जब कृषिमन्त्री खनालले ब्यापारी संग एक केजी भन्दाको भाउ सोधे
काठमाडौं । कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले काठमाडौंको कालिमाटीस्थित तरकारी बजारको अनुगमन गरेका छन् । कालिमाटी तरकारी बजारमा कैयौं विकृति रहेको गुनासोका बीच मन्त्री खनालले सोमबार अनुगमन गरेका हुन् ।
कृषिराज्यमन्त्री रामकुमारी चौधरी, मन्त्रालयका अधिकारी, सञ्चारकर्मीसहित सोमबार बिहानै कालिमाटी पुगेका मन्त्री खनालले ३ दर्जन पसलको अनुगमन गरे । अनुगमनका क्रममा मन्त्री खनालले स्टलको भाडा, तरकारीको भाउ सोधेका थिए ।
अनुगमनपछि मन्त्री खनालले बजार व्यवस्थित गर्ने बताएका छन् । त्यसका लागि कालिमाटी बजार व्यवस्थापन समितिको बोर्ड बैठक बसालेर आवश्यक निर्णय लिइने उनले बताए ।
मन्त्री खनालले कालीमाटी तरकारी बजारभित्र राखिएका माछा पसलले फोहोर र दुर्गन्ध फैलाएकाले त्यसलाई हटाउने पनि बताए । माछा पसललाई कालिमाटी तरकारी बजारभित्रबाट हटाएर अन्यत्र स्थापना गर्ने खनालको भनाइ छ ।
त्यसको एउटा विकल्प बालाजु क्षेत्र हुनसक्ने कृषिमन्त्री खनालले बताए । आवश्यक पूर्वाधार बनाएर मात्रै माछा पसललाई स्थानान्तरण गरिने उनको भनाइ थियो ।
अहिलेको कालिमाटी तरकारी बजारले काठमाडौंको ६० प्रतिशत मात्रै माग धान्ने गरेकाले थप बजारको व्यवस्था गर्नुपर्ने खाँचो उनले औंल्याए ।
हाल कालीमाटी तरकारी बजारभित्रका स्टलहरु १५ वर्षसम्म भाडामा दिने गरिएको छ । भाडामा दिँदा ८ देखि ११ हजार स्क्वायर फिटको दरले भाडा लिइन्छ । तर कालिमाटी तरकारी तथा फलफूल थोक बजार बिकास समितिबाट कुनै एक व्यापारीले सस्तोमा भाडामा लिएर अरु व्यापारीलाई महंगोमा बेच्ने गरेको पाइएको छ ।
अब त्यस्लाई तोड्ने मन्त्री खनालले बताए । ‘यहाँ पनि सिन्डिकेट जस्तै छ, अब त्यसलाई तोड्नुपर्छ,’ उनले भने ।