पर्वतका २१ वर्षिय युवाको नमुना काम, १९ लाख लगानीमा गाउँमै नमुना कृषि फर्म

पर्वत– नेपालमा आजआर्जनको कुनै सम्भावना नदेखेर दैनिक हजारौको संख्यामा युवाहरु विदेश पलायन भैरहेका छन् । कतिपय विदेश फर्केपछि पश्चाताप गर्ने गरेको पनि पाईन्छ ।
तर स्देशमै पनि कृषि क्षेत्रमा लगानी गर्ने हो भने विदेशमा भन्दा पनि गतिलो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण देखाउँदै यहाँका एक युवाले गाउँमै ठुलो रकम लगानी गरेर कृषि व्यावसाय थालेका छन् ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. १३ खौलालाकुरीका २० बर्षिय युवा सागर कार्किले गाउँमै ठुलो रकम लगानी गरी व्यावसायिक कार्कि कृषि तथा पशुपंक्षी फर्म संचालनमा ल्याएका हुन् । उनले विगत एक वर्षदेखि यो फार्म संचालनमा ल्याएका हुन् । झण्डै १४ रोपनी क्षेत्रफलमा बाख्रा, स्थानीय जातको कखुरा, माछा पालन गर्दै आएका छन् । त्यसैगरी किवी, एभोगार्डो, कफी, अलैची, सुन्तला र कागती लगातका फलफुलको खेती समेत शुरु गरेका हुन् ।
२० वर्षको कलिलो उमेरमै ठुलो रकम लगानी गरी फार्म संचालनमा ल्याएका कार्कि जिल्लाकै कान्छा नमुना कृषक हुन् । उनले शुरुवातमा लाख लगानी गरेपनि हालसम्म २६ लाख रुपैया लगानी पुगेको छ । स्नातक सम्मको अध्ययन गरेर गाउँ फर्किएका युवा केसीले शुरुवातमै रु १९ लाख रुपैया लगानी गरेर व्यावसाय थालेका हुन् । भने कार्किले करिव छ रोपनि जग्गामा किवि खेति पनि लगाएका छन् । मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि मन्नगे आम्दानी गर्न सकिन्छ भन्ने विश्वासले फार्म संचालनमा ल्याएको उनले बताए ।
फर्म सन्चालनका लागि आफैले सवै रकम लगानी गरेको तर हालसम्म कुनै संघ संस्थाबाट अनुदान रकम प्राप्त नगरेकाले उनले बताए ।
अहिले उनको फार्मममा ४० वटा माउ बाख्रा र २० वटा पाठापाठी गरेर झण्डै ६० वटा रहेका छन् । उनको वाख्रा फार्ममा अस्ट्रलियन, बोयर, जमुना, खरी जातका बाख्रा, त्यस्तै पोखरीमा माछा, सय÷सयवटाको हाराहारीमा कागती, सन्तला, एभोगार्डो र कफि, र ६ हजार भन्दा बढि अलैची जस्ता फलफुहरु समेत लगाएका छन् । अहिले परिक्षणको रुपमा सवै फलफुल लगाएको र तीनिहरुको उत्पादनको अवस्था हेरेर कुनलाई प्राथमिकता दिने भन्ने समय भैनसकेको उनले बताए ।

आफ्ना आमाबाबु सानैमा गुमाएका कार्किले विदेशमा रहेका आफ्ना दाजुको प्रेरणाबाट यो पेशामा हात हालेका हुन् । आफ्नो विदेश जाने इच्छा भएपनि दाजुहरुले गाउँमै रहेको जग्गाको सदुपयोग गरेर कृषि फार्म संचालन गर्न सुझाव दिएपछि गत वर्षको साउनदेखि यो फार्म संचालनमा ल्याएको उनले बताए ।
उनले विकट गाउँमा ठुलो रकम लगानी गरेपनि बार्षिक ५ लाख भन्दा बढि आम्दानी हुने अपेक्षा गरेका छन् । फार्ममा उनि आफैमात्र स्वरोजगार बनेका छैनन् । गाउँका अन्य तीन युवालाई समेत रोजगारी दिएका छन् । मासिक रु १५ हजार रुपैया तलब दिनेगरी तीन जना युवालाई रोजगारी समेत दिएको उनले बताए ।
पछिल्लो समय प्रत्येक गाउँमा ब्रोईलर जातको कुखुरा लहर नै चलेका बेला कार्किले आफ्नो फर्ममा भने स्थानीय जातका कुखुरा पाल्दै आएका छन् । उनले एक सय भन्दा बढि स्थानीय जातका कुखुरा पाल्दै आएको बताए । पछिल्लो समय शहरबजारमा स्थानीय जातका कुखुराको माग उच्च भएकाले पनि आफुले ढिलो आम्दानी हुने भएपनि स्थानीय जातकै कुखुरा पाल्दै आएको उनको भनाई छ ।
जुनसुकै कृषिजन्य उपज बजारको माग अनुसार उत्पादन गर्न सकेमा विक्रि हुने समस्या नहुने उनको अनुभव छ । उनले यो व्यवासयालाई क्रमशः विस्तार गर्दैै लैजाने योजना समेत बनाएका छन् ।
राज्यले कृषि क्षेत्रमा लाग्ने युवालाई विभिन्न अनुदान तथा शैक्षिक प्रमाणपत्र राखेर सहुलियतमा ऋण उपलव्ध गराउने समाचारमा सुनपनि यस्तो कार्यक्रमबाट उनि विमुख रहेको बताएका छन् । अहिलेसम्म तीनवटै तहका सरकारले कृषि क्षेत्रमा गरेको अनुदानमा आफु समावेश हुन नसकेको उनको भनाई रहेको छ ।
कतिपयले भर्खरै २०÷२१ वर्षको उमेरमा यस्तो व्यसाय गरेर प्रगति हुँदैन भन्दै आलोचना समेत गर्छन उनले भने–‘तर मलाई यो पेशामा निकै आनन्द र सन्तुष्टि मिलेको छ ।’ कृषक युवा कार्किले आफ्ना दुई दाजुहरुलाई पनि गाउँमै फर्काएर यहि पेशामा आवद्ध गराउने सोच रहेको बताए । यो खबर धौलागिरि सञ्चार साप्ताहिकबाट साभार गरिएको हो ।
अविवाहित कार्कि एक्लैको यो प्रयास उदाहरणीय रहेको कुश्मा नगरपालिका वडा नं. १३ खौलालाकुरीका वडा अध्यक्ष जंगवहादुर केसीले बताए । उनलाई नगरपालिकाबाट विभिन्न अनुदानका कार्यक्रममा सहयोग गर्ने उनको प्रतिवद्धता रहेको छ ।