नेकपा इतिहासकै शक्तिशाली र एसियाकै तेस्रो ठूलो कम्युनिस्ट,
काठमाडौं/ नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएर नेपाल कम्युनिस्ट पार्टी बनेको छ । साढे सात महिनादेखिको एकता प्रयासलाई निष्कर्षमा पुर्याउँदै दुई ठूला वाम दल एमाले र माओवादी केन्द्रले बिहीबार नेपाल कम्युनिस्ट पार्टी गठन गरेका हुन् ।
६९ वर्षको टुटफुटको कम्युनिस्ट आन्दोलनको इतिहास ‘ब्रेक’ गर्दै जनमतका आधारमा इतिहासकै बलियो पार्टी गठन भएको हो । एमाले र माओवादीको एकीकरणसँगै नेपाल कम्युनिष्ट पार्टी दक्षिण एसियाकै सबैभन्दा ठूलो वामपन्थी पार्टी बनेको छ । एसियामा चीन र भियतनामपछि ‘नेकपा’ तेस्रो ठूलो कम्युनिष्ट पार्टी बनेको हो ।
अब प्रतिनिधिसभामा २७५ सिटमध्ये नेपाल कम्युनिष्ट पार्टी एक्लैको १७४ सिट भएको छ ।
बिहीबार राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरेर पार्टी एकताको औपचारीक घोषणा गरिएको हो । घोषणासभामा शीर्ष नेताहरूले देशमा स्थिरता र समृद्धिका लागि नयाँ अध्याय सुरु भएको बताएका छन् ।
नेकपाका सहअध्यक्षद्वय केपी ओली र प्रचण्डले शान्ति, स्थिरता र समृद्धिका लागि कम्युनिस्ट आन्दोलन अब नयाँ इतिहास रच्दै अघि बढेको घोषणा गरे । गत १७ असोजमा पार्टी एकता र चुनावी तालमेलका लागि भएको ६ बुँदे सहमतिलाई ७ फागुनमा सातबुँदे सहमतिमार्फत थप मूर्त रूप दिँदै एकतालाई निष्कर्षमा पुर्याइएको हो ।
नयाँ पार्टी दर्ताका लागि बिहीबार नै निर्वाचन आयोगमा निवेदन दिइएको छ । ४४१ केन्द्रीय सदस्यमध्ये बैठकमा उपलब्ध सदस्यहरूको हस्ताक्षरसहितका कागजात बोकेर सहअध्यक्षद्वय ओली र प्रचण्ड आफै आयोग पुगेका थिए ।