‘सरकार संविधान कार्यान्वयनकै दिशामा छ’–सांसद गिरी

पर्वत । प्रतिनिधि सभा सदस्य सांसद पदम गिरीले वर्तमान सरकार संविधान कार्यान्वयनकै दिशामा अघि बढेको बताएका छन । संविधान दिवसको अवसरमा पर्वतको कुश्मामा आयोजीत मुल समारोहलाई सम्बोधन गर्दै सांसद गिरीले वर्तमान सरकार संविधान कार्यान्वयन गर्दै देशलाई समाजबाद तर्फ लैजाने कार्यमा लागेको बताएका छन । सांसद गिरीले प्रतिपक्षी दलले भ्रम छरेर वर्तमान सरकारका विरुद्धमा अवफाह फैलाए पनि सरकार दोहोरो अंकको आर्थिक बृद्धि कायम गर्ने गरी लागि परेको बताएका छन ।
शसस्त्र युद्ध गर्दै देश टुक्राउने एजेण्डा लिएर बसेका विद्रोही शक्तिलाई समेत राजनितिको मुल प्रवाहमा लैजाने गरी सरकारले गरेको उनले बताए । नराम्रो भनेर प्रचार गर्नेहरुलाई उदाहरण दिदै सांसद गिरीले भने–‘पाइपबाट तेल ल्याउने, उत्तरका नाकाहरु खुलाउने र आर्थिक बृद्धिदर उच्च राख्ने कार्य सरकारका के कमजोर पक्ष हुन ।’ सांसद गिरीले थपे–‘सरकार गठनको पहिलो बर्ष कानून निर्माण भए, दोस्रो बर्ष देखि विकास योजनाको कामले रप्तार लिन्छ ।’ उनले सरकार कुनै पनि मूल्यांकनमा कमजोर नरहेको भन्दै देश परिर्वतन र विकास यहि सरकारले गर्ने ठोकुवा गरे । संविधान नमान्ने शक्तिहरुलाई समेत संविधान मान्न बाध्य पारी सरकारले राजनीतिको मूल धारमा ति शक्तिहरुलाई ल्याएको उनको भनाई छ ।
कार्यक्रममा संविधान सभाका सदस्य अर्जुन जोशीले सरकारले सोचे बमोजीमको गति लिन नसकेको आरोप लगाए । उनले वर्तमान दुई तिहाइको सरकार असफल भए अव कुनै पनि दुई तिहाइको सरकारले काम गर्न नसक्ने दोहोराउँदै यो सरकार असफल हुन नहुने तर्क गरे । वर्तमान सरकार असफल हुँदा कांग्रेसले दुई तिहाइ माग्दै मत माग्न समेत लाज लाग्ने भन्दै सरकारले जनताको मनोभावना बमोजीम काम गर्न सुझाब दिए ।
कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमु्ख रामचन्द्र जोशी, फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, जिल्ला न्यायधिक सूर्यबहादुर थापा, नेकपा नेता भक्त कुवर, कांग्रेस पार्टी सभापति खिमप्रसाद भुषाल, पत्रकार महासंघका अध्यक्ष छविलाल तिवारी र उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाश शर्माले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा अधिबक्ता भोलानाथ शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए । जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे र सञ्चालन सहयाक प्रमुख जिल्ला अधिकारी छविलाल शर्माले गरेका थिए ।
यस अघि जिल्ला प्रशासनबाट शुरु भएको प्रभात फेरी पर्वत सदरमुकाम कुश्मा बजारका विभिन्न चोक हुँदै मुल समारोहमा परिणत भएको थियो । उक्त अवसरमा सांसद गिरीले जिल्ला प्रशासन कार्यालयको झण्डोत्तलन गरेका थिए ।