कालीगण्डकी प्रसारण लाइन निर्माणमा ढिलाइ-म्याद सकियो, काम सकिएन

म्याग्दी/म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानादेखि पर्वतको खुर्कोट सबस्टेसन जोड्ने कालीगण्डकी करिडोर २२०/१३२/३३/११ केभिए प्रसारण लाइन निर्माणमा ढिलाइ भएको छ । अन्नपूर्णका पोखरेबगर, रातोपानी र धिरच्याङवासीले बस्तीमाथि हाइटेन्सन लाइन बनाउन नहुने भन्दै अवरोध गरेपछि आयोजनाको काम प्रभावित भएको हो । अवरोधपछि आयोजनाको ६ वटा टावर कसरी बनाउने टुंगो लागेको छैन । टावर सार्ने सम्भावनाको प्राविधिक अध्ययन भइरहेको सम्बन्धित पक्षले जनाएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा प्रसारण लाइनको टावरमा तार टाागिँदै । तस्बिर : घनश्याम/कान्तिपुर
कालीगण्डकी करिडोरमा निर्माणाधीन बेनी–जोमसोम सडक र दाना–खुर्कोट–नवलपरासी विद्युत् प्रसारण लाइनबीच ‘राइट अफ वे’ विवादले लामो सयम निर्माण प्रभावित भएको थियो । प्राधिकरणले दाना र खुर्कोट प्रसारण प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि भारतीय कम्पनी टाटा र चिनियाँ कम्पनी चिन्टको संयुक्त टाटाचिन्ट जेभी कम्पनीलाई २ अर्ब ९० करोडमा ठेक्का दिएको थियो । आयोजना र ठेकदारबीच सन् २००१८ नोभेम्बरमा निर्माण सम्पन्न गर्ने गरी ३० मे २०१६ मा सम्झौता भएको थियो । एक वर्ष म्याद थप गर्दा पनि आयोजनाले काम पुरा गर्न नसकेको हो ।
‘नदी बगरको साँघुरो बस्तीमा तल सडकले र आकाशमा उच्च भोल्टेजको बिजुली हाइटेन्सन बनाउँदा बस्ती जोखिममा परेको छ । हामीले प्रसारण लाइन बस्तीको बीचबाट नभई छेउबाट लैजान सुझाएका हौं,’ अन्नपूर्ण–६ पोखरेका खड्ग गिरीले भने, ‘हाइटेन्सनले केही जमिन र केही सडकले काटेपछि पुरै बस्ती उठ्ने त्रासमा छौं ।’ सडक र बिजुली प्रसारण लाइनको असर अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरलाई परेको छ । त्यहाँ तीव्र बजारीकरण भएकाले सरकारी कार्यालय राख्न पनि समस्या भएको छ ।
सर्वाधिक गहिरो र साँघुरो यो गल्छीमा निर्माणाधीन प्रसारण लाइन बस्ती पुरै छल्न असम्भव छ । दाना–खुर्कोटको ४२ किमि खण्डमा ११४ मध्ये विवादित ६ बाहेक अन्य टावर बनेर तार टाँग्ने काम भइहरेको छ । ‘बस्तीलाई जोखिम छैन । मापदण्डअनुसार राखेका छौं,’ प्रसारण लाइन आयोजना प्रमुख चन्दन घोषले भने, ‘साँघुरो गल्छी भएकाले बस्ती र सडकभन्दा धेरै टाढा पुग्न सकिने अवस्था छैन ।’ प्राधिकरणले उच्च भोल्टेजका प्रसारण तथा वितरण लाइनमुनि घरलगायत संरचना निर्माण नगर्न सचेत गराउँदै आएको छ । विद्युत् नियमावली, २०५० ले तारदेखि घर वा रुखसम्मको दूरी करिब २ मिटर कायम गरेको छ । ‘८० प्रतिशत बढी काम सकियो । विवाद सुल्झियो भने आगामी डिसेम्बरसम्म सक्ने गरी काम गरिरहेका छौं,’ घोषले भने, ‘ट्रान्सफर्मरसमेतका उपकरण जोड्ने र टावरमा तार टाँग्ने काम भइरहेको छ ।’
मुस्ताङ र म्याग्दीको उत्तरी क्षेत्रका जलविद्युत् आयोजना समेट्न कालीगण्डकी करिडोर, म्याग्दीखोला जलाधार क्षेत्र समेट्न म्याग्दीखोला करिडोर, पर्वतको मोदीखोला जलाधारका आयोजना र बागलुङका विभिन्न आयोजनाबाट उत्पादित बिजुली पर्वतको खुर्कोट सबस्टेसनमा जोडेपछि खर्कुोट–बर्दघाट खण्डको प्रसारण लाइनबाट बिजुली लैजाने प्राधिकरणको योजना छ । कालीगण्डकी करिडोरको दाना सबस्टेसन निर्माण ढिलाइ हुँदा म्याग्दी र मुस्ताङमा उत्पादित १० मेगावाट विद्युत् खेर गइरहेको छ । थापाखोलाको १३.६ मध्य ५ र घलेम्दी जलविद्युत्को ५ मेगावाट विद्युत केन्द्रीय ग्रिडमा जोड्ने ठाउँ नहुँदा अलपत्र परेको हो ।
कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण भएप्छि ४२ मेगावाटको मिस्त्रीखोला, ४२ मेगावाटकै राहुघाट, १४ मेगावाटको घारखोला, ६४ मेगावाटको कालीगण्डकी अपर, १४६ को कालीगण्डकी गर्ज, ३८ को नीलगिरी, ४५० मेगावाटको कोवाङ–कालीगण्डकी आयोजनाबाट उत्पादित विद्युत् जोड्ने योजना छ । त्यसैगरी माथिल्लो राहुघाट (४८.५ मेगावाट), कालीगण्डकी माथिल्लो (७२ मेगावाट) र दरबाङखोला २५ मेगावाट विद्युत् पनि यही २ सय २० केभीए कालीगण्डकी करिडोर प्रसारण लाइने जोड्ने योजना हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।