ग्रामीण पर्यटनको विकासबाट प्रदेशको समृद्धि- मन्त्री लम्साल,पर्वतमा पनि गण्डकी प्रदेश भ्रमण वर्षको उपसमिति

पर्वत– गण्डकी प्रदेश सरकारले घोषणा गरेको पर्यटन बर्ष २०१९ देखि २०२२ सम्मलाई सफल बनाउन पर्वतमा जिल्लास्तरीय पर्यटन प्रर्वद्धन उपसमिति गठन गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख मनोहर बी पौडेलको अध्यक्षतामा ९ सदस्यीय पर्यटन प्रर्वद्धन उपसमिति गठन गरिएको हो । उपसमितिका सदस्यहरुमा जिससका उपप्रमुख यामकुमारी राना, प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपाल, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, जिल्ला समन्वय अधिकारी चिरञ्जिवि सापकोटा, होटल व्यावसायी कृष्णप्रसाद श्रेष्ठ, धार्मिक एवं पर्यटन संघ संस्थाको तर्फवाट पृथ्वीनारायण शर्मा, नेपाल पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष दुर्गाप्रसाद शर्मा र होम–स्टे संचालकको तर्फवाट पञ्चकोशी होमस्टेका शुशिलादेवी गुरुङ रहनुभएको छ ।

यसअ अघि आयोजित कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले ग्रामीण पर्यटनको विकासबाट प्रदेशका समृद्धि हासिल गर्न सकिनेगरी कार्ययोजना बनिरहेको बताउनुभयो । उहाँले आगामी तीन वर्षलाई तीन चरणमा विभाजन गरेर बढि भन्दा बढि पर्यटकहरु यो प्रदेशमा भित्र्याउने योजना रहेको बतउनुभयो । उहाँले सन् २०१९ मा १५ लाख र सन् २०२२ सम्म २० लाख पर्यटक यो प्रदेशमा भित्र्याउने गरी कार्यक्रम लागु गरिएको बताउनुभयो । उहाँले गण्डकी प्रदेशमा अथाहा सम्भावना भएर पनि उचित प्रचार प्रसार र लगानीको अभावमा ओझेलमा परेको बताउँदै पर्यटन वर्षलाई सफल बनाउन सवै क्षेत्र सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले पोखरामा भित्रिने पर्यटकहरु प्रदेशका ८५ वटै गाउँपालिकामा पु¥याउनेगरी पूर्वाधार निर्माणमा जोड दिईएको पनि बताउनुभयो ।
कार्यक्रममा फलेवास नगरपालिका प्रमुख पदमपाणी शर्मा, कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने, प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपाल, पर्वत उद्योग बाणिज्य संंघका अध्यक्ष केदारनाथ शर्मा लगायतले बोल्नुभएको थियो ।
सो अवसरमा प्रदेश भ्रमण वर्ष मुल आयोजक समितिका संयोजक जुद्ध गुरुङले गण्डकी प्रदेशले मनाउन लागेको पर्यटन वर्ष, सम्भावना, चुनौतीका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने मोदी गाउँपालिकाका कार्यक्रम अधिकृत तुलसीराम शर्माले पर्वतका समग्र पर्यटनको अवस्थाका बारेमा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।