आजकाे मौसम : पहाडी भेगमा भारी वर्षा,सतर्कता अपनाउन अनुरोध

काठमाडौं / बंगालको खाडीबाट आएको हावाको प्रभावले देशभर मौसमी गतिविधि बढिरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको सोमबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको छ र पुर्वी भाग औसत स्थानभन्दा थोरै उत्तरतर्फ रहेको छ। भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित छ।
मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।
सोमबार बिहान जुम्ला, लमजुङ, कास्की लगाएतका जिल्ला, मकवानपुर, चितवन, मोरङ, ईलाम, झापा लगाएतका जिल्लाका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांगसहित मध्यम वर्षा हुनेछ। पहाडीभेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
राति देशभरी सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। पूर्वी र मध्य भू-भागका थोरै स्थानहरूमामा भारी वर्षाको सम्भावना छ।
मंगलबार मध्य र पश्चिमी भेगका एक/दुइ स्थानमा भारी वर्षाको सम्भावना छ। बुधबार मध्य तथा पश्चिमी भेगमा भारी वर्षाको सम्भावना छ।
‘देशका धेरै स्थानमा मध्ययम वर्षा र केहि स्थानमा भारी वर्षाको सम्भावना भएकोले नदिमा आकस्मिक पानीको बहाव बढ्न सक्ने छ। बुलेटिनमा भनिएको छ, ‘पहाडीभु-भागमा पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउने भएकाले सतर्कता अपनाउन अनुरोध छ।’