यसरी हुँदैछ विश्वकपको उद्घाटन

ओलम्पिक्समा उद्घाटन समारोहलाई जसरी ठूलो महत्त्व दिइन्छ, त्यत्तिकै महत्त्व विश्वकप फुटबलको उद्घाटन समारोहको हुँदैन । केही पुराना विश्वकपलाई फर्केर हेर्ने हो भने त उद्घाटन समारोह नै नराखी सीधै प्रतियोगिता सुरु भएका उदाहरण पनि छन् । पछिल्लो समय भने यसमा केही परिवर्तन आएको छ र विश्वकप फुटबलमा पनि आकर्षक उद्घाटन समारोह समावेश गर्ने चलन सुरु भएको छ ।

ब्राजिलमा भएको विश्वकपको उद्घाटन समारोह अहिलेसम्मकै सबैभन्दा भव्य उद्घाटन समारोह थियो र केही हदसम्म त्यो ओलम्पिक्सको उद्घाटन भन्दा कम थिएन । यसपटक रूसमा हुने विश्वकप फुटबलको उद्घाटन समारोह कस्तो हुनेछ भन्ने पूर्ण विवरण बाहिर आएको छैन । पश्चिमेली मिडियालाई मान्ने हो भने रूसले उक्त विवरण उद्घाटनअघि बाहिर ल्याउने पनि छैन, किनभने रूसको काम गर्ने शैली नै यस्तै छ, गुपचुप, चुपचाप ।

मिडियाले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को स्रोत प्रयोग गरेर उद्घाटन कार्यक्रमका सम्बन्धमा केही न केही जानकारी भने फुत्काएका छन् । उक्त जानकारीअनुसार रूसले विश्वकप उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न गर्नेछ र यो लगभग दुई घण्टाको हुनेछ । आयोजक रूस र साउदी अरेबियाबीच हुने खेलअघि यो कार्यक्रम मस्कोको प्रसिद्ध लुजनिकी स्टेडियममै हुनेछ । उद्घाटन कार्यक्रम ब्राजिलको उद्घाटन समारोहभन्दा केही फरक हुनेछ ।

चार वर्षअघिको उद्घाटन समारोहमा ‘ग्ल्यामर’ बढी थियो । त्यति बेला हलिउड अभिनेत्री/गायिका जेनिफर लोपेज आकर्षक रूपमा प्रस्तुत भएकी थिइन् । यसपटक उद्घाटन समारोहलाई रूसले आयोजकले आफ्नो संस्कृति बाँकी विश्वलाई देखाउने अवसरका रूपमा लिएको छ । उद्घाटन समारोह अघि मस्कोकै रेड स्क्वायरमा एउटा ठूलो कन्सर्ट पनि सञ्चालन हुनेछ । उक्त कन्सर्टले विश्वकप उदघाटन समारोहलाई जोड्ने प्रयास गर्नेछ, किनभने उक्त कन्सर्टले वातावरण तताउने काम गर्नेछ ।

उद्घाटन समारोह स्थानीय समय अनुसार ४ बजे प्रारम्भ हुनेछ र पहिलो खेल सुरु हुने समयअघिसम्म चल्नेछ । तय छ, पूरा विश्वकपका फुटबल प्रेमीको नजर उक्त कार्यक्रममा हुनेछ । अहिलेसम्म प्राप्त जानकारी अनुसार उक्त कार्यक्रममा स्पेनी ओपेरा गायक प्लासिडो डोमिन्गोले गीत गाउनेछन् । यस्तै आफ्नो स्वर प्रस्तुत गर्नेमा पेरुबाट जुवान डिएगो फ्लोरेज पनि हुनेछन् । यी दुई गायकले सुरुमा रेड स्क्वायरमा गीत गाउनेछन् । त्यसपछि उनीहरू मूल उद्घाटन समारोहमा देखिनेछन् ।

उनीहरूलाई कार्यक्रममा साथ दिनेमा एडा गारिफुलिन, एल्बिना सागिमुराटोभा, युसुफ इभाजोभ, इल्डर अबड्राजोकोभ, डेनिस मास्तुभ व एना नेट्रेबको छन् । कार्यक्रममा प्रस्तुत हुने नृत्यमा ५ सय जनाको सहभागिता हुनेछ । त्यत्तिकै संख्याका जिम्न्यास्टहरूले पनि आफ्नो प्रदर्शन गर्नेछन् । यी सबै प्रस्तुतिको मूल आधार भने रूसी संस्कृति नै हुनेछ । उद्घाटन समारोहको मूल विषय नै रूसी संस्कृतिको फरक आयाम हो ।

