आमा र भाइ गुमाएकी किशोरीले नै आँसु पुछिदिएपछि…

भक्तपुर/ ‘नरुनुस् न आमा, नरुनुस् न दादा,’ स्कुल पोसाकमै रहेकी अनुजाले भक्तपुर अस्पतालको चौरमा आफू रुँदै आफ्ना आफन्तको आँसु पुछिदिँदै गरेको देख्दा अस्पताल परिसरमा झुम्मिएकाको आँखा रसाएका थिए ।

दुर्घटनामा आमा र भाइ गुमाएकी लोकन्थलीकै ओम ज्ञान मन्दिरमा कक्षा १० मा पढ्ने १५ वर्षीया अनुजा घिमिरे स्कुलबाटै अस्पताल आएर रुँदै अरूलाई नरुन आग्रह गरेको देख्दा त्यहाँ नरुने कोही थिएन ।

काभे्रको साँगाबाट बुधबार करिब १२ः३० बजे तीव्र गतिमा आएको बा३ख ६६७४ नम्बरको ट्रिपरले अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–९ पलासेमा बा५६प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको घटनास्थलमै ज्यान गएको हो ।

घटनामा मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली बस्ने ५० वर्षीय स्कुटर चालक हरिबहादुर कटुवाल, दोलखा मेलुङ गाउँपालिका–६ घर भई विगत १६ वर्षदेखि लोकन्थलीमा पसल सञ्चालन गरेर बस्दै आएकी ३६ वर्षीया सविता घिमिरे र उनको छोरा १३ वर्षीय अरबिन घिमिरेको मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । शवलाई भक्तपुर अस्पतालमा पठाइएको, ठक्कर दिने ट्रिपरलाई प्रहरी वृत्त जगातीमा राखिएको र फरार रहेका चालकको खोजी भइरहेको उनले जानकारी दिए ।

साँगामा रहेको नेपाल प्रहरी आवासीय माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने छोरा बिरामी भएको खबर आएपछि छिमेकी हरिबहादुरलाई लिई स्कुल पुगेर छोरालाई उपचारका लागि लैजाँदै गर्दा ट्रिपरले ठक्कर दिएको थियो । छोराको उपचार नै गर्न नपाई आमा छोराको ज्यान गयो ।

‘लोकन्थलीमै घर बनाउने सपना बोकेर दुई महिनाअघि मलेसिया गएका श्रीमान् केशव घिमिरेले एकैसाथ श्रीमती र छोरा मात्रै गुमाएनन्, बुधबार साँझ ५ बजे अमेरिका जान लागेका सविताको भाइ कुमार काफ्लेको यात्रासमेत यही शोकले रोकिएको छ,’ मध्यपुरथिमि नगरपालिका–१ का वडा अध्यक्ष सुरज खड्काले बताए ।

हरिबहादुरको अवस्था पनि उस्तै छ । जेठी छोरी, एक छोरा र श्रीमती अस्ट्रेलियामै बस्छन्, कान्छी छोरी अमेरिकामा बस्छिन् । नयाँ घर बनाउन अस्ट्रेलियाबाट फर्केका हरिबहादुरको यही घटनामा मृत्यु भएपछि उनका आमा र बुबाले अस्पतालमा आफ्नो आँसुलाई रोक्नै सकेनन् ।‘खाना खाएर म छिट्टै फर्कन्छु है आमा भनेर हिँडेका छोराको यो हालत भयो,’ आमा जानकी कटुवालले भनिन् । सविताको दाजु नवराज काफ्लेले ट्रिपर चालकलाई पक्राउ नगरेसम्म शव नबुझ्ने र कडा कारबाही गर्न माग गरे । कुनै पनि बहानामा चालकलाई उन्मुक्ति दिने प्रयास गरिए चुप लागेर नबस्ने उनले बताए । अस्पतालमा भेला भएकाहरूले ट्रिपरलगायत मालबाहक सवारीसाधनलाई राति ९ बजेपछि बिहान ४ बजेसम्म मात्रै सञ्चालन गर्ने व्यवस्था गर्न सरकारसँग माग गरे । साथै ज्यानै जाने गरी दुर्घटना गराउने चालकलाई ज्यान मुद्दा नै लगाउनुपर्ने माग उनीहरूले राखेका छन् ।
प्रहरी नायब उपरीक्षक श्रेष्ठले घटनाको प्रारम्भिक अनुसन्धानबाट ट्रिपर चालकको ठूलो लापरबाही देखिएको बताए । उनले चालकलाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाउने पनि बताए ।राजधानी दैनिकमा खबर छापिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’