मन्त्री बास्कोटाको जन्मोत्सवमा २ अर्ब २२ करोड ५६ लाखको खानेपानी आयोजना सम्झौता
काभ्रे । पाँचखाल नगरपालिका १० वटा वडाका लागि सुनकोशी खोलाबाट लिफ्टिङ्गको माध्यमबाट ५ वर्ष भित्रमा खानेपानी उपभोग गर्ने गरी २ अर्ब २२ करोड ५६ लाख २५ हजार २ सय ३३ रुपैयाको आयोजना शुभारम्भ गरिएको छ । वडा नम्वर १, ५ र १३ बाहेकका सबै वडामा आयोजना मार्फत खानेपानी उपलब्ध हुनेछ ।
नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले चौपक्षिय सहमति सँगै समयमै आयोजना सम्पन्न गर्न निर्देशन दिदै स्थानीय स्तरमा हुने समस्या समाधानमा ध्यान दिन सरोकारवाला निकायलाई अनुरोध गर्नु भयो । मन्त्री बास्कोटाको विहिबार ५० औ जन्मोत्सव हो ।
सोहि अवसरमा मन्त्री बास्कोटाले पाँचखालबासीका लागि खानेपानी आयोजना शुभारम्भ हुने महत्वपूर्ण क्षणमा बधाई तथा शुभकामना दिदै आयोजनाले पाँचखालको समृद्धको यात्रा शुरु भएको बताउनु भयो । शहरी खानेपानी तथा सरसफाई आयोजनाका निर्देशक विद्यानाथ भट्टराई, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, नगर विकास कोषका प्राविधिक सहयोग अधिकृत सुवासराज पन्त र सुनकोशी पाँचखाल खानेपानी उपभोक्ता सरसफाई संस्थाका तर्फबाट अध्यक्ष कुमार लामिछानेले मन्त्री बास्कोटाको उपस्थितीमा सम्झौता गरी आगामी ५ वर्ष भित्र कार्य सम्पन्न गर्ने सम्झौता भएको छ ।

मन्त्री बास्कोटाले पाँचखाल सँगै छिमेकी नगरपालिका मण्डन देउपुरमा १ अर्ब ७५ करोड लागतमा खानेपानी आयोजना सम्पन्न गर्ने गरी डिपीआर सम्पन्न भएको बताउनु भयो । जिल्लाका विभिन्न नगर तथा गाउँपालिकामा खानेपानीको ब्यवस्थापनका लागि सरकारले कार्य गरिरहेको बताउँदै पाँचखालको वडा नम्वर ५ मा खानेपानीको ब्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गरी कार्य प्रारम्भ भएको बताउनु भयो । नमोेबुद्ध नगरपालिकामा खानेपानी आयोजना संचालन गर्न डिपिआरको कार्य भईरहेको बताउँदै मन्त्री बास्कोटाले इन्द्रावतीमा ड्याम निर्माणका लागि १० करोड रुपैया डिपिआरका लागि विनियोजन गरेको बताउनु भयो । आयोजनामा लाग्ने कुल रकम मध्ये ५ प्रतिशत उपभोक्ता समितिबाट उपलब्ध गराईनेछ । पाँचखालबासीले उपलब्ध गराउनु पर्ने ११ करोड मध्ये १० करोड रकम संकलन भईसकेको छ । नगर विकास कोषले २५ वर्षका लागि ५ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराएको छ । ५ हजार ९ सय ९८ घर धुरीका २९ हजार ६ सय ३ नागरिक रहेका उक्त वडाहरुमा आगामी २० वर्ष पछिसम्म खानेपानी उपलब्ध हुने गरी आयोजना शुरु गरिएको हो ।
सम्झौता कार्यक्रममा मन्त्री बास्कोटा, प्रदेश सभा सदस्य लक्ष्मण लम्साल, पाँचखाल नगरका प्रमुख महेश खरेल, जिल्ला समन्वय समिति उपप्रमुख मञ्जु गौतम, शहरी खानेपानी तथा सरसफाई आयोजनाका निर्देशक विद्यानाथ भट्टराई, नगर विकास कोषका प्राविधिक सहयोग अधिकृत सुवासराज पन्त, सुनकोशी पाँचखाल खानेपानी उपभोक्ता सरसफाई संस्थाका तर्फबाट अध्यक्ष कुमार लामिछाने, उपाध्यक्ष रविन्द्र सिपखान, सचिव मणि गौतम लगायतले समयमै आयोजना सम्पन्न हुने कुरामा विश्वत हुन सर्वसाधारणलाई अनुरोध गरे ।
धमाधम जिल्लामा आयोजना

सञ्चार तथा सूचना प्रबिधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले जिल्लामा संचालन भएका परियोजनाहरुको अवस्थाका बारेमा जानकारी लिदै नयाँ परियोजना संचालनमा विशेष जोड दिन तथा समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । शहरी बिकास मन्त्रालयका सचीव मधुसूदन अधिकारी, सहरी तथा भवन निर्माण बिभागका महानिर्देशक मणिराम गेलाल, आयोजना कार्यान्वयन इकाईका प्रमुख तथा प्राबिधिकहरु सँग काभ्रे जिल्लामा संचालित महत्वपूर्ण शहरी परियोजनाको सन्दर्भमा मन्त्री बास्कोटाले छलफल गर्नु भएको हो ।
मन्त्री बास्कोटाको परिकल्पनाको परियोजना पुण्यामाता करिडोर आ.ब २०७५/०७६ देखि सहरी बिकास मन्त्रालयको नेतृत्वमा कार्यन्वयन हुने गरि योजना समाबेश भएको छ । उक्त परियोजनाको विषयमा समयमै सम्पन्न गर्ने गरी छलफल भएको मन्त्री बास्कोटाले बताए । छलफलमा परियोजना कार्यान्वयन टिमले करिडोरको गत बर्षको बजेटबाट डिपिआर सप्पन्न भएको र यस आर्थिक बर्षमा ठेक्का प्रक्रियामा जाने प्रतिबद्धता व्यक्त गरेको छ । काभ्रे जिल्लाकै अर्को महत्वपुर्ण परियोजनाहरु काभ्रे भ्याली एकीकृत खानेपानी आयोजना र पनौती क्षेत्रीय रंगशालाका सन्दर्भमा कार्ययोजना, प्रगति विवरण, बर्तमान अवस्था, समस्या र सवालहरुका विषयमा छलफल भएको छ ।
छलफलमा बनेपा सहितका नगरपालिकाहरुको फोहोर ब्यबस्थापन गर्न सडक मार्ग निर्माण गर्न र हिले जलजले लगायत बैकल्पिक खानेपानी ब्यबस्थापन सहितको बहुउद्देश्यीय परियोजनाको लागी थप कार्य अगाडि बढाउन बिभागले प्रतिबद्धता ब्यक्त गरेको छ । मन्त्री बास्कोटाले निर्वाचनका समयमा ब्यक्त गरेका प्रतिवद्धताहरु एक पछि अर्काे गर्दै पुरा गर्न कृयाशिल रहेको बताउनु भएको थियो ।