मृतकका नाममा कृषि अनुदान

दमक, १ भदाै । कप्तान राजवंशीले कृषि ज्ञान केन्द्रबाट चैतेधानको खेती गरेबापत प्रोत्साहन अनुदान रकम लिएको खबरले गौरीगन्जवासी अचम्मित छन् । कान्तिपुर दैनिकले समाचार छापेकाे छ ।
उनीसँगै गौरीगन्ज गाउँपालिका–२ कोरोबारीका नुकानु राजवंशी र मनमाया न्यौपानेले पनि अनुदान रकम लिएको ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ । उनीहरू तीनैजनाको निधन भइसकेको छ ।
‘०४९ वैशाख १० मा बुवा बित्नुभएको हो, २७ वर्ष पुगिसक्यो । कृषि ज्ञान केन्द्रबाट बुबाको नाममा अनुदान रकम लिएको खबरले हामी छक्क परेका छौं,’ कप्तानका छोरा फागुलाल राजवंशीले भने ।
कोरोबारीका तीनवटा कृषक समूहले फर्जी कागज बनाएर लाखौं रुपैयाँको अनुदान रकममा अनियमितता गरेको फेला परेको छ । तुलाचन कृषक समूह, माङसावा कृषक समूह र कनकाई विपद् कृषक समूहले फर्जी कागजात बनाएर अनुदानको १८ लाख ६२ हजार रुपैयाँ अनियमितता गरेका हुन् ।
कृषक समूहले प्रदेश सरकारको चैतेधान विशेष सहयोग क्षेत्र विस्तार तथा उत्पादकत्व वृद्धि कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्रबाट अनुदान रकम प्राप्त गरेका थिए ।
माङ्सावा कृषक समूहले १०४ जना कृषकको फर्जी कागजात पेस गरी ६ लाख ८४ हजार रुपैयाँ अनुदान प्राप्त गरेको थियो । माङ्सावाले ६८.४ हेक्टर जमिनमा चैतेधान खेती गरेको केन्द्रमा पेस गरेको कागजातमा उल्लेख छ ।
तुलाचनले १३२ जना कृषकको नाममा ८ लाख ११ हजार रुपैयाँ अनुदान ल्याएको छ । उसले ८१.१ हेक्टर जमिनमा चैतेधानको खेती गरेको जनाएको छ ।
कोरोबारीकै कनकाई विपद् व्यवस्थापनले ५५ जना किसानको फर्जी कागज पेस गरी ३ लाख ६७ हजार रुपैयाँ अनुदान ल्याएको छ । उसले ३६.७ हेक्टरमा चैतेधान खेती गरेको कागजात पेस गरेको छ ।