पैंयु क्षेत्रका जनताले मागे सुबिधा सम्पन्न अस्पताल , अस्पताल बनाएर छाड्ने साँसदको आश्वासन

पर्वत / पर्वत जिल्लाको सदरमुकाम कुस्मा देखि टाढा रहेको सुदुर दक्षिणी क्षेत्र पैयूका बासिन्दाले सुविधा सम्पन्न अस्पतालको माग गरेका छन ।
सामान्य उपचारका लागि पनि छिमेकी जिल्लाका स्वास्थ्य संस्थामा धाउनुपनृए भएका पैंयु क्षेत्रको केन्द्र हुवासमा सुबिधा सम्पन्न अस्पताल बनाउन माग गरेका हुन ।
पैयू गाउँपालिका भित्रका बासिन्दाले स्वास्थ्य चौकी पछिको उपचार सेवा लिन वालिङ वा पोखरा धाउन बाध्य छन । जिल्ला अस्पताल देखि टाडाको दुरीमा रहेका स्थानीयबासीले ल्याव, एक्सरे र भिडियो एक्सरेको सेवा समेत स्थानीय स्तरमा उपलब्ध नहुँदा सास्ती बेहोर्दै आइरहेका छन । यसले उपचारमा खर्चिलो हुने र सामान्य परिवारको पहुँच समेत नहुने स्थानीयबासीको भनाई छ । पैयू सरौखोलाका निलकष्ठ तिवारीले सरकारले स्वास्थ्य सेवा विस्तार गर्ने रणनीति लिँदा पैयूमा सुविधासम्पन्न अस्पतालको आवश्यकता छ भन्नुभयो । उहाँले अस्पताल नहुँदा उपचारमा पैयूबासीले सधै समस्या बेहोर्दै आइरहेको तर्फ साँसद गिरी र सुबेदीको ध्यानाकर्षण गराउनुभयो । ‘अस्पतालको अभाबमा अकालमा ज्यान जाने खतरा छ’उहाँले भन्नुभयो ‘अस्पताल बनाउनका लागि चौतर्फी पहलको आवश्यकता छ ।’
हुवास आसपासमा अस्पताल बनाउँदा बिहादी र महाशिला गाउँपालिका बासिन्दा र स्याङ्गजा जिल्लाका बासिन्दा समेत लाभान्वित हुन्छन । पैंयु क्षेत्रका बासिन्दाले दक्षिण क्षेत्रमा पुगेका संघिय सांसद पदम गिरी र यशोदा सुवेदीसंग अस्पताल बनाउनका लागि पहल गर्न आग्रह गरे । उपचारका लागि स्वास्थ्य चौकीहरुको मात्र भर पर्दा उपचारमा समस्या पर्दै आइरहेको उनीहरुको भनाई छ । गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले विशेषज्ञ डाक्टर सहितको सुविधा गाउँपालिकाको लागि आवश्यक रहेको बताउनुभयो । उहाँले गाउँपालिका भित्रका जनतालाई स्वास्थ्य क्षेत्रको भरपर्दो उपचार विधि दिन नसकिएको भन्दै गाउँपालिका भित्रै अस्पताल निर्माण गर्न आबश्यक छ भन्नुभयो । ७ वटा वडाहरु रहेको पैयू गाउँपालिकामा हाल ६ वटा स्वास्थ्य चौकीहरु रहेका छन । त्यहाँबाट प्राथमिक बाहेकका उपचार सेवाहरु उपलब्ध छैनन । अस्पताल निर्माण गर्दा विशेषज्ञ सेवा प्राप्त हुनेमा स्थानीयबासी आशाबादी बनेका छन ।
पैयू गाउँपालिकाका स्थानीयले गाउँपालिका भित्र सुविधासम्पन्न अस्पताल निर्माणको माग गरे पछि संघिय सांसद पदम गिरीले अस्पताल निर्माण हुने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । सांसद गिरीले आफ्नो बाँकी ४ बर्षको कार्यकाल भित्र कम्तिमा अस्पताल भवनको शिल्यान्याससम्म हुने प्रतिबद्धता गर्नुभयो । ‘अस्पताल निर्माण कार्य सकिन्छ म भन्दिन, अस्तापलको भवनको शिल्यान्यास म गरेरै छाड्छु ।’ उहाँले भन्नुभयो ‘पैयू क्षेत्रमा सडक पूर्वाधार पछि अस्पतालको माग ठूलो मात्रामा उठेको हुँदा सबैको ध्यानाकर्षण भएको छ’
नेपाल समाचारपत्र दैनिकले समाचार छापेको छ।