बिद्या भट्टराई मतदाताका बिचमा जाँदै- चुनाबमा कास्कीकी छोरी बनेर आएकी छु

पोखरा । विद्या भट्टराईलाई कास्की क्षेत्र नम्बर २ को एकल उम्मेदवार सिफारिस गर्नुअघि नेकपा कास्कीको बैठकमा केही आवाज उठेको थियो, ‘संवेदनालाई मात्रै नहेरौं ।’
बाहिर पनि हेलिकप्टर दुर्घटनामा निधन भएका रवीन्द्र अधिकारीकी पत्नी विद्यालाई उम्मेदवार बनाउने नेकपाले संवेदनाको राजनीति गर्यो भन्ने गाइगुईं चल्यो ।
उपचुनावको तयारीका लागि सोमबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्कीको बैठकमा विद्याले आफूमाथि उठेका प्रश्नहरुमाथि संकेतमात्रै गरिनन्, पार्टीको प्रतिष्ठा बढाउने र निरन्तर सक्रिय राजनीति गर्ने प्रतिवद्धता पनि जनाइन् ।
‘म उम्मेदवारका रुपमा खडा भइरहँदा केही प्रश्न उठेका छन् । ती प्रश्नको जवाफ दिने गरी पार्टीले, तपाईहरुले उम्मेदवारका रुपमा उभ्याउनुभएको छ,’ सोमबार जिल्ला बैठकलाई सम्बोधन गर्दै विद्याले भनिन्, ‘मैले कुनै पनि हिसाबले कमी नहुने गरी पार्टीको प्रतिष्ठालाई कायम राख्दै चुनावी अभियानमा होमिनेछु ।’
विगतमा काठमाडौंकी छोरीका रुपमा राजनीति गरेको भएपनि अब कास्कीकी छोरीका रुपमा उम्मेदवार बनेको उनले बताइन् ।
उनले विगतमा राजनीतिबाट किन टाढा भएको भनेर उठाइएको प्रश्नको पनि जवाफ दिइन् । ‘मैले हिजो किन राजनीति छोडेँ भन्ने प्रश्न छ, यसमा विवाहपछि महिलाको फरक जिम्मेवारी अवश्य हुन्छ । त्यसको जिम्मेवारीमा म पनि परेँँ र परिवारलाई सम्हाल्नका निम्ति पनि म सक्रिय राजनीतिबाट पछि हटेकी हुँ,’ विद्याले कास्कीका नेकपा नेता कार्यकर्ताबीच प्रतिवद्धता जनाइन्, ‘तर, मैले राजनीति छोडेकी होइन । पार्टीले दिएको जिम्मेवारीलाई न्याय अवश्य पुर्याउने छु ।’
प्राध्यापन पेशामा रहँदा पनि कुनै न कुनै हिसाबले पार्टीलाई सहयोग गर्दै आएको उनले बताइन् ।
हिजो एउटा पत्नीको रुपमा रवीन्द्रलाई सहयोग गरेको बताउँदै विद्याले अब पार्टीको विचार र सिद्धान्तलाई शिरोपर गर्ने बताइन् । ‘मैले जसरी एउटी पत्नीका रुपमा रवीन्द्रलाई सहयोग गरेँ । रवीन्द्रको व्यक्तित्व निर्माणमा मेरो पनि महत्वपूर्ण भूमिका छ भनेर नै पार्टीले मेरो योगदानलाई चिनेरै मलाई उम्मेदवारका रुपमा उपयुक्त ठानेको होला भन्ने मलाई लाग्छ,’ विद्याले भनिन्, ‘यस हिसाबले म पार्टीको विचार, सिद्धान्तलाई शिरोपर गर्दै फेरि सक्रिय राजनीतिमा आएकी छु ।’
