पर्वतबाट निर्वाचित सांसद गिरीद्धारा पोखरामा शुभकामना आदान–प्रदान कार्यक्रम

पर्वत । प्रतिनिधि सभामा पर्वतबाट निर्वाचित सांसद पदम गिरीले पोखरामा बसोबास गर्ने पर्वतबासीहरुका लागि शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेका छन । दशैं ,तिहार, छठ नेपालीहरुले मनाउने चाड पर्वलाई लक्षित गरी गिरीले पर्वत घर भएर पनि विभिन्न ब्यवसाय तथा रोजगारीका लागि पोखरामा बस्ने पर्वतबासीहरुका माझमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेका हुन ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले पर्वतबासीले लामो समय पछि युवा र भरोसा योग्य नेतृत्व पाएको भन्दै जनताको विश्वास मर्न नदिने गरी काम गर्न सांसद गिरीलाई आग्रह गरे ।

सभामुख अधिकारीले पर्वतमा विकासको गति जनताले सोचेकै दिसामा अघि बढिरहेको भन्दै जनताले हालेको मत खेर नजाने ठोकुवा गरे । पर्वत क्षेत्र न १ बाट प्रदेश सभामा निर्वाचित सभामुख अधिकारीले पर्वतबासीको मुहारमा मुस्कान ल्याउने गरी आफूले समेत विभिन्न निकायहरुलाईसंग समन्वय गरी विकास निर्माणका कामहरुको सहयोग गरीरहेको बताए ।
कार्यक्रमका आयोजक प्रतिनिधि सभा सदस्य सांसद पदम गिरीले पोखरामा बसोबास गर्ने पर्वतबासीहरुको उल्लाषपूर्ण उपस्थितीले आफूलाई थप जिम्मेवार बनाएको अनुभूति ब्यक्त गरे । पर्वतबासीले दिएको भारी मतको सदुपयोग गर्न आफू दिन रात पर्वतकै विकास निर्माणको काममा लागि परेको बताउँदै केहि बर्षमै त्यसको नतिजा पर्वतबासीले प्राप्त गर्ने दावी गरे ।
पर्वत जिल्लाले राष्ट्रिय सभाको नेतृत्व देखि प्रदेश सभामा सभामुख र मन्त्री समेत पाएको यो अवसरलाई सदुपयोग गर्न सकेको खण्डमा जिल्लाले साच्चिकै मुहार फेर्ने बताउँदै सांसद गिरीले चाडपर्वहरुको अवसरमा सवैलाई शुभकामना समेत ब्यक्त गरे । जिल्लाबासीको सवैभन्दा ठूलो माग सडक पूर्वाधार रहेको भन्दै उक्त कार्यमा आफूहरु जिम्मेवार ढङगले लागिरहेको गिरीले बताए । उनले सडक पूर्वाधारको मात्रै विकास गर्दा पनि गाउँमा अन्य धेरै कुराहरुको विकास हुने भन्दै सडकसंगै खानेपानी, स्वास्थ्य र सिंचाईलाई प्राथमिकतामा राखेर विकास निर्माणका अन्य कामहरुमा आफू जुटिरहेको बताए ।

सांसद गिरीले शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान संघिय सरकार पनि देश र जनताको पक्षको काममा लागि परेको दावी गरे । उनले सम्बृद्ध नेपाल सुखी नेपालीको परिकल्पना साकार बनाउन यो सरकार सफलताको दिसामा अघि बढेको बताए । राष्ट्रिय महत्वका धेरै आयोजनाहरु शुरु हुने दिसामा अघि बढेको बताउँदै केपि ओली नेतृत्वको सरकार इतिहासकै सफल सरकार हुने विश्वास समेत दिलाए ।
नेकपा पर्वतका अध्यक्ष समेत रहेका गिरीले आयोजना गरेको उक्त कार्यक्रममा पर्वत घर भएका पोखराबासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । यस अघि नेकपा पर्वतको तर्फबाट जिल्ला सदरमुकाम कुश्मा बजारमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको थियो ।
निर्वाचनमा मतदान गर्ने तर बसाई पोखरा हुने जनतासंग निरन्तर घुलमिल हुँदै जिल्लाको विकासका विषयमा अन्तरक्रिया समेत होस भनेर यस्तो कार्यक्रमको आयोजना गरिएको सांसद गिरीको भनाई छ । कार्यक्रममा उपस्थित सहभागीहरुले एक आपसमा चाडपर्वहरुको शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रममा पर्वत घर भएका बुद्धिजिवि, ब्यापारी, कर्मचारी र अन्य सर्वधारणहरुको बाक्लो उपस्थिती रहेको थियो ।