गण्डकी प्रदेश समृद्धिको आधार पर्यटन – मन्त्री लम्साल

पर्वत/ गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटन भएकाले पर्यटन प्रवद्र्धनका लागि सबैको सहयोग र समन्वय आवश्यक रहेको बताउनुभएको छ । ग्रामिण क्षेत्रमा पर्यटकलाई सहज रुपमा जान आउन सक्ने बनाउनका लागि ग्रामिण पूर्वाधारको विकासमा सरकारले जोड दिएको उहाँले जानकारी दिनुभयो ।
पर्वतको कुश्मास्थित ग्रामिण सचेतन वचत तथा ऋण सहकारीको २२ औं वार्षिक साधारणसभाको शनिवार उद्घाटन पछि बोल्दै उहाँले पर्यटन क्षेत्रको विकासका लागि राज्य, निजी क्षेत्र र सहकारी क्षेत्रको संयोजनकारी भूमिकामा जोड दिनुभयो ।
राज्यले अंगिकार गरेको तीन खम्बे अर्थनीति अनुसार सहकारी क्षेत्रले पछिल्लो समय जनतालाई पूँजि निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, तर अब वचत परिचालनसंगै पर्यटन प्रवद्र्धन, उर्जा, विषाधिरहित कृषि र उद्योग लगायतका क्षेत्रमा लगानी गर्नु पर्दछ, मन्त्री लम्सालले भन्नुभयो ।
गण्डकी प्रदेश सरकारले २ सय ७४ वटा सामुदायिक होमस्टे सञ्चालनमा सहयोग गरेको जानकारी गराउदै उहाँले सहकारी र स्थानीय तह मिलेर होमस्टेमा आउने बाह्य तथा आन्तरिक पर्यटकहरुको आकर्षण हुने स्थानीय उत्पादनहरु विक्री गर्ने वातावरण बनाउनु पर्नेमा उहाँको जोड थियो ।
सहकारी माध्यमबाट समाज रुपान्तरणको प्रशस्त संभावना रहेको चर्चा गर्दै उहाँले विपन्न वर्गका जनताको आर्थिक अवस्था सुधारका कार्यक्रम सहित उत्पादन, प्रशोधन र बजारीकरणका क्षेत्रमा थप सक्रियताका साथ लाग्न सहकारीकर्मीहरुलाई उहाँले आग्रह गर्नु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बि. पौडेलले सहकारीलाई गरिवी निवारणको महत्वपूर्ण माध्यमका रुपमा विकास गर्न जरुरी रहेको बताउनुभयो ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीले जनतासंग भएको श्रम, सीप र पूँजिलाई परिचालन गरी अधिकतम आयआर्जन गर्न सिकाउने माध्यम भएको बताउनु भयो । आयआर्जन गर्न, वचत गर्न, व्यवसाय वृद्धि गर्न, सामाजिक सद्भाव कायम गर्न, सांस्कृतिक रुपान्तरणका लागि सहकारीको योगदान प्रभावकारी रहेको भन्दै उहाँले स्थानीय स्रोतको अधिकतम उपयोगका लागि जनतालाई सचेतना प्रदान गर्ने काममा ध्यान दिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा वचत तथा ऋण सहकारी संघका संस्थापक अध्यक्ष गोविन्द पहाडि, वर्तमान अध्यक्ष शेषराज रेग्मी, बहुउद्देश्यीय सहकारी संघ पर्वतका अध्यक्ष इन्द्रमान खत्री, समाजसेवी मेघनाथ सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष देवराज शर्माको अध्यक्षता, उपाध्यक्ष चेतनाथ कुँवरको स्वागत र सचिव विश्वराज पाण्डेयको सञ्चालनमा सम्पन्न भएको थियो ।
१ सय ६६ जना शेयर सदस्य रहेको संस्थामा १ करोड शेयर रकम, १ करोड १७ लाख बचत, १ करोड ९४ लाख कर्जा लगानी रहेको कोषाध्यक्ष ऋषि भुषालले जानकारी दिनुभयो ।
साधारणसभाले देवराज शर्माको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।