गोरे प्रहरीबाटै असुरक्षित ! केही कुरा सुनाउन मानेनन्
मोरङ/३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई मानव अधिकारकर्मीको रोहबरमा हिरासतमा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ ।
न्यायाधीश नारायणप्रसाद शर्माको तीन नम्बर इजालसमा गोरेको बयान बुधबारदेखि सुरु भएको छ । उनले हिरासतमा राख्दा मानव अधिकारकर्मीको रोहबर हुनुपर्ने निवेदन अदालतमा दिएका थिए । उनले अदालतमा भने, ‘म प्रहरीबाटै असुरक्षित छु, मानव अधिकारकर्मीको रोहबरमा राखियोस् ।’
बुधबार गोरेमाथि लगाइएको अभियोगबारे जानकारी गराएपछि उनको बयान थालिएको थियो । उनले पाँच पृष्ठको बयान दिएका छन् । तस्करीको साढे ३३ किलो सुन हराएपछि तस्करको समूहले सुन खोज्न यातना दिने क्रममा सनम शाक्यको मृत्यु भएको थियो ।
शाक्यको मृत्युपछि गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले अनुसन्धान गर्ने क्रममा नियन्त्रणमा लिएका विमानस्थल कर्मचारी प्रेमलाल चौधरीको हिरासतमै मृत्यु भएपछि गोरेले जीवन रक्षाको निवेदन बयान अघि दिएका थिए ।
गोरेका तर्फबाट कानुन व्यवसायी यमबहादुर मगरले निवेदन पेस गरेका थिए । निवेदन पेस हुनेबित्तिकै न्यायाधीश नारायणप्रसाद शर्माले जिल्ला प्रहरी कार्यालयलाई मानव अधिकारकर्मीको रोहबरमा राख्ने आदेश दियो ।
अदालतमा बयानका लागि उपस्थित गोरेले बयानका क्रममा केही कुरा सुनाउन नमानेको बताइएको छ । बयानका लागि अभियोग पत्र पढेर सुनाइएको थियो । त्यसपछि आरोपीहरूमध्ये धेरैलाई चिन्ने बताएका गोरेले समय अभावका कारण नबोलेपछि बिहीबार बयान लिइनेछ । गोरेको पक्षबाट बहस गर्ने अन्य कानुन व्यवसायीसमेत थप हुने बताइएको छ, राजधानी दैनिकमा खबर छापिएको छ ।