सामुहिक लगानीमा दुर्गममा कुखुरापालन ब्यबसाय
पर्वत/ यहाँको एक सहकारीमा आबद्ध सेयर सदस्यले सामूहिक लगानीमा चलाएको कुखुरा फर्म जिल्लामै नमुना बनेको छ । पैंयु २ त्रिवेणीमा त्रिवेणी सहकारीले १ हजार २ सय लेयर्स कुखुरा पालेको छ ।
दुई रोपनी जमिनमा २० लाख रुपैयाँमा निर्मित व्यवस्थित खोरमा पालिएका कुखुराले दुई महिनायता नियमित अण्डा दिन सुरु गरेका छन् । ‘हाल आसपासका बजारमा हाम्रै अण्डाको माग छ,’ सहकारीका व्यवस्थापक कृष्णप्रसाद भुर्तेलले भने, ‘परीक्षणका लागि पहिलोपटक १२ सय कुखुरा हालेको ।
एउटै मरेन ।’ थप १२ सय कुखुरा अट्ने खोर खाली भएको उनले बताए । सहकारीले स्थानीय त्रिवेणी, टकलाक, हुवास र मर्दीखोलालगायतका बजारमा प्रतिगोटा १० रुपैयाँमा अण्डा बिक्री गर्दैआएको छ । जिल्ला बाहिरबाट ल्याइएका अण्डाभन्दा सस्तो हुने भएकाले व्यवसायी र उपभोक्ताको रोजाइमा यहींको अण्डा पर्छ । ‘बाहिरबाट ल्याउँदा ढुवानीसहित १५ रुपैयाँ पर्छ,’ होटल व्यवसायी बालकृष्ण सुवेदीले भने, ‘सस्तोमा लिएपछि सस्तैमा बेच्न सकिन्छ ।’ दुई महिनायता सहकारीको अण्डा बजारमा आएपछि बाहिरको अण्डा आउन कम भएको उनले बताए ।
६ सय सेयर सदस्य आबद्ध सहकारीद्वारा सञ्चालित यो फर्ममा हाल तीन युवाले रोजगारी पाएका छन् । ‘विकट भएर पनि त्रिवेणी सहकारीले सम्भावना देखाएको छ,’ गाउँपालिका अध्यक्ष खगेन्द्र तिवारीले भने, ‘यस क्षेत्रकै नमुना सहकारी हो ।’ सहकारीद्वारा सञ्चालित कुखुरा फर्मलाई जिल्लाकै उत्कृष्ट ठहर गर्दै गत वर्ष जिल्ला पशुसेवा कार्यालयले ५ लाख रुपैयाँ अनुदान दिएको थियो । चालु वर्ष गाउँपालिकाले १ लाख ६० हजार र वडा कार्यालयले ५० हजार रुपैयाँ अनुदान दिएका छन् ।
कुखुराको दाना, कर्मचारी, विद्युत्, औषधिलगायतको खर्च कटाएर पनि आम्दानी राम्रो भइरहेको सञ्चालकले बताएका छन् । ‘दाना ल्याउन र उपचार गर्न समस्या थियो,’ सञ्चालक मेघनाथ बसेलले भने, ‘मोटरबाटो आएपछि सजिलो भएको छ ।’ सेयर सदस्यकै सक्रियतामा फर्मसम्म मोटरबाटो पुगेको उनले बताए ।कान्तिपुर दैनिकले समाचार छापेको छ । भुलबस अघिल्लो समाचारको शीर्षक परेको सच्चाइएएको छ ।