विश्वमा नभएको कला, संस्कृति र विविधता नेपालमा छ- पर्यटन मन्त्री लम्साल

म्याग्दी, भदौ १३ गते ।     गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले विश्वमा नभएको कला, संस्कृति र विविधता नेपालमा भएको बताएका छन् । गण्डकी गोपाल गौशाला जलजला–७, धाईरिङ पर्वतले शुक्रबार मिलनचोकमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल कला र संस्कृतिले धनी भएको बताएका हुन् । 

श्रीमद्भागवत महापुराण श्रीगोरक्षा धनधान्याचल विराट ज्ञानमहायज्ञ घोषणा सभा तथा कालञ्जर क्षेत्र र गलेश्वरधाम पौराणिक विमर्शको उद्घाटन तथा विमोचन गर्दै मन्त्री लम्सालले नेपाल बहुधार्मिक, बहुजातीय, बहुसांस्कृतिक तथा विविधताले सम्पन्नशाली मुलुक भएको बताए । उनले जलजला क्षेत्रमा रहेका धार्मिक तथा ऐतिहासिक स्थलहरुको संरक्षण, प्रसारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताउँदै कालाञ्जर पर्वतमा कालाञ्जर तालको निर्माण गरिने बताएका छन् । 
मन्त्री लम्सालले पर्यटन मन्त्रालयको तर्फदेखि १ लाख शालिग्राम सङ्कलन गरी आश्रम बनाएर संरक्षण गर्नका लागि आवश्यक काम सुरु गरिएको भन्दै पोखराको विन्ध्यावासिनी मन्दिरमा भेटीको व्यवस्थापन गरी वृद्धवृद्धाहरुका लागि लिफ्ट जडान गरेर सञ्चालन ल्याइएको जानकारी दिए । उनले संविधानले व्यवस्था गरे अनुसार स्थानीय तहबाट नागरिकलाई सरकारी सेवासुविधा दिनुपर्नेमा जोड दिँदै स्वदेशमै रोजगारको सम्भावनाको खोजी गरी विदेश पलायनलाई रोक्नुपर्ने बताए । 

सोही कार्यक्रममा प्रवचन दिँदै मुक्तिनाथ पीठाधीश स्वामी कमलनयनचार्यले बागलुङको पञ्चकोट विकासका साथै पर्वतको कालाञ्जर क्षेत्र र म्याग्दीको पौलस्त्य पुलहाश्रमको विकास गरिने बताएका छन् । उनले धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको सम्भावना बोकेको गण्डकी प्रदेशले विकासप्रेमी व्यक्तिलाई पाएको बताउँदै सम्भावनायुक्त क्षेत्रको विकास हुनेमा आफू विश्वस्त रहेको धारणा राखेका थिए ।

धर्मको नाममा मानिसले मानिसलाई विभेद गर्न नहुनेमा जोड दिँदै स्वामी कमलनयनचार्यले धार्मिक क्षेत्रको विकासका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । 

जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि पौडेलले धर्म र संस्कृतिबारे सबैलाई जानकारी गराउनुपर्ने बताउँदै आफ्नो कला, धर्म र संस्कृतिको संरक्षण गरी चाडपर्वलाई सौहार्दपूर्ण वातावरणमा मनाउनुपर्ने बताए । कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे, कालञ्जर क्षेत्र र गलेश्वरधाम पौराणिक विमर्शका लेखक डा. जगन्नाथ रेग्मी र पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले पर्यटकीय क्षेत्रको प्रचारप्रसारका साथै विकासमा जोड दिनुपर्ने बताएका थिए । 

कार्यक्रमको अवसरमा डा. जगन्नाथ रेग्मीद्वारा लेखिएको कालञ्जर क्षेत्र र गलेश्वरधाम पौराणिक विमर्शको विमोचन गरिएको थियो । कार्यक्रममा समाजसेवी भवानीशंकर पौडेल, विश्व हिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष शंकर खराल, विन्ध्यावासिनी क्याम्पस पोखराका सह–प्राध्यापक भानुभक्त आचार्य र शालिजा माविका प्रधानाध्यापक कृष्णप्रसाद पराजुलीले मन्तव्य राखेका थिए ।

विमोचन गरिएको पुस्तकमाथि धौलागिरी बहुमुखी क्याम्पस बागलुङका पूर्व सह–प्राध्यापक हरिप्रसाद गौतमले समीक्षा गरेका थिए । गण्डकी गोपाल गौशालाका अध्यक्ष राजु आचार्यको अध्यक्षता र कोषाध्यक्ष जगन्नाथ आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा जलजला–७, धाईरिङका वडा अध्यक्ष टुङ्गनाथ आचार्यले स्वागत गरेका थिए । उक्त कार्यक्रममा नौमती पञ्चेबाजा बजाउनुका साथै भजनकिर्तन समेत गरिएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’