सित्लेको अक्करे भीर छिचोलेर होस्राङ्गदी संग जोडियो मोटरबाटो , १७ किमीको दुरी चार किमीमा छोटियो
पर्वत /पर्वतको महासिला गाउँपालिकाको होस्राङ्गदी र बालाकोटको बिचमा छ सात्लेको भीर । सात्लेको भीर छिचोलेर सडक बनाउन नसक्दा १७ किलोमिटर घुमाउरो सडक पार गरेर लुंखुबाट होस्राङ्गदी पुग्थे स्थानियबासी । तर त्यही सित्लेको अक्करे भीर छिचोलेर होस्राङ्गदीमा मोटरबाटो पुगेको छ ।
महासिला गाउँपालिकाले होस्राङ्गदी जोड्नको लागि छोटो बाटो बालकोटबाट अर्घौदी हुँदै होस्राङ्गदी सम्म ४ किलोमिटर सडक निर्माण गरेको हो । सित्लेको भीर छिचोलेर नयाँ मोटरबाटो खनिएपछि गाउँपालिका आउन होस्राङ्गदीका बासिन्दालाई १४ किलोमिटर छोटिएको छ ।
महासिला – १ को होस्राङ्गदीबाट अर्घौदी हुँदै बालाकोट बारेडाडाँ सम्म सडक निर्माण गर्न स्थानियबासीले १२ बर्ष अघि देखि प्रयास गरे पनि सफल भएका थिएनन । २०६३ सालबाट सडक खन्ने प्रयास भएपनि बल्ल सफल भएको सडक उपभोक्ता समितिका अध्यक्ष बिष्णुराम बिकले बताए । ‘एक दशक अघिको प्रयास बल्ल सफल भएको छ ’ उनले भने ‘सडक बनेपछि १७ किलोमिटर घुमेर हिड्ने होस्राङ्गदीका बासिन्दा अब ४ किलोमिटर मै पुग्न सक्छन’ । घाँस दाउरा गर्न जान पनि कठिन सडक निर्माण गर्न ७ सय घण्टा भन्दा बढी ब्रेकर प्रयोग भएको छ । ‘पहिले धेरै जनाले यो भीरबाट लडेर ज्यान गुमाएका छन’ अध्यक्ष बिकले भने ‘अब यही बाटोमा जीप मोटर कुदाउन सक्ने भएका छौ’ सडक निर्माणपछि मानिसको एक दिनको पैदल दुरी एक घण्टामा छोटिएको छ भने भैसी र बाख्राको पकेट क्षेत्र होस्राङ्गदीमा अझै पशुपालन बढाउन सहयोग पुग्नेछ ।
गाउँपालिकाको ५५ लाख रुपैयाको आर्थिक सहयोगमा सडकको ४ मिटर फराकिलो ट्रयाक खोलिएको छ । अब यसलाई पनि ७ मिटर फराकिलो बनाउने योजना गाउँपालिकाको रहेको पुर्वाधार बिकास समितिका अध्यक्ष समेत रहेका वडा नं ५ का अध्यक्ष जीवन उचै ठकुरीले बताए । ‘गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेर यो सडक सम्पन्न गरेको छ ’ उनले भने ‘गाउँपालिका कार्यालय संग होस्राङ्गदीको सोझो सम्पर्क स्थापित गर्न यो सडक कोशेढुंगा बन्नेछ’
सडक सम्पन्न भएपछि बुधबार भब्य कार्यक्रमका बिच उद्घाटन गरिएको छ । गाउँपालिकाका अधयक्ष राजु पौडेलले सडकको रिवन काटेर उद्घाटन गरे । सडक उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले महासिला गाउँपालिकाले धेरै असम्भब भन्दै आएका कामहरु पुरा गर्दै गएको बताए । ‘हामीले असम्भब भन्दै आएका धेरै काम गर्दै आएका छौ’ उनले भने ‘असम्भब भनिएकै यो सडकलाई फराकिलो र बाह्रैमास चल्ने बनाउँछौ’
२०५४ सालको स्थानिय निर्वाचनमा यहीबाटो खोल्ने योजना बनेपनि बजेट र अन्य कारणले असम्भब हुँदै आएको तर सपटक सफल भएको वडा नं १ का अध्यक्ष इश्वरी भुसालले बताए ।