्रलाई पनि जोड दिएको बताउँदै जलजलाको विकास र प्रवद्र्धन गर्न सकेमा सिङ्गो गाउँपालिकाकै समृद्धि हुनेमा जोड दिनुभयो । उहाँले पर्यटन र संस्कृतिको विकासमा सवै तहका सरकारसँग साझेदारी गर्न तयार रहेको बताउनुभयो ।


कार्यक्रममा मोदी–४ का अध्यक्ष मनकुमार पुनले पर्यटकीय गाउँ लेस्पारसम्म जाने सडक कालोपत्रे गर्नका लागि आवश्यक बजेटको व्यवस्थापनमा पहल गरिदिन माग गर्नुभयो ।
सो अवसरमा स्थानीयले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल, विहादी गाउँपालिकाका अध्यक्ष कम भुसाललाई मगर संस्कृतिमा प्रचलित भाङ्ग्रा लगाएर सम्मान गरेका थिए । कार्यक्रममा लेस्पार सामुदायिक होम–स्टेको ब्रोसर समेत बिमोचन गरिएको थियो ।
जलजलावाट धौलागिरि, अन्नपूर्ण, निलगिरि, गुर्जा, पुथा, माछापुच्छ्रे, मनास्लु लगायत १६ भन्दा बढी हिमाल, पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ, लमजुङ जिल्लाको अवलोकन गर्न सकिन्छ ।
निरमसी, पाँचऔलो सतुवा लगायत बहुमूल्य जडिवुटीहरु प्रशस्त पाईने जलजला क्षेत्रको जंगलमा मृग, घोरल, चितुवा, भालु, डाँफे, मुनाल, कालीज लगायत पशुपंक्षीको बसोबास छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’