गोरखा दरबारमा पृथ्वीनारायण शाहकालीन झल्को

गोरखा – ऐतिहासिक गोरखा दरबारमा पृथ्वीनारायण शाहकालीन सेनाको झल्को दिने पोसाक लगाएर नेपाली सेना खटिन थालेको छ ।

गोरखाबाटै नेपाली सेना गठनको सुरुवात भएकाले त्यही कालखण्डको झल्काे दिने पोसाक लगाएर सेना खटाउन थालिएको गोरखास्थित रणसिं दल गणका गणपति उज्ज्वल केसीले बताउनुभयो ।

पृथ्वीनारायण शाहकालीन सेनाको पोसाक अर्थात कालो रंगको दौरा सुरुवाल, शिरमा चाँदतोडा र कालो बुट लगाएर खटिने सेनाले भरुवा बन्दुक बोक्नेछन् । हाल उनीहरुलाई गोरखकाली मन्दिर क्षेत्रमा खटाइएको केसीले जानकारी दिनुभयो । ‘ऐतिहासिक पोसाकसहित मन्दिरको दायाँबायाँ दुई जना उभिएर बस्छन्’, उहाँले भन्नुभयो, ‘पालैपालो खटाउने गरी हाल ११ जना आएका छन्, पछि १५ जना पुर्‍याउँछौँ ।’

नेपाली सेनाको उद्गमस्थल मानिने गोरखा दरबारमा त्यही समयको पोसाक लगाएर सेना खटिँदा ऐतिहासिक पक्षको उजागर हुनुका साथै जिल्लाको पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले बताउनुभयो ।

‘हालको नेपाली सेनाको जग पृथ्वीनारायण शाहको पालामा बनेको भन्ने धेरैलाई थाहा नहुन सक्छ’, उहाँले भननुभयो, ‘त्यतिबेला नेपाल एकीकरणमा खटिएको सेनाले कस्तो पोसाक लगाउँथ्यो भन्ने जानकारीसँगै यसले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न मद्धत मिल्छ भन्ने लागेको छ ।’

विक्रम संवत् १६१६ असोज २५ गते अहिलेको नेपाली सेनाको स्थापना भएको पाइन्छ । लमजुङका राजकुमार द्रव्य शाह वि.सं. १६१६ भदौमा लिगलिगकोटको राजा भएका थिए । त्यही मितिबाट राजा द्रव्य शाहले नारायण अर्ज्याललाई राजगुरु, सर्वेश्वर खनाललाई राज पुरोहित, गणेश पाँडेलाई प्रशासन हेर्ने मन्त्री, भगीरथ पन्तलाई सेनापति, केशव बोहोरालाई भूमि विभागको प्रमुख तथा गंगाराम राना मगरलाई प्रधानन्यायाधीश अर्थात न्याय विभाग प्रमुख नियुक्त गरेको इतिहासविद्हरुले बताउने गरेका छन् ।

त्यही मितिबाट सैनिक संगठन खडा भएको र तिनै सेनाको विकासक्रम अहिलेको नेपाली सेना रहेको सैनिक इतिहाससम्बन्धी जानकारहरु बताउँछन् । केहीले भने पृथ्वीनारायण शाहले वि.स. १८१९ मा श्रीनाथ, पुरानो गोरख, कालीबक्स, बर्दवाणी अर्थात बर्दबहादुर र सबुज नामका पाँच कम्पनीहरु स्थापना गरेको र त्यहीँबाट नेपालको सैनिक इतिहास सुरु भएको मान्दछन् ।

व्यावसायिक रुपमा सेनाको स्थापना भने पृथ्वीनारायण शाहकै पालादेखि सुरु भएको इतिहासमा उल्लेख छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’