५ बर्षमा ५ पुस्तक
पत्रकारिता क्षेत्रमा निरन्तर कलम चलाउनेहरु मध्ये थोरैले पुस्तक लेखनमा अगाडि बढाएको पाइन्छ । खासगरी पछिल्लो समयमा पत्रकारितामा लामो समय गुजारेकाहरुले लेखेका पुस्तकले बजार जमाएको देखन सकिन्छ । यसका धेरै कारणहरु हुन सक्छन् ।
एउटा पत्रकारले कसरी पुस्तक लेखनीलाई अगाडि बढाउन सक्छ र त्यो काम कसरी गर्ने भन्ने सम्बन्धमा हामीले पूर्वको झापा जिल्लालाई कर्मथलो बनाएर बिगत २५ बर्षदेखि कलम चलाइरहेका पत्रकार तथा लेखक तीर्थ सिग्देलसँग कुराकानी गरेका छौं ।
आजकल के मा ब्यस्त हुनुहुन्छ ?
मेरो दोस्रो पुस्तक पूर्वको राजनीतिको गत २०७४ साल फागुन २१ मा बिमोचन भयो । अहिले त्यसै पुस्तकको बजारिकरण र चर्चा परिचर्चामा लागेको छु भन्दा हुन्छ । खासगरी राजनीतिसँग सम्बन्धित भएका कारण यसले राम्रै चर्चा बटुलेको पाएको छु । र, योसँगै दैनन्दिन काममा लागेको छु । त्यो भनेको अर्को पुस्तकको तयारीमै छु ।
पत्रकारले किताब कसरी लेख्ने ? केही तरिकाहरु दिन मिल्छ ?
अबस्य । हामीले गरिरहेको काम कुनै सर्बथा नौलो र अनौठो काम होइन भन्ने कुरा पहिले बुझ्नु पर्यो । हामीले गर्ने काम भनेकै लेख्ने, बोल्ने नै हो । बरु यो भन्दा अरु कुनै काम, जस्तो हेलिकप्टर उडायौं, रेल कुदायौं भने मात्र अनौठो भो । त्यसकारण अहोरात्र यही कामलाई प्राथमिकता दिने हो ।
खुद्रा खुद्री समाचारमा अल्मलिएर हामीले समय ब्यतित गरिरहेका छौं । त्यो समयमा के क्रियेटिभ काम गर्न सकिन्छ भनेर सर्बप्रथम सोच्न जरुरी छ । त्यसका लागि दैनिक रिर्पोटिंगबाट बचेको समय र त्यसबाट फिल्टर भएका गहन बिषयबस्तुलाई अरु नै समयमा गहन खोज र अनुसन्धान गरेर पुस्तककार दिनु पर्दछ । त्यसका लागि सन्दर्भ सामाग्रीको खोजीदेखि बिज्ञहरुसँग पनि कुराकानी गर्नुपर्दछ ।
सामान्यतयाः यी र यस प्रकारका केही बिधी र प्रकृया अपनाउन सकेमा एउटा पत्रकार लेखकको रुपमा अगाडि आउन सक्छ । नत्र ऊ केबल यताको कुरा उता लैजाने एउटा भरिया जस्तो पत्रकार मात्र हुन जान्छ ।
अरु कुनै पुस्तकको तयारी छ भन्ने हल्ला छ नी ? के छ त्यस्तो ?
पक्कै पनि, काम त यही नै गर्ने हो । तर मेरो काम गर्ने तरिका अलि भिन्न र फरक छ । त्यो के भने, जे काम गर्दा पाि बिना योजना र समयको उपयोग गरेर मात्र गर्ने हो । र, काम गर्ने भनेर एकै पटक हड्यांगहुडुंग गरेर काम गर्ने होइन । निश्चित योजना र तरिका अपनाउने हो । मूलतः मैले ५ बर्षमा ५ बटा पुस्तक लेख्ने सोच र तरिकाका साथ अगाडि बढेको छु । मेरो ०७३ सालमा अनुभब र अनुभूतिमा केन्द्रित जिबनको गति र ०७४ सालमा राजनीति र इतिहास समेटिएको पूर्वको राजनीति बजारमा आयो । अब ०७५ साल भित्रमा मनोनेट नामक यौन मनोबिज्ञानमा आधारित कथाहरुको संग्रहको अन्तिम तयारीमा छु भने ०७६ सालमा सीतादेबी नामक महिलाहरुको पीडा बोकेको उपन्यास निकाल्दैछु । त्यस्तै ०७७ सालमा यात्रा संस्मरण ।
तपाईको पूर्वको राजनीति नामक पुस्तकले कस्तो छनक पायो त ?
यो पुस्तक खासगरी कोशी पूर्वको रक्तरंजित इतिहासको दस्ताबेज हो । र, यसले यही रुपबाट बजारमा नाम कमाएको छ र बजार पनि लिएको मैले पाएको छु । मुख्यतया राजनीतिक क्षेत्रबाट यो पुस्तकको माग बढी आएको छ । जस्तो, १ नं प्रदेश भरीकै गाउँ पालिका, नगर पालिकाहरुबाट जनप्रतिनिधीहरुले र राजनीतिक कार्यकर्ताहरुले यसको खोजी गरिरहेको सुनिरहेको छु ।
तपाईलाई यस पुस्तकले बिबादित पनि बनायो भन्छन् नी । खासगरी जातीयताका कारण ?
म यस पुस्तकबाट चिनिएको छु । किनभने पूर्वको २५० बर्षको इतिहासको दस्ताबेजिकरण र तथ्यहरुको खोजी गर्नु मेरा लागि चुनौति मात्र थिएन, खतरा पनि थियो । मैले यस पुस्तकमा यो दुबै कुरा मोलेको छु ।
हो, इतिहासमा पूर्व धेरै रुपबाट अगाडि भएपनि त्यसको लेखाजोखा हुन नसकेको हो । त्यसको लेखाजोखा मात्र होइन, स्प्रष्ट रेखांकन पनि गरेको छु ।
मैले इतिहासमा गल्ती गर्नेहरुलाई पनि उदांगो पारेको छु भने हराएका, लुकेको पहिचान र संघर्षका गाथालाई उठाएको छु । मलाई लाग्छ, जसले यस्तो कुरा गरेका छन् । यो कुरा उनीहरुले पुस्तक पढे पछि आँफै बुझ्नेछन् । किनभने यो रुपबाट पूवृमा भएका जातीय आन्दोलनहरु र त्यसका पात्रहरुको चर्चा अन्त कतै भएको छैन, त्यो कर्तब्य मैले पूरा गरेको छु ।