विश्वकपको गीत

फुटबलको विश्वकप भनेपछि त्यससँगै अचेल गीत पनि जोडिएर आउँछ । धेरैको मनमा अझै पनि पुराना विश्वकपका गीत होलान, जस्तो, रिकी मार्टिनको ‘ओले, ओले, ओले’ र सकिराको ‘वाका वाका’ । यसपटकको विश्वकपको गीत हो— ‘लाइभ इट अप’ । यसका गायक हुन्— अमेरिकी र्‍यापर वेस्ली पेन्टज । उनी डिप्लो नामले बढी चिनिन्छन् । यो गीत सार्वजनिक भैसकेको छ, तर भिडियो भने विश्वकप सुरु भएपछि मात्र उपलब्ध हुनेछ । विश्वकपको उद्घाटनका दौरान यसलाई नाम चलेका गायक–गायिकाहरूले प्रस्तुत गर्नेछन् । ग्रामी एवार्ड विजेता डिप्लो भन्छन्— यो गीत सुनेर नाच्न नचाहने कमै होलान् ।

लोगो

चार वर्षअघि ब्राजिलमा भएको विश्वकपको लोगो त्यति आकर्षक थिएन । यसै कारण लोगोका लागि यसपटक रूसले प्रशस्तै मेहनत गरेको छ । जति बेला विश्वकपको लोगो सार्वजनिक गरियो, सबैले माने, यो विशेष छ । यसका डिजाइन पोर्चुगलको लिस्बनस्थित संस्था ब्रान्डिया सेन्ट्रलले गरेको हो ।

कलाका पारखीमध्ये जसले यसलाई पहिलो पटक हेर्छन्, प्राय:ले भन्ने गरेका छन्, यसमा जादु छ । खासमा यसले रूसी कला र इतिहासको प्रतिनिधित्व गर्छ । लोगो फेरि एकपटक ट्रफी स्वरूपमै छ । यसमा पनि सेतो र नीलो रंग नै प्रयोग गरिएको छ । यसले पनि रूसी झण्डाकै प्रतिनिधित्व गरिरहेको छ ।

लोगोको सबैभन्दा माथि बल छ र यसले स्पुटनिकको प्रतिनिधित्व गरिरहेको छ । स्पुटनिक पहिलो आर्टिफिसियल–स्याटलाइट हो । यसमा रहेका ताराले अन्तरिक्षलाई संकेत गर्छ । यसको अर्थ रूसलाई आफ्नो पुरानो र लामो अन्तरिक्ष कार्यक्रममा गर्व छ, यसले बाँकी विश्वलाई फेरि एकपटक ती दिन सम्झना दिलाउन चाहन्छ ।

यसको तलतिर मानव शरीरको पनि प्रतिनिधित्व छ र यो फुटबलका पारखीहरूप्रति समर्पित छ । यो स्वरूपले खुसीयाली मनाइरहेको छ । आयोजकहरूको विश्वास छ— यसपटकको विश्वकपले पूरा विश्वलाई फुटबलको माध्यमबाट खुसी दिनेछ । समग्रमा यसपटकको लोगो निकै आकर्षक छ र पूरा प्रतियोगिताका क्रममा यो जताततै छाउनेछ ।

मस्कट

विश्वकप–२०१८ को मस्कट हो— जाबिभाका । यसको रूसी अर्थ हुन्छ— जसले गोल गर्छ । फुटबलका लागि त यो खुबै सुहाउने अर्थ हो, अर्थात् जसले गोल गर्छ, त्यसैले खेल जित्छ, अनि जसले खेल जित्छ, उसैले विश्वकप जित्ने हो । जाबिभाकामा फ्याउरो छ, ऊ निकै आत्मविश्वासी देखिन्छ, सँगै सुन्दर पनि अनि यसलाई रमाइलो गर्न पनि खुबै मन लाग्छ ।

अरू विश्वकपको जस्तै यसपटकको मस्कटले पनि ठूलो महत्त्व राख्छ, किनभने यसले प्रतियोगिताका दर्शकलाई आकर्षित गर्ने काम गर्छ, मनोरञ्जन दिन्छ । त्यति मात्र होइन, यो रूसको बाँकी विश्वका लागि फुटबल राजदूत पनि हो । तय छ, यो नै विश्वकपका दौरान ‘सेलेब्रेटी’ हुनेछ, अझ भनौं सुपर स्टार ।

यसको चयन कसरी भयो त ? यसको पनि लामो कथा छ । मस्कट छनौटका लागि एक महिनासम्म भोटिङ चलेको थियो, जसमा कम्तीमा दस लाख रूसीले भाग लिएका थिए । आखिर सबैभन्दा बढी मत यही फ्याउरोले पायो । यसको डिजाइनर हुन्, रूसी विद्यार्थी— एकटेरिना बाचोरोभा । भोटिङका क्रममा यसले ५३ प्रतिशत मत प्राप्त गरेको थियो ।

यसले सुन्तला रंगको चश्मा अनि सेतो टी–सर्ट लगाएको छ, जसको बाउला नीलो छ । यसले रूसी झण्डाको प्रतिनिधित्व गरेको छ । यसको अर्को एउटा ठूलो विशेषता हो, यो तस्बिर खिच्न भनेपछि हुरुक्कै हुन्छ, त्यसैले आउने विश्वकपका क्रममा कसैसँग सबैभन्दा बढी सेल्फी खिचिनेछ भने त्यो जाबिभाभाको नै हो ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’