राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
काठमाडौं : राष्ट्रियसभाको बहुमतले आगामी आर्थिक वर्ष २०७५-७६को नीति तथा कार्यक्रम पारित गरेको छ।
बानेश्वरस्थित संघीय संसद् भवनमा आइतबार बसेको राष्ट्रियसभा बैठकले यही जेठ ७ गते संसद्को दुवै सदनमा प्रस्तुत आगामी आवको नीति तथा कार्यक्रम पारित भएको हो।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफपछि सदस्य राधेश्याम अधिकारी, वृषेशचन्द्र लाल, जीतेन्द्रनारायण देव, प्रमिला कुमारी र अनिता देवकोटाले प्रधानमन्त्रीले दिएको जवाफप्रति स्पष्टीकरण माग गरेका थिए। नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे र राजपाका लालले पेश गरेको संशोधनको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ। त्यसैगरी गरी अर्का संशोधनकर्ता प्रमिला कुमारीले भने आफ्नो प्रस्ताव फिर्ता लिएका थिए।
प्राकृतिक विपत्ति तत्काल सम्बोधन गरिने
प्रधानमन्त्री ओलीले प्राकृतिक विपद् एवं जनताका समस्यालाई सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए। बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफपछि पनि पुनः स्पष्ट हुन चाहेका सदस्यको जवाफ दिँदै उनले जनताका समस्यालाई समाधान गर्न सरकार तम्तयार अवस्थामा रहेको बताए। प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम साझा भएको बताउँदै सबै नेपालीलाई अधिकारसम्पन्न बनाउन सरकार लागिपरेको बताएका थिए। सुनकोशी डाइभर्सन र हुलाकी राजमार्ग तीन वर्षमै पूरा गरिने प्रतिबद्धता व्यक्त गरिएको प्रधानमन्त्रीको भनाइ छ। उनले वास्तविक सुकुम्बासीलाई जनता आवास कार्यक्रममार्फत नयाँ स्थानमा सारिने बताए। सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गरिने र प्रदेश २ का सिँचाइका कार्यलाई अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरेका थिए।