पर्वतकी कल्पनाले लिइन् ६को शैक्षिक अभिभावकत्व

पर्वत/धेरैले आफ्ना लागि कमाउँछन् । अरुका लागि केही गर्नुपर्छ भन्नेहरू कमै हुन्छन् । तर, केहीले भने आफ्नो घर परिवारको आर्थिक अवस्था मजबुत भएपछि समाजका लागि केही गर्ने सोंच्छन् । भनिन्छ, मन हुनेको धन हुन्न, धन हुनेको मन हुन्न । हाम्रो समाजमा यस्ता मानिस पनि छन्, जो गाउँ र समाजका लागि केही गर्नुपर्छ भन्ने ठान्छन् । तिनै मध्येको एक हुनुहुन्छ, कल्पना गुरुङ ।

लामो समय विदेशमा बसेर नेपाल फर्कनुभएका गुरुङले आफूले पढेको विद्यालयलाई नगद सहयोग मात्रै गर्नुभएन । सो विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न परिवारका ६ जना बालबालिकाको अभिभावकत्व ग्रहण पनि गर्नुभयो । अहिले विद्यार्थी भर्ना राष्ट्रिय अभियान पनि चलिरहेको छ । जस अन्तर्गत विभिन्न सरकारी ओहदाका नेता, जनप्रतिनिधिहरूले विभिन्न स्तरका विद्यार्थीको अभिभावक बन्ने होड नै चल्यो । तर, यो अभियान चलेकै सेरोफेरोमा आफूले बालबालिकालाई पढाउने जिम्मेवारी लिएको संयोग मात्र भएको गुरुङको भनाइ छ ।

पर्वतको महाशिला गाउँपालिका–४, लाम्तुनस्थित जनविकास माध्यमिक विद्यालयलाई गुरुङले सोमबार आयोजित कार्यक्रममा ३० हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गर्नुभयो । त्यस्तै, उहाँले ६ जना बालबालिकालाई अहिले अध्ययनरत तहदेखि कक्षा १२ सम्म पढाउने गरी विद्यालयसँगको सम्झौतामा हस्ताक्षर गर्दै अभिभावकत्व ग्रहण गर्नुभयो । गुरुङबाट यसरी अभिभावकत्व पाउनेहरूमा बालशिक्षाका २ जना मीरा सुनार र एलिसा गुरुङ, कक्षा ४ का २ जना हरिकला क्षत्री र भोलाकुमारी नेपाली, कक्षा ५ का धनबहादुर क्षत्री र कक्षा ८ का रामबहादुर क्षत्री रहेका छन् ।

गुरुङको अनुरोधमा विद्यालयले गरिब तथा विपन्न परिवारका ६ जना विद्यार्थी छनौट गरिएको विद्यालयका प्रधानाध्यापक चक्रबहादुर क्षत्रीले जानकारी दिनुभयो । कार्यक्रमकै अवसरमा गुरुङले विद्यालयलाई दुई थान पानस समेत हस्तान्तरण गर्नुभयो । साथै, गुरुङले अभिभावकत्व पाएका ६ जना बालबालिकालाई विद्यालय पोशाक र शैक्षिक सामग्री समेत वितरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले सक्नेले नै नसक्नेलाई सहयोग गर्नुपर्ने बताउनुभयो । विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरमा सुधार हुँदै गएकोप्रति खुशी प्रकट गर्दै अध्यक्ष पौडेलले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । समाजसेवी गुरुङले आफूले पढेको विद्यालयका लागि निकै ठूलो गुन लगाएको भन्दै गुरुङको लगानी खेर जान नदिन विद्यार्थीका अभिभावक र विद्यालयले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ प्रदेश नं. ४ का सचिव रूद्रबहादुर श्रीसले अधिकांश सामुदायिक विद्यालयको अवस्था नाजुक रहेको भन्दै सो विद्यालयको भौतिक पूर्वाधारको अवस्था र शैक्षिक अवस्था पनि राम्रो रहेको भन्दै खुशी व्यक्त गर्नुभयो । गरिब तथा विपन्न परिवारका विद्यार्थीका लागि समाजसेवी गुरुङले अभिभावकत्व ग्रहण गरेकोमा धन्यवाद व्यक्त गर्दै श्रीसले गुरुङको कार्यले अरुले पनि आफ्नो गाउँ ठाउँका लागि केही गर्नुपर्नेमा प्रेरित गरेको उल्लेख गर्नुभयो ।

सो अवसरमा बाल कक्षादेखि कक्षा १२ सम्म विभिन्न तह उत्तीर्ण प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी, कक्षागत रुपमा सबैभन्दा धेरै हाजिर हुने विद्यार्थी तथा विद्यालय सर्वोत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । त्यस्तै, दलित विद्यार्थी तथा छात्रा विद्यार्थीहरूलाई ४८ हजार ४ सय रुपैयाँ बराबरको छात्रवृत्ति रकम वितरण गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलाराम गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक उमाकान्त लम्साल र शिक्षक भेषनारायण लम्सालले स्वागत गर्नुभएको थियो । हाल काठमाडौंनिवासी समाजसेवी कल्पना गुरुङले अढाइ दशकपछि आफू विद्यालयमा उपस्थित हुन पाएको भन्दै विद्यालयमा भएको सुधारले आफू हर्षित भएको बताउनुभयो । ‘विद्यालयमा भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तरमा पनि सुधार भएको पाएँ’, गुरुङले भन्नुभयो, ‘त्यति मात्र नभएर विद्यार्थीको अनुशासन देखेर म प्रभावित भएँ ।’

आर्थिक अवस्था कमजोर भएकै कारण कोही पढाइबाट वञ्चित हुन नपरोस् भनेर आफूले विपन्न परिवारका विद्यार्थीलाई पढाउने जिम्मेवारी लिएको बताउँदै गुरुङले आफ्नो लगानीले समाज र देशका लागि महŒवपूर्ण टेवा पुग्ने विश्वास लिएको बताउनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’