सोमबारको बैठकपछि भोलि मंगलबार पत्रकार सम्मेलन गरेर चुनावी तयारी र नेकपाका एजेण्डा सार्वजनिक गर्ने तयारी थालिएको नेताहरुले बताएका छन् । यद्यपि पत्रकार सम्मेलनमा उम्मेदवार विद्या आफैं भने सहभागी हुने छैनन् । जिल्ला कमिटीको बैठकमा सहभागी हुन सोमबारै पोखरा आएकी विद्या विशेष काम रहेको बताउँदै काठमाडौं नै फर्किएकी छन् । काठमाडौंको काम सकेर चुनावी प्रचारको अभियानमा होमिने उनले बताइकी छन् ।
साम, दाम प्रयोग गरेर पनि चुनाव जित्नुपर्छ : नेकपा नेता
रवीन्द्र पत्नी विद्यालाई चुनावी मैदानमा उतारेको नेकपा आफ्नो पक्षमा परीणाम आउनेमा ढुक्क छ । यसअघि रवीन्द्र झण्डै ८ हजार मतान्तरले विजयी भएको क्षेत्रमा उनकै पत्नी उम्मेदवार बन्दा अझ ठूलो मतान्तर हुने उसको विश्वास छ ।
तर, सोमबारको बैठकमा नेकपाका प्रदेशका नेताहरुले साम, दाम प्रयोग गरेर भए पनि चुनाव जित्नै पर्ने भएकाले एक भएर मैदानमा उत्रन निर्देशन दिएका छन् ।
प्रदेश सहइन्जार्ज खगराज अधिकारीले सामदाम दण्ड भेद सबै लगाएर निर्वाचन जित्ने गरी तयारी जुट्न जिल्ला तहका नेता तथा कार्यकर्तालाई आग्रह गरे । नेकपामाथि विभिन्न ठाउँबाट प्रहार भइरहेको र चुनावमा अझै बढी चलखेल हुनसक्ने भन्दै उनले सचेत भएका गोलबद्ध हुने निर्देशन दिएका छन् ।
प्रदेश कमिटी अध्यक्ष हितराज पाण्डेले कुनै पूर्वाग्रह र अन्तरविरोधलाई बिर्सिएर चुनावमा नेकपालाई जिताउन लाग्नुपर्ने बताए । देशकै एकमात्र प्रतिनिधि सभाको निर्वाचन हुने क्षेत्र पनि भएकाले नेकपाले कुनै पनि हालतमा यो सिट सुरक्षित गर्नुपर्ने पाण्डेको भनाइ छ । अनावश्यक सरकारको आलोचना भइरहेका बेला यो क्षेत्रको निर्वाचन अर्थपूर्ण हुने पाण्डेले बताए ।
कास्की जिल्ला इन्जार्च राजकाजी गुरुङ ‘करण’ले प्रतिनिधिसभा सदस्यका लागि उपचुनाव हुन लागेको एक मात्र क्षेत्र भएकाले नेकपा एक भएर देखाउनुपर्ने बताए । करण उम्मेदवारमा आकांक्षी समेत थिए । आकांक्षा जे भएपनि उम्मेदवारको टुंगो लागिसकेपछि मिल्नुको विकल्प नभएको उनको भनाइ थियो ।
राजकाजी नै चुनावी कमाण्डर
विद्या भट्टराईलाई जिताउन र चुनावी अभियान सफल बनाउने २७ वटा उपसमिति गठन भएको छ । चुनाव जिताउने कमाण्डको नेतृत्व राजकाजी गुरुङ करणलाई जिम्मा दिइएको छ । करणको नेतृत्वमा निर्वाचन मूल कमाण्ड समिति गठन भएको हो । निर्वाचन अनुगमन तथा निर्देशन पार्टीले तोकेको व्यक्ति हुनेछन् ।
समितिले सोमबारबाटै काम थालिसकेका छन् । नेकपा कास्की जिल्ला अध्यक्ष कृष्णबहादुर थापाको नेतृत्वमा २ हजार ६ सय ५१ जना सदस्य रहेको निर्वाचन परिचालन समिति गठन भएको छ । अन्य उपसमितिमा ५१ जना सदस्य रहनेछन् ।
उपनिर्वाचनका लागि २१ गते मनोनयन दर्ता हुँदैछ भने मतदान मंसिर १४ मा हुनेछ ।