अफगानिस्तानमा मृत्यु भएका नेपाली परिवार र घाइतेद्वारा क्यानडाविरुद्ध २ अर्ब २३ करोड क्षतिपूर्ति माग गर्दै मुद्दा दायर
क्यानडा । नेपालका १३ गोर्खाली सुरक्षाकर्मी र दुई भारतीय कन्ट्रयाक्टरको अफगानिस्तानमा सन् २०१६ को आत्मघाति बम हमलामा मृत्यु भएको थियो । काबूलमा क्यानडेली दूतावासको सुरक्षा गरिरहेका गोर्खाली सुरक्षाकर्मीहरुमध्ये प्रेम क्षेत्रीले आफ्नै आँखाले आफ्ना साथीहरुको मृत्यु भएको देखे भने कतिले हात खुट्टा गुमाएको पनि प्रत्यक्ष देखेका हुन् । आतंककारी संगठनको हमलाबाट उनीहरुको मृत्यु भएको थियो ।
त्यसैकारण अहिले सो हमलाबाट बाँचेकाहरु र मृत्यु हुने सेनाका पत्नी र परिवारहरुले क्यानडेली सरकारविरुद्ध मंगलबार ओन्टारियोको सर्वोच्च अदालतमा मुद्दा हालेका हुन् ।
सुरक्षाकर्मीको व्यक्तिगत सुरक्षामा लापरबाही गरिएको आरोपमा आपत्ति जनाइएको छ । सुरक्षासहितको काबूलको मध्य भागमा अवस्थित दूतावास पुर्याइने बस सुरक्षित भए नभएको निश्चित नगरिएकाले संघीय सरकारमाथि प्रश्न उठाइएको हो ।
त्यसैले यो घटना क्यानडा र गोर्खाली सेनालाई निजी रुपमा नियुक्त गराउने साब्रे अन्तर्राष्ट्रिय कम्पनी र क्यानडाको संघीय सरकारको लापरबाहीका कारण यस्तो घटना भएको परिवारको आरोप छ ।
दुईवर्ष बितिसकेपनि अहिलेसम्म पीडितका परिवारले यस घटनाबारे सार्वजनिक बयान दिएका थिएनन् । घटनामा बच्न सफल दुई सुरक्षाकर्मी र मृतकका पत्नीले कन्ट्रयाक्टरसहित क्यानडेली सरकारसँग २०.४ मिलियन डलर अर्थात् २ अर्ब २३ करोड ८३ लाख नेपाली रुपैयाँ क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेको सीबीसी डट सीएनले जनाएको छ ।
यसअघि बाँचेका सुरक्षाकर्मीहरुले स्वास्थ्य खर्च अन्तर्गत तीस हजार डलर र मृतकका पत्नीहरुले केबल तीन लाख डलरको क्षतिपूर्ति मात्र पाएका थिए । त्यस स्थानमा तैनाथ गराइएका गोर्खाली सुरक्षाकर्मीहरुले भने मासिक रुपमा ८०० देखि ११०० डलर मात्र घर लैजाने गरेका थिए । त्यसकारण यसले क्यानडेली सुरक्षा कम्पनीहरुले संवेदनशील विदेशी कामदारहरुलाई खतरनाक ठाउँमा पठाइ तिनलाई आवश्यक क्षतिपूर्ति समेत प्रदान नगरेको आरोप छ ।
यसरी सुरक्षाकर्मीहरु देशको सेवा गर्दैगर्दा ज्यान गुमाएपनि उनीहरुलाई किनारा लगाइएको बताइएको हो । सरकारको यस्तो व्यवहार अस्वीकार्य भएको भनकोभरका न्यायकर्मी जो फिओरेन्टले बताएका हुन् । उता साब्रे कम्पनीका प्रतिनिधिले भने कुनै प्रतिक्रिया दिएका छैनन् । अहिले सो कम्पनीको वेबसाइट र इमेल समेत डिएक्टिभेट भइसकेको छ र नेपाली ठेगानामा समेत सम्पर्क गर्न नसकिएको बताइएको छ ।
त्यसरी हमला हुनासाथै सो कम्पनीले क्यानडेली दूतावासबाट राजीनामा दिएर सबै जिम्मा संघीय सरकारलाई लगाएको थियो । त्यसकारण यस घटनाले क्यानडेली सरकार कसरी यस्तो कम्पनीको सम्पर्कमा आयो भन्नेमा पनि ठूलो प्रश्न उठाइरहेको छ ।
घटनामा बाँच्न सफल अर्का नेपाली मान बहादुर थापाका अनुसार पनि काममा आउँदा र फर्कदा प्रयोग गरिने साधनबारे उनीहरुले एक वर्षदेखि नै चिन्ता व्यक्त गरेका थिए तर कम्पनी र सरकार दुवैले त्यसप्रति कुनै चासो नदेखाएको उनको गुनासो छ । त्यसैगरी घाइते हुँदा समेत क्यानडेली दूतावासका एकजना कर्मचारी पनि आफूलाई हेर्न नआएको उनले बताएका हुन् । दुर्घटना भन्दा अगाडि आफूहरुसँग धेरै नजिकको सम्बन्ध रहेपनि यो ठूलो घटनापछि चाहिँ कसैले वास्ता नगरेको उनले बताए । उनले भने, “हामीले आफ्नो ज्यान जोखिममा राखेर भएपनि उनीहरुलाई हरेक क्षण सुरक्षित राख्ने गरेका थियौँ । तर उनीहरु एकपटक पनि हामीलाई भेट्न आएनन् र यहाँसम्मकी कमान्डरमार्फत कुनै खबर समेत पठाएनन् ।”
नेपाल सरकारले पनि दुई वर्षदेखि लगातार क्यानडाको सरकारसँग क्षतिपूर्तिको माग गरिरहेको छ । एकपटक त औपचारिक कूटनीतिक सन्देश पठाएको थियो । नेपाली राजनीतिज्ञहरुले क्यानडालाई लापरबाही र गोर्खालीहरुलाई राम्रो सुरक्षा दिन नसकेको आरोप समेत लगाएका छन् । उता क्यानडाका विदेश मन्त्री स्टेफनी डिआनले भने नेपाली सुरक्षाकर्मी र क्यानडेली सरकारबीच कुनै सम्बन्ध नभएको बताइरहेको छ । उनका अनुसार उनीहरुलाई निजी कम्पनी साब्रेले नियुक्त गरेको हो स्टेफने डिआनलाई यस्तो खबर दिइएको थियो ।
चित्र कुमारी कोइराला पनि तिनै मृतक सेनामध्ये एककी श्रीमती हुन् । यस विषयमा उनले आक्रामक हुँदै भनिन्, ‘ड्युटीको बेला मृत्यु हुँदा कसरी उनीहरुले यसको जिम्मेवारीबाट पन्छिन मिल्छ ? उनीहरुको लापरबाहीकै कारण नेपाली सेनाहरु मारिएको भनेर क्यानडाले स्वीकार गर्नैपर्छ ।”
२०७२ सालको भूकम्पमा आफ्ना दुवै छोरछोरी गुमाएकी चित्र कुमारीले पति मधुसुदनलाई धेरैपटक यस्तो जोखिमयुक्त काम नगर्न भनेपनि उनले आफू ६ महिनामै फर्किने बचन दिँदै काम गर्न गएको उनको भनाइ छ । सेनाहरुलाई दूतावासबाट केही किलोमिटर पर बस्ने व्यवस्था मिलाइएको थियो र दैनिक कामका लागि ओहोरदोहोर गर्दा समेत कुनै सुरक्षा प्रदान गरिएको थिएन । सुरक्षाविहीन सवारीमा यात्रा गर्न बाध्य थिए ।