पर्वतको महाशीलाले करेण्ट लागेर ज्यान गुमाएका युवाको परिवारलाई एक/एक लाख सहयोग गर्ने

पर्वत– पर्वतको महाशिला गाउँपालिका वडा नं. ४ पाखापानी धुँवाकोटमा करेण्ट लागेर ज्यान गुमाएका दुई युवाको परिवारलाई रु १ लाखका दरले आर्थिक सहयोग सहयोग गरिने भएको छ ।
महाशिला गाउँकार्यपालिकाको मंगलवार सम्पन्न नियमित बैठकले विद्युत जडानको क्रममा एक्कासी करेण्ट लागेर ज्यान गुमाएका स्थानीय ३० वर्षीय केशबहादुर क्षेत्री र ३१ वर्षीय सुरेन्द्र क्षेत्रीको परिवारलाई रु १/१ लाख रुपैयासहयोग गर्ने निर्णय गरेको हो ।
वैठकले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उक्त सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिनुभयो । त्यसैगरी घाइते भएका भरत क्षेत्रीको उपचार खर्च व्यहोर्ने निर्णय समेत गरिएको छ ।
गत शुक्रबार विहान १० बजेको समयमा विद्युत पोल गाड्ने क्रममा करेण्ट प्रवाह हुँदा दुई युवाको ज्यान गएको थियो । एकै गाउँका दुई युवाका ज्यान गएपछि उक्त गाउँ यतिखेर शोकमा डुबेको छ । बिजुलीको खम्बा विस्तार गर्ने क्रममा बिजुली प्रवाह भइरहेको प्रसारण लाइनमा फलामे खम्बाले छोएपछि उनिहरुलाई करेण्ट लागेको थियो ।
दुवै मृतकका शव जिल्ला अस्पताल पर्वतमा पोष्मार्टम गरी मोदीवेनी घाटमा शनिबार दिउँसो सामुहिक दाहसंस्कार गरिएको थियो